
पुस १४ काठमाडौँ, पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले तीन वर्षको अवधिमा प्रधानमन्त्री केपी ओलीले गफमात्र लगाएर बिताएको आरोप लगाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार आयोजना गरेको देशव्यापी विरोध प्रदर्शनमा बोल्दै नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा कहिले पानी जहाजको गफ लगाएको, कहिले ग्यास पाइपको गफ लगाएको र समय बिताएको बताए ।
उनले भने ‘तीन वर्षमा पानी जहाज र ग्यास पाइपको गफ लगाउनुभयो, खोइ ग्यास पाइप ? उहाँले आफ्नै घरमा लैजानुभयो होला ।’ उनले भने, ‘गफले देश चल्दैन । उखान टुक्काले गफ चल्दैन । त्यसका लागि भिजन चाहिन्छ । सही नीति र सहि निर्णय चाहिन्छ ।’
नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नगेन्द्रप्रसाद रिजालले गरेको जति पनि काम नगरेको बताएका छन् । ओलीले सारा विश्व चकित हुने गरी काम गरेकोमात्र बताउने गरेको पनि उनले भनेका छन् । ओलीले सडक र पुललाई समाजवाद देखेको र पछिल्लो समय त मैले रानी पोखरी बनाएँ भन्न थालेको पनि उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend