logo

२०८१ पुष ४ बिहिबार

logo
  • बिहिबार, ४ पुष २०८१
  • ‘गणपुरक संख्यामा भएको प्रावधानले जलविद्युत कम्पनीहरुको साधारणसभा नहुने अवस्था आएको छ’

    ‘गणपुरक संख्यामा भएको प्रावधानले जलविद्युत कम्पनीहरुको साधारणसभा नहुने अवस्था आएको छ’

    623
    Shares
    ‘गणपुरक संख्यामा भएको प्रावधानले जलविद्युत कम्पनीहरुको साधारणसभा नहुने अवस्था आएको छ’

    नेसनल हाइड्रोपावर कम्पनीले अहिले धमाधम जलविद्युत आयोजना बनाइरहेको छ । भोजपुरमा निर्माणाधीन इर्खुवाखोला आयोजनको काम अन्तिम चरणमा पुगेको छ । यस्तै तल्लो इन्द्रावतीको निर्माण जारी छ भने लिखु आयोजनाको अध्ययन भइरहेको छ । यस्तै साझेदारीमा मध्य त्रिशुली गंगा आयोजना बनाउने तयारी भइरहेको छ ।

    आर्थिक अनियमितताका कारण झण्डै ‘कोमा’ मा पुगेको नेसनल हाइड्रोपावर सबल भइ अहिले बैंक तथा लगानीकर्ताको विश्वास जितेर आयोजना बनाइरहेको छ । कुमार पाण्डेले १२ वर्षअघि नेतृत्व लिएपछि कम्पनी सही बाटोमा आउन सफल भएको हो ।

    उनले १२ वर्षदेखि नेसनल हाइड्रोपावरको नेतृत्व गरिरहेका छन् । कम्पनीको योजना र समग्र जलविद्युतमा देखिएको समस्या र समाधानका विषयमा केन्द्रीत रहेर सुनौलो नेपालले अध्यक्ष पाण्डेसँग गरेको कुराकानी ।

    नेसनल हाइड्रोपावर कम्पनीको नेतृत्व गरेको १२ वर्ष भयो । ‘कोमा’ मा जान लागेको कम्पनीलाई बचाएर तीन वटा आयोजना बनाउने क्षमताको बनाउनु भयो । अझै कति आयोजना बनाउँदै हुनुहुन्छ ?

    अहिले मेरो मुख्य लक्ष्य भनेको सुरु गरेको काम निर्धारित समयमा सकाउने हो । यो सकिएपछि वा यो गर्दागर्दै पनि सम्भावना छन्, नभएको होइन । तर, धेरै कुराहरुमा भर पर्छ । बैंक र सर्वसाधारणबाट पैसा उठाउने कुरा, बजारमा अनुमतिपत्र (लाइसेन्स) कति छन्, विद्युत खरिदबिक्री सम्झैता (पिपिए) कहिले हुन्छ ? यी सबै कुराले हामी कति टाढा जान सक्छौँ भन्ने कुरा निर्धारण गर्छ ।

    अहिले जलविद्युत आयोजनाको लागत एकदम बढेको छ । आयोजनाहरु एकदम महंगो भइसकेका छन् । हामी १० वर्ष अगाडिको पिपिए दरमा अर्को २५/३० वर्षका लागि आयोजना बनाउन कतिसम्म आँट्न सक्छौँ, यी सबै कुराले महत्वपूर्ण खेल खेल्छ । त्यसकारण म अझै पनि गर्न सक्छौँ भनेर आशावादी छु, तर सजिलो चाहिँ छैन ।

    नेसनलले अहिले कतिवटा आयोजना बनाइरहेको छ ?

    अहिले हामीसँग निर्माणाधीन दुई वटा आयोजनाहरु छन् । अर्को एक/दुई वटा आयोजनामा हामी अगाडि बढ्ने तरखरमा छौँ । हामीसँग तीन/चार वटा आयोजना पाइप लाइनमा नभएको पनि होइन । तर, यी सबै आयोजनाहरु समयमा सक्न चुनौती छ ।

    समस्याग्रस्त भएको कम्पनीलाई बैंकले पनि पैसा पत्याउने भयो, पब्लिकले पत्याउने भए, कम्पनीको ‘गुडविल’ राम्रो भयो होइन ?

    १२ वर्षको अवधिमा ८ वर्ष त पुराना समस्याहरु सल्ट्याउन लाग्यो । नयाँ फेजमा गएर नयाँ आयोजना सुरु गर्न, बैंकमा गएर पैसा लिने, नयाँ लाइसेन्स लिने, नयाँ साझेदारहरु खोज्ने कार्यमा पनि समय लाग्यो । हाम्रो कम्पनीको गुडविल चाहिँ छ, नभएको होइन, तर व्यवहारिक रुपमा ठूला आयोजना आँट्न हामीलाई अझै केही समय लाग्छ । भएका आयोजना सकिएपछि हामीले ठूला आँट्न सक्छौँ । त्यसपछि झन् हाम्रो विश्वसनियता बढ्नेछ ।

    अहिले कम्पनीले कतिवटा जलविद्युत आयोजना बनाइरहेको छ ?

    अहिले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा छ । यो आयोजनालाई बाढीले ठूलो क्षति पुर्याएको छ । सञ्चालनमा त छ, तर धेरै संरचनाहरुमा समस्या देखिएका छन् । टर्वाइन, विद्युतगृहका उपकरणदेखि लिएर स्वीचयार्ड माथि बाँध क्षेत्रमा पूरै मर्मत सम्भार गर्नुपर्ने भएको छ । अहिले त्यसको काम गर्दैछौँ ।

    अहिले साढे चार मेगावाटको तल्लो इन्द्रावती आयोजना निर्माणाधीन अवस्थामा छ । त्यस्तै भोजपुरमा १४ मेगावाटको इर्खुवा खोला पनि निर्माणाधीन अवस्थामा छ । यो आयोजनाबाट हामीले गत कात्तिकमै बत्ति बालिसक्नुपर्ने थियो । त्यहाँ पनि बाढीले ठूलो क्षति पुर्यायो । जोडिसकेका मेसिनहरु पनि बाढीले पुरिदियो । ती मेसिनहरु सफा गरेर अहिले जोड्ने क्रममा छौँ । इर्खुवाखोलाबाट २०८१ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य हो, हामी सक्छौँ होला जस्तो लाग्छ ।

    त्यसपछि लिखु खोलामा एउटा आयोजना अध्ययन गर्दैछौँ । त्यो ३६ मेगावाटको अर्धजलाशय (पिआरओआर) मा आधारित छ । त्यसै गरी १६ मेगावाटको मध्य त्रिशुली गंगा आयोजना पनि निर्माण हुँदै छ । त्यसममा पनि हामी संलग्न हुने छौं । आयोजना निर्माण पूर्वको चरणमा छ । त्यस्तै तल्लो इन्द्रावतीको काम २०८२ मा सकिन्छ ।

    बाढीले क्षति गरेपछि आयोजनाको लागत कति बढ्यो ?

    लागत बढेको छ । हाइड्रोपावरमा लागत दुई तरिकाले बढ्छ । एउटा क्षति भएपपिछ त्यसलाई पुनः निर्माण गर्न थप लगानी चाहिन्छ । अर्को भनेको, समय बढ्दा ब्याज बढ्छ र लागत पनि बढ्छ । अर्को हामीलाई हुने क्षति भनेको ५/६ महिना आयोजना पछाडि जाँदा त्यसबाट आउने आम्दानी पनि घाटा हुन्छ । इर्खुवामा बाढी आयो, त्यसको कारणले हामीलाई ४५ करोड रुपैयाँ थप लगानी गर्नुपर्ने भएको छ । तल्लो इन्द्रावतीमा पनि ठूलो बाढी आयो, जसले गर्दा आयोजना १० महिना ढिला हुने भएको छ । भएको संरचना सबै बाढीको चपेटामा परेको छ ।

    त्यसले गर्दा पनि हामीलाई १० देखि १२ करोड रुपैयाँ घाटा भएको छ । दैविक प्रकोप आफ्नो हातमा भएको करा होइन । बिमाले कति दिन्छ त्यो लिने हो, त्यो बाहेक केही गर्न सकिँदैन । ब्याज बढेको ‘इन्स्योर’ गर्न सकिँदैन । हाम्रो आउनु पर्ने राजस्व ढिलो आयो, त्यसलाई इन्स्योर गर्न सकिँदैन । त्यसैले यस्ता कुराहरुमा क्षति ब्यहोर्ने नै हो ।

    सञ्चालित माथिल्लो इन्द्रावतीमा १० करोड रुपैयाँको क्षति भएको हाम्रो अनुमान छ । त्यसमा हामीले कम्पनीमा बिमा दाबी गरेका छौँ, हेरौँ कति दिन्छ । आयोजना चलिरहेको छ । क्षति पछि एक महिना मात्र आयोजना बन्द भयो ।

    कम्पनीले धमाधम आयोजना बनाइरहेको छ । ठूला आयोजनाको बनाउने बारे के सोच्नुभएको छ ?

    अहिले त्योभन्दा ठूलो आयोजना हेरेका छैनौँ । हामीले सुरु गरेका यी दुई आयोजना नसिध्याएसम्म अन्य आयोजना हेर्दा पनि हेर्दैनौँ । त्यसपछि जलासय आयोजना बनाउने कि भन्ने सोच छ । जलासय आयोजनाको लाइसेन्स पाइयो भने हामी नेपालमा नौलो काम गर्ने छौं । एउटा जलासय निजी क्षेत्रबाट बन्छ भने त्यो तिर जाऊँ भन्ने हो, तर त्यसको लागि समय लाग्छ ।

    सञ्चालनमा आएका र बनिरहेको आयोजना गरेर विद्युत उत्पादन क्षमता कति पुग्छ ?

    अघि मैले भनेको आयोजनाहरुको कूल मिलाउँदा ७६ मेगावाटको हाम्रो ‘पोटफोलियो’ हुन्छ । त्यो ७६ मेगावाटका आयोजना मध्येबाट ०८२ सालको अन्त्यसम्म २७ मेगावाटबाट आम्दानी हुन थाल्छ । त्यो आम्दानी हुन थालेपछि लगानीकर्तालाई लाभांश दिन्छौं र नयाँ आयोजना पनि सुरु गर्ने छौं ।

    लगानीकर्ताले एक पटक भन्दा बढी लाभांश पाएनन्, पाउँछन भन्ने आधार के छ ?

    हामीले एक पटक १९ प्रतिशत बोनस सेयर दियौँ । अन्य आयोजना सञ्चालनमा आएपछि नेसनलले लाभांश बाँड्न सक्छ । हामी आउनुभन्दा अगाडी जसरी आयोजनाको लागत बढ्यो, ऋण तिर्नुपर्ने, पुराना खर्चहरु ब्यहोर्नु पर्ने स्थिती थियो । त्यो सल्टाउँदा सल्टाउँदै हाम्रो धेरै समय गयो । त्यसैले गर्दा हामीले लाभांश दिनसक्ने स्थिती नै भएन । त्यसपछि आएर लगानी बढायौं ।

    यी सबै व्यवस्थापन गर्दागर्दै पनि नेसनलले ९० करोड रुपैयाँ विभिन्न आयोजनाहरुमा स्वपुँजी (इक्विटी) लगानी गरेको छ । पैसा खेर गएको छैन । बिग्रिएको कम्पनीले पनि ९० करोड रुपैयाँ लगानी गरिसकेको छ । त्यसबाट प्रतिफल आउन थालेपछि सेयरधनीलाई हामी केही दिन सक्छौँ । नत्र भने पहिला जुन लागत थियो, त्यो लागतमा प्रतिफल दिँदा यति न्यून हुने भयो कि हामीले दिनु र नदिनुको कुनै अर्थ नै रहेन ।

    लगानीको दायरा बढाऔँ, त्यसबाट आएको प्रतिफल आकर्षक पनि हुन्छ भन्ने हिसाबले लगानीको दायरा बढाएका छौँ । अलिकति खर्च गरेका छौँ । आउने अर्को वर्ष दुई वटा आयोजना सकिन्छन् । त्यसपछि सेयरधनीले लाभांश पाउने छन् ।

    जलविद्युत आयोजनाको लागत बढ्यो भन्नु भयो, बढ्नुको कारण के हो ?

    बजार भाउ नै बढेको छ । चार वर्ष अगाडी प्रतिकिलो ६० रुपैयाँको फलाम स्टिल पाइन्थ्यो अहिले बढेर सय रुपैयाँको हाराहारी पुगिसक्यो । ३३ प्रतिशत त्यहीँ बढ्यो । सिमेन्ट बोराको पाँच सय ५० मा पाइन्थ्यो, आज सात सय रुपैयाँ पुगेको छ, अझै ढुवानी गरेर आयोजना स्थलमा पुर्याउँदा त बोराको नौ सय रुपैयाँ पर्छ ।

    ढुवानी खर्च बढ्यो । हामीले चार वर्ष अगाडि इर्खुवाखोला बनाउन एक सय ८ रुपैयाँ डलरमा ठेक्का सम्झौता गरेका थियौं । आज बढेर एक सय ३६ रुपैयाँ पुगेको छ । ब्याजदर अहिले अलिकति घटेको छ । एक वर्षअगाडि हेर्ने हो भने १२ प्रतिशतको ब्याजदर बैंकबाट लिएकै हो । ब्याजदर बढ्ने, डलरको भाउ बढ्ने, डिजेलको भाउ बढ्ने, सिमेन्टको भाउ बढ्ने, छडको भाउ बढ्ने, सबैको भाउ बढेपछि आयोजना चाहिँ कसरी सस्तो हुनसक्छ ?

    अहिले इर्खुवा खोलाको लागत प्रति मेगावाट २५ करोड रुपैयाँ पुग्ने भएको छ । इन्द्रावती सानो भयो, त्यो झनै महंगो हुन्छ । प्रति मेगावाट लागत २८ करोड रुपैयाँसम्म पुग्ने देखिएको छ । यसमा ढाकछोप गर्नुपर्ने कुरै छैन । उपकरणको लागत बढेपछि अहिले साना आयोजनाहरु बनाउन नसकिने अवस्था भइसक्यो ।

    ५/१० मेगावाटका आयोजना त गर्नै नसक्ने स्थिती छ । तर, बजार भाउ बढ्दा पनि पिपिए दर पुनरावलोकन भएको छैन । त्यसैले अहिले कसैले पनि म पुरानो पिपिएमा नै गरेर नाफा गर्न सक्छु भन्यो भने त्यो एकदमै आकर्षक आयोजना हुनुपर्छ, नत्र सकिँदैन ।

    पिपिए दर नबढाए नयाँ आयोजना बन्न गाह्रो छ भन्ने यहाँको तर्क हो ?

    पहिला पिपिए दरमा समायोजन हुनपर्यो । आयोजनामा हुने खर्चसँगै पिपिए समायोजन हुनपर्छ, त्यसपछि मात्र आयोजना आर्थिक रुपमा संभाव्य हुन्छ । प्राधिकरणले पिपिए दर तोक्दा के के आधारमा कति कति खर्चमा तोकेको थियो, यो खर्चको यति पैसा परेको छ । त्यसकारण त्यसको आधारमा तिमीलाई यति फाइदा हुन्छ भनेर दिएको हो ।

    ती कहाँ पुगे भनेर आज पुनरावलोकन त गर्नुपर्छ नि ! दशौँ वर्षमा पिपिए दर पुनरावलोकन नगर्ने हो भने आयोजनाले सजिलो तरिकाले कहिल्यै पनि नाफा गर्न सक्दैन । त्यसको असर पछि देशलाई पर्छ । पैसा खर्च गर्न नसकेपछि आयोजनाहरुको गुणस्तर रहँदैन । ३५ वर्षमा हामीले यी आयोजनाहरु त राज्यलाई फिर्ता गर्ने हो ।

    कुनै राम्रो आयोजना बनाउन सकेनौँ भने हामीले सरकारलाई के फिर्ता गछौँ ? त्यसैले सरकारलाई राम्रो गुणस्तर भएको राम्रो आयोजना फिर्ता लिने हो भने राम्रोसँग बनाउ भनेर पिपिए दर पुनरावलोकन गर्नुपर्छ । मेरो विचारमा पीपीए दर ३० प्रतिशत बढ्नुपर्छ ।

    पिपिए दर बढाएपछि जनतालाई दिने बिजुली महंगो र उद्योगमा पनि असर पर्छ नि ?

    त्यसको विकल्प त लोडसेडिङ होला नि त ! फेरि डिजेल किन्नुपर्दा त झन् महंगो पर्ला । त्यसकारण हामीले उत्पादन गर्ने ठाउँमा लागेको खर्च दिन नसक्दा त्यसको दीर्घकालीन प्रभाव कहाँ पर्छ भनेर हेर्नुपर्यो नि ! पहिले आयोजना बनाउन नसक्ने, लगानी गरेर बैंकको पैसा तिर्न नसक्ने हुँदा त्यसको समग्र अर्थतन्त्रमा पर्ने असर त हेर्नुपर्छ । त्यो अर्थतन्त्रमा पर्ने असर भनेको त आखिर भोलि विद्युत् उत्पादनकर्ताले साँवा, ब्याज तिर्न नसक्ने, गुणस्तरीय आयोजना बनाउन नसक्ने, समयमा आयोजना ल्याउन नसक्ने यिनै हुन् ।

    यो हुँदा एकातिर बैकिङ सेक्टर धरासयी हुन सक्छ । भोलि लोडसेडिङ हुने, बिजुली किन्न नसक्ने अवस्थामा पुग्न सक्छौँ । हामी बिजुलीमा अझै पनि परनिर्भर हुन सक्छौँ । त्यसको पनि लागत छ नि ! त्यो कस्टको हिसाब गर्नसक्नुपर्छ । त्यो सित्तैमा आउने कुरा होइन । त्यसकारण हामीले दिल अलि ठूलो बनाएर हेर्यौँ भने बिजुली उत्पादकहरुलाई केही थप सहुलियत दिनुपर्ने स्थिती आइसकेको छ ।

    ठिक छ, यदि पिपिए रेट बढाउन सक्दैनौँ भने सरकारले दिन सक्ने खर्च कटाइदिन सक्ने क्षेत्र पनि छ । सरकारी रेटमा जग्गा उपलब्ध गराइदिन सक्छ । आखिर सरकारले दिने जग्गा हो, सरकारले किनिदिए भयो त सरकारी रेटमा । वनलाई पैसा किन दिने हामीले ? अहिले वनलाई पैसा तिर भनिरहेको छ ।

    आखिर सरकारलाई जाने आयोजना हो, त्यो पैसा किन तिर्ने हामीले ? ब्याजमा सरकारले केही सहुलियत दिनसक्नु पर्यो । त्यस्तै अहिले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हामीले फिर्ता लिन पाएका छैनौं । भ्याट भन्ने कुरा त अन्तिम उपभोक्ताले ब्यहोर्ने कुरा हो । टेलिफोनमा भ्याट त जनताले तिर्छन् त ! बिजुलीको निर्माणमा १३ प्रतिशत भ्याटको दायित्व विकासकर्ताले बोकेर बस्नु परेपछि त्यो आयोजनाको लागतमा जोडिएको छ ।

    त्यो पनि हामीले उपभोक्तलाई ‘पासन अन’ गर्न पाउनुपर्छ । यस्ता कुराहरुमा सरकारको ध्यान पुग्ने हो भने बिजुलीको भ्याट पनि जनतालाई लगाउनु पर्यो नि त ! हामीले पनि नेपाल विद्युत प्राधिकरणलाई भ्याट बिल काट्छौँ । सरकारले बिजुली शून्य ब्याजदरको उपभोग्य वस्तु बनाइदिएको छ । हामीले प्राधिकरणलाई बिजुलीको बिलको भ्याट चार्ज गर्न पाएनौँ ।

    हामीले भ्याट तिरेको सबै हामीमै गएर अड्किने भयो जसले गर्दा आयोजनाको लागत १० देखि १२ प्रतिशत बढेको छ । यस्तो कुराहरुमा सरकारले सोचिदिने हो भने लागत १० प्रतिशत घट्छ । अझै पनि हामी सस्तोमा बिजुली उत्पादन गर्न सक्छौँ । सबै कुरा विकासकर्ताले मात्र ब्योहर्नुपर्छ भन्न थाल्यो भने त समस्या हुन्छ ।

    नयाँ आयोजना बनाउने तयारी भइरहेको छ, त्यसको लागि पैसा चाहिन्छ । लगानी कसरी जुटाउँदै हुनुहुन्छ ?

    नयाँ आयोजना बनाउन लगानी जुटाउन विभिन्न विकल्पहरु हुन सक्छन्, त्यो मध्ये एउटा भरपर्दो विकल्प हकप्रद सेयर जारी हो । अहिले आयोजनाका लागि तुरुन्त पैसा चाहिएको छैन, हामी एक डेढ वर्ष त्यसरी जादैनौँ । पहिलो दुई वर्ष अहिले भएका आयोजना नै सम्पन्न गर्नेमा छौँ ।

    सोचाईमा त्यो एउटा विकल्प त हो । त्यो गर्न नयाँ आयोजना अगाडि बढ्नुपर्छ । विद्युुत प्राधिकरणले पिपिए खोलेको छैन, पिपिए खुलेपछि लागत निकालेर त्यसको निर्माणमा जानुपर्दा अनि हकप्रद सेयर जारी वा अन्य विकल्पमा छलफल गर्न सकिन्छ ।

    यहाँले आयोजनाको निर्माण लागत बढेको बताउनु भयो, सरकारले तपाईहरुलाई संस्थगत कर छुट दिएको छ नि त ! त्यसले मात्र पुग्दैन । पूर्वाधार आयोजनाहरु भनेको महंगा हुन्छन्, हामी व्यापार गर्ने व्यापारी जस्तो होइन । पूर्वाधार भनेको त ५० वर्षका लागि बनाउँछौँ । बाटो बनाएर बाटोबाट खर्च उठाएर नाफा गर्न वर्षौँ लाग्छ ।

    प्रसारण लाइन त्यस्तै हो । जलविद्युत पनि त्यस्तै हो । जुन कर छुट पाइएको छ, कर छुट त आयकर हो । पहिलो ५/७ वर्ष आयोजनाबाट आम्दानी नै हुँदैन । तपाईले जुन लागत, जुन साँवा, ब्याज तिर्नुपर्छ त्यसलाई हेर्ने हो भने कुनै आयोजनाको ५/७ वर्ष त आम्दानी नै हुँदैन । हामीले आम्दानी नै गर्ने भनेको १० वर्षमा २, ३ वर्ष हुनसक्छ ।

    राम्रो आयोजनाको ऋण फिर्ता (पे ब्याक पिरियड) नै ७/८ वर्षको छ, अरु आयोजनाको त १०/१२ वर्ष पुग्छ । भनेपछि हामीले साँवा र ब्याज तिरेरै भ्याइरहेका हुँदैनौँ । हाम्रो नाफा एकदम कम छ । ठीक छ, त्यतिलाई पनि हामीले सहुलियत नै मान्नुपर्छ । तर, त्यतिले पुगिरहेको छैन ।

    जलविद्युत आयोजना नियमन गर्ने धेरै नियमनकारी निकाय हुँदा समस्या भयो भन्ने कुराहरु पनि आएको छ, किन समस्या देखिएको हो ?

    हो, एक किसिमले भन्ने हो भने कति नियमनकारी निकायहरुले कुरा नबुझेर पनि हामी विकासकर्तालाई समस्या परेको छ । हामीलाई नियमन गर्ने निकाइहरु हेरौँ । हाम्रो आफ्नै विद्युत् नियमन आयोग छ, उसले नियमन गर्ने नै भयो । लाइसेन्स नियमन गर्ने विद्युत् विकास विभाग र मन्त्रालय, पिपिए नियमन गर्ने नेपाल विद्युत् प्राधिकरण, ऊ पनि सरकारी निकाय नै भयो ।

    कम्पनीको दर्तादेखि लिएर कम्पनीको सबै सेयर बाँडफाँड गर्ने कम्पनी रजिष्टर कार्यालय छ । सबै जलविद्युत कम्पनीले सेयर निष्कासन गर्नुपर्छ । त्यसका लागि पब्लिकमा जानुपर्दा धितोपत्र बोर्ड छ । त्यतिले मात्र नपुगेर बेला बेलामा संसदबाट पनि निर्देशन जाने गरेको छ । कहिले बुझेर जाने कहिले नबुझेर जाने निर्देशनले अप्ठेरो पारेको छ । अख्तियारले पनि बेला बेलामा फाइल तानिरहेको हुन्छ ।

    भनेपछि सबैतिरबाट हेरिएपछि सबैले केही न केही वर्चश्व राख्न खोजेपछि समस्या आउँछ । अर्थ समितिले धितोपत्र बोर्डलाई दिएको साधारण सेयर निष्कासन (आइपिओ) सम्बन्धि निर्देशनले बोर्ड नै रनभुल्लमा परेको छ । हुँदै नहुने कुरा आइदिराको छ । ९० प्रतिशत भन्दा कम प्रति सेयर आम्दानी (इपिएस) हुने कम्पनीलाई आइपिओ निष्कासन नगर्नु भन्देको छ । यसले कस्तो स्थिती सिर्जना भयो भने आयोजना बन्नुभन्दा र बत्ति बल्नुभन्दा अगाडि दिनसम्म ठिक भएको कम्पनी बत्ति बलेको एक महिनापछि आइपिओ जारी गर्न योग्य नहुन सक्छ ।

    सञ्चालनमा आउने बित्तिकै ब्यालेन्स सिट बनाउनु पर्छ, त्यसको डिप्रिसियसन काट्न थाल्नुपर्छ । ठूलो लगानीमा त ठूलो डिप्रिसियसन आउँछ । यो कुरा अर्थ समितिका माननियहरुले बुझेको छैनन् । यस्ता खालका कन्फ्युजनहरुले समस्या ल्याइसकेको छ । यस्तो खालका नियमनकारी निकायहरुले निर्देशन दिँदा केही न केही समस्या हुने गरेको छ । जस्तो धितोपत्र बोर्डकै कुरा गर्यौँ हामीले । इर्खुवा खोला आयोजनाको आइपिओ निष्कासनको स्वीकृतिका लागि गत वर्ष मंसिरमा दरखास्त दिएको हो । त्यहाँ अध्यक्ष रिटायर्ड हुनुभयो । सरकारले ११ महिनासम्म अध्यक्ष छानिदिएन ।

    अध्यक्ष नभएपछि ११ महिना आइपिओको काम ठप्प भयो । मैले चार वर्ष अगाडि आयोजनाको पुँजीगत संरचना बनाउँदा आइपिओबाट यो बेलामा यति पैसा आउँछ, यो त मेरो स्वपुँजी (इक्विटी) हो । यसको आधारमा यति ऋण लिन्छु भनेर भनेको हुन्छु । एक वर्ष मेरो आइपिओ अड्कियो भने मैले ४० करोड रुपैयाँ पुँजी कहाँबाट खोजेर ल्याउने ? ४० करोड रुपैयाँले जुन ऋण लिन पथ्र्यो त्यो पनि नआउने स्थिती आयो । भनेपछि त्यसको लागि छुट्टै व्यवस्था गर्नुपर्ने भयो ।

    ३० करोड रुपैयाँ ऋण लिनपर्दा त्यसमा ब्याज खर्च भयो । त्यो गराउन मलाई तीन चार महिना लाग्यो । तीन चार महिना आयोजनाको काम रोकियो किनभने पैसा दिन सकिएन । सरकारले आफूले गर्नुपर्ने कामहरु समयमा नगरिदिँदा निकै असर पर्छ । बोर्ड अध्यक्ष समयमा चयन गर्न नसके पनि दोस्रो व्यत्तिले काम गर्नुपर्यो नि ! आइपियो निस्काशन गर्ने भनेको त उसको नियमित काम हो, नीतिगत काम त होइन ।

    उसको फरम्याट छ, सिस्टम छ, आइपियो त एउटा सिस्टममा जाने कुरा हो । त्यो नगरिदिँदा अर्बौँ रुपैयाँ बजारमा उठाउन नसकेर छटपटी भएको छ । यी सबैको लागत छ, त्यो जिम्मा कसले लिने ? नियमनकारी निकायहरु जवाफदेही त हुनुपर्यो । यसको जवाफ त कोही दिनेवाला छैन । सबै पन्छिनेवाला मात्र छन् । मिडियाले पनि सजिलैसँग राजनीतिक कारणले भएन भनिदिएको छ ।

    तर, यसको साँच्चिकै असर त प्रोजेक्टमा परेको छ । यो कुरा बाहिर आउँदैन, यसले गर्दा लागत खर्च बढ्यो, समय बढ्यो । यसले गर्दा अन्य योजना बन्न सकेनन् । यी कुराको हामीले विश्लेषण गर्नुपर्छ । नियमनकारी निकाय नै समस्या भइदिएपछि झन् ठूलो समस्या भयो ।

    पछिल्लो समय जल विद्युत कम्पनीहरुलाई वार्षिक साधारणसभा गर्न गाह्रो भयो भन्ने कुरा आइरहेको छ, किन होला ?

    गणपुरक संख्या नहुँदा साधारण सभा गर्न समस्या आएको धेरै वर्ष भइसक्यो । नेसनलमा अहिले ५० हजारको हाराहारीमा सेयरधनीहरु छन् । कम्पनी ऐनले पहिलो पटक साधारणसभा बोलाउँदा ५० प्रतिशत कोरम पुग्नै पर्छ भनेको छ । त्यतिखेर गणपुरक संख्या पुगेन भने त्यसपछि २५ प्रतिशत पुर्याउनु पर्छ भनेको छ । २५ प्रतिशतभन्दा पछि अरु विकल्प छैन । अब समस्या के भने, कम्पनीहरुमा हजारौँ, लाखौँ सेयर होल्डर भइसके ।

    त्यसमा २५ प्रतिशत ल्याउने भनेको पनि सानो कुरा होइन । जलविद्युत कम्पनीको सेयर पूरै विकेन्द्रिकृत भइसकेको छ । अब ती मान्छे कहाँ जम्मा गर्ने ? कसरी ल्याउने ? हाम्रो पोहोर साल पहिलो पटक २५ प्रतिशत पुगेन, दोस्रो पटक बोलायौँ २५ प्रतिशत पुगेन ।

    होइन पुगेन, बाधा अड्चन फुकाइदेऊ न त कम्पनी रजिष्टारको कार्यालयलाई भनेको उसले होइन ब्यापक प्रचार प्रसार गर २५ प्रतिशत पुर्याउनै पर्छ भन्यो । फेरि सबै सेयर धनीलाई एसएमएस पठायौँ, एफएममा फुक्यौँ, पत्रिकामा दुई तीन पटक सूचना प्रकाशित गर्यौं, फेसबुकमा राख्यौँ, वेबसाईटमा राख्यौँ, व्यापक प्रचार गर्दा पनि गणपुरक संख्या नै पुगेन ।

    नपुगेपछि सेयर होल्डरहरुले नै हाम्रा अधिकार हनन् भयो भनेर उच्च अदालतमा गइसकेपछि अदालतले जति आउँछन्, त्यसलाई गणपुरक संख्या मानेर गर्दिनु भनेर आदेश दियो । त्यो आदेशपछि हामीले गएको हप्ता साधारणसभा गर्यौँ । सबै कम्पनीको यो अवस्था छ । किनभने जुन संख्यामा सेयर होल्डर बनेका छन् त्यो आधारमा यो समस्या आउने पक्का छ । यसमा नीतिगत समस्या हो भनेर हामीले बुझ्नुपर्छ । हाम्रो ऐनहरु समय परिवेश र समाजअनुसार अगाडि बढ्न सकेनन् ।

    हाम्रो कम्पनी ऐनले ५० हजार, एक लाख, पाँच लाख सेयर होल्डर हुने कम्पनी पनि हुन्छन् भनेर परिकल्पना गरेकै छैन । आजको कम्पनी ऐनले एक, डेढ लाख सेयर होल्डर हुने र त्यो सेयर पूरै डाइलुट हुन्छ भनेर सोचेकै छैन ।

    नसोचेपछि उसले ५० प्रतिशतको ढर्रा लिएर बस्ने नै भयो । उसले २०, ३० जना सेयर होल्डर हुन्छन्, १०, १२ जना त आउन पर्यो नि भनेर बसेको छ । लाखौँ मानिस सेयर होल्डर भइसकेपछि त्यसको ५० प्रतिशत कहाँ अट्ने ? यहाँ परिकल्पनामा नै फरक परेको छ ।

    यस्तो फरक परिसकेपछि ऐनमा परिवर्तन गर्नुपर्छ । त्यस्तै अर्को भनेको नेपालमा जति पनि पब्लिक कम्पनीहरु छन्, अनलाइन ट्रेडिङले गरेर अहिले जुनसुकै देशबाट ट्रेडिङ गर्न सकिन्छ । जसले गर्दा नेपालका कम्पनी मल्टिनेशनल कम्पनी भए । आज कसैले बेलायतमा बसेर कुनै कम्पनीको आधा सेयर किन्छु भन्यो भने भोलि त्यो मान्छे उपस्थित नभइकन साधारणसभा नै नहुने पनि कुरा हुन्छ ? उहाँहरुको एउटा खालको शंका जायज नै हो । जति पुग्छ गर्देउ भन्दा सानो ग्रुपले कम्पनी ‘क्याप्चर’ पो गरिराख्ने हो कि भन्ने शंसय छ । कम्पनीले बोलाएपछि नआइदिएपछि के लाग्छ ?

    सेयरधनीको साधारणसभामा किन चासो नभएको होला ?

    चासो नभएको होइन संख्या धेरै भएर हो । दुई चार सय मानिसमा चासो हुन्छ तर त्यतिले पुगेन । दशौं, बीसौँ, पचासौँ हजार चाहिन्छ । सेयर किन्नेलाई त्यो मतलब पनि छैन । आज सेयर बढ्यो भोली बेच्छ, भोलि घट्यो किन्छ, त्यो अवस्था छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend