logo

२०८१ मंसिर २९ शनिबार

logo
  • शनिबार, २९ मंसिर २०८१
  • ८ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन

    ८ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन

    77
    Shares
    ८ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन

    म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन । पाँच वर्षअघि सकिनुपर्ने ५० श्यया क्षमताको भवनको हालसम्मको भौतिक प्रगति करिब ८० प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।

    “पचास श्यया क्षमता भए पनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ”, उनले भने, “अस्थायी, पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।” म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले सात वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ ।

    सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले विसं २०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

    २४ करोड चार लाख २९ हजार आठ सय ६९ रुपैयाँ लागत अनुमान गरिएको भवन विसं २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । भवन निर्माणका लागि पाँच पटकसम्म म्याद थप भएको छ । चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्न बाँकी छ । पन्ध्र श्यया क्षमताको अस्पताल विसं २०७२ मा ५० श्ययामा स्तरोन्नति भएको थियो ।

    नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।

    भवन अभावमा विशेषज्ञ चिकित्सक आउन नमान्ने, म्याग्दीले पाउनुपर्ने हब अस्पतालको कार्यक्रम अन्यत्र जिल्लामा गएको व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले बताए । सघन उपचार कक्ष (आइसियु) र डायलासिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ ।

    पालिका, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधीले सम्बद्ध आयोजना कार्यालय, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पटकपटक ध्यानाकर्षण गराउँदै आए पनि अस्पतालको भवन निर्माणले गति लिएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend