
मुगु – सामाजिक सञ्जालमा मुगुको हवाला दिंदै एकै महिलाले ६ बच्चा जन्माएको भनेर भाइरल भएको तस्बिर फेक रहेको पाइएको छ।
६ वटा बच्चा राखेर एक महिला सुतिरहेको र छेउमा केही स्वास्थ्यकर्मीहरू हाँसिरहेको तस्वीर केही दिनदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मुगुको घटना भन्दै धेरै पोष्ट गरेका थिए।
सामाजिक सञ्जालमा यो तस्बिर व्यापक रुपमा पोष्ट भए पछि हामीले जिल्ला अस्पताल मुगुका प्रमुख डा. निर्मल नगरकोटीसँग यसको सत्यता बारे सोधपुछ गरेका थियौँ। डा. नगरकोटीले “सुनौलो नेपाल”सँगको कुराकानीमा भने, “मुगु जिल्लामा ६ बच्चा जन्मिएको विषय मात्र हल्ला हो। जिल्लाभित्रका कुनै पनि अस्पतालमा यस्तो घटना भएको छैन।”
उनले थपे, “सामाजिक सञ्जालमा यो देखेपछि हामीले सबै बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा पनि जाँच गर्यौँ, तर त्यस्तो केहि भेटिएन। यदि यस्तो घटना हुने हो भने, यसको जानकारी जिल्ला अस्पतालमा आउने थियो। जिल्लामा गर्भवती महिलालाई यस्तो कठिन अवस्था आउने भएमा तुरुन्तै बाहिर रेफर गरिन्छ। त्यसैले यो तस्बिर फेक हो।”
यसरी, मुगुमा एकै महिलाले ६ बच्चा जन्माएको भन्ने खबर पूर्ण रूपमा भ्रम रहेको पुष्टि भएको छ।
विश्वमै एक महिलाले ६ बच्चालाई जन्म दिनु दुर्लभ मानिन्छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend