पुस १८ काठमाडाैं, कांग्रेस सांसद जितेन्द्र देवले प्रतिनिधिसभा सरकार बनाउन असफल भएको अवस्थामा मात्र विघटन हुने बताएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गराएको आरोप लगाएका छन् ।
नेकपा पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा नै विघटन गर्नु राजनीतिक र संवैधानिक रुपमा नमिल्ने उनकाे तर्क थियाे । बैठकमा उनले भने, ‘पार्टीकाे समस्या बढेपछि प्रधानमन्त्री ओलीले कि त बहुमत कायम गर्नुपर्थ्याे, अल्पमतमा परेपछि राजीनामा दिन दिनुपर्थ्याे । संसदीय दलबाट अर्काे नेता बनाउन सकिन्थ्याे । तपाईँ पार्टीभित्र समस्यामा पर्ने अनि संसद विघटन गर्ने ?’ उनले प्रश्न गरे ।
असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरिएको उल्लेख गरी उनले संघीयता र गणतन्त्रप्रति प्रधानमन्त्रीको धारणासमेत मागेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने अवस्थामा आइरहेकाे कारण संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन अग्रगमनकारी शक्ति एक ठाउँमा उभिनुपर्ने पनि उनले बताएका छन् । ‘संसद भनेकाे जनताकाे प्रतिनिधि बस्ने ठाउँ हाे, याे जनताकाे सार्वभाैम संस्था हाे जतिबेला पनि याे मारिनुहुँदैन ।’ उनले भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आएकाे समृद्ध नेपाल सुखी नेपाली नारामा कटाक्ष गर्दै देवले भनेका छन् ‘समृद्ध नेपाल सुखी नेपाली नारा राम्राे छ तर सरकारकाे काम कारवाही ‘दरिद्र नेपाल, दुखी नेपाली’काे दिशामा गइरहेकाे छ ।’