पुस १८ काठमाडाैं, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दुई अंकको सिट ल्याएर देखाउन प्रचण्ड–नेपाल समूहलाई चुनौति दिएका छन् ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ जिल्लाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल समूहले बहुमत रहेको दाबी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने बताए ।
‘बहुमतकाे दाबी गर्न खाेई चुनाव लडेकाे ? त्यसै बहुमत ?’ उनले प्रश्न गरे ।
प्रचण्ड–नेपाल समूहको नेताको ध्यान पदमा मात्रै केन्द्रित भएको आरोप पनि उनले लगाए । पद चाहिएकाे भए केन्द्रीय कमिटिमा आउन उनले सुझाब पनि दिएका छन् ।
‘सुन्तला खानु छ भने सुन्तला बारीतिर पो जानुपर्थ्याे, सल्लाघारीतिर लाग्ने ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे । प्रधानमन्त्री ओलीले नेकपाको वैधानिकतालाई लिएर प्रचण्ड–नेपाल समूहमाथि कटाक्ष पनि गरेका छन् ।
उनले निर्वाचन आयोगमा निवेदन हाल्दैमा वैधानिकता प्राप्त नहुने पनि बताए । उनले भने, ‘यो बरमझियाको बुढाको पेडा पसल हो ? असली र नक्कली ?’
ओलीले प्रचण्ड-माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत व्यंग्य गरेका छन् । अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।’