पुस १७ काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी विभाजनमा कुनै पनि पक्षमा नलागेका उपाध्यक्ष वामदेव गौतम र प्रचण्ड- नेपाल समुहको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। विहान साढे ९ बजे गौतम प्रचण्डलाई भेट्न खुमलटार पुगेको गौतमको सचिवालयले जानकारी दिएको छ।
आफु पार्टी एकताको पक्षमा रहेको र अन्तिम समयसम्म पनि पार्टी एकता बचाउन प्रयास गरिरहने बताउँदै आएका गौतम प्रचण्डलाई भेट्न उनकै निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
भेटवार्तामा के कुरा भयो ?
मुख्यत प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था बुझ्न वामदेव खुमलटार पुगेको सचिवालयले जनाएको छ। यद्यपी भेटमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि छलफल भएको जनाइएको छ। गौतमलाई अध्यक्ष प्रचण्डले आफुहरुलाई साथ् दिन आग्रह गरेको तर गौतमले आफु अन्तिमसम्म एकता जोगाउन प्रयासरत रहेको र अहिले कतै पनि नलाग्ने बताएको स्रोतले जानकारी दिएको छ।
तटस्थ रहेका गौतमलाई आफ्नो पक्षमा ल्याउन केपी ओली पक्ष र प्रचण्ड- नेपाल पक्ष प्रयासरत रहेका छन।