काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।
मंगलबार रुपन्देहीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले आफ्नो कार्य क्षेत्रमा गइसकेपछि अब फेरि सीमा क्षेत्रमा तस्करी भइरहेको र राजश्व चुहावट भइरहेको कुरा सुन्न नपर्ने गरी तस्करी नियन्त्रण गर्न निर्देशन दिए ।
उनले यसबाटै प्रहरी कर्मचारीको कार्य दक्षता मूल्यांकन हुने उल्लेख गरे । उनले राजश्वमा तलमाथि हुनेकुरा, तस्करी गर्नेकुरा, सीमानामा अपराधजन्य गतिविधि परिणाममुखी ढंगले नियन्त्रण गर्नुपर्ने बताए ।
गृहमन्त्री लेखकले आफूहरु लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने अठोटका साथ अगाडि बढेको बताए । नेपालको शासकीय स्वरुप बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संसदीय प्रणाली रहेको बताए ।