logo

२०८१ पुष ५ शुक्रबार

logo
  • शुक्रबार, ५ पुष २०८१
  • निजीकरणको २४ वर्षपछि चिया विकास निगमको आइपिओ ल्याउदै त्रिवेणी ग्रुप

    निजीकरणको २४ वर्षपछि चिया विकास निगमको आइपिओ ल्याउदै त्रिवेणी ग्रुप

    217
    Shares
    निजीकरणको २४ वर्षपछि चिया विकास निगमको आइपिओ ल्याउदै त्रिवेणी ग्रुप

    काठमाडौं । सरकारी स्वामित्वको नेपाल चिया विकास निगम लिमिटेड निजीकरण भएको २४ वर्ष पुगेको छ । निजीकरणको झण्डै साढे दुई दशकपछि व्यवसायिक घरना त्रिवेणी ग्रुपले निगमको साधारण सेयर (आइपिओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ ।

    सरकार र त्रिवेणी ग्रुपका सञ्चालक पुरुषोत्तमलाल संघाईबीच २०५७ असार १४ गते चिया विकास निगम निजीकरण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । कम्पनी निजीकरण भएको २४ वर्ष बितेको छ ।

    निगम सञ्चालक समितिको पुस २ गते बसेको १ सय ८५ औं बैठकले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । निगमको चुक्ता पुँजी बढाउन र आइपिओ निष्कासन गर्न यही पुस २९ गते २३ औं साधारणसभा बोलाइएको छ ।

    निगमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने र सोका लागि कम्पनीको चुक्ता पुँजी बढाउने विशेष प्रस्ताव सभामा पेश हुने भएको छ । यस्तै कम्पनीको उद्धेश्य थप गर्ने प्रस्ताव पनि सभामा पेश हुने निगमले जनाएको छ ।

    सभाबाट पारित भएपछि निगमले औपचारिक रुपमा आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ । कति प्रतिशत कतिमा आइपिओ ल्याउने हो खुलाएको छैन् ।

    निजीकरण प्रक्रियाअन्तर्गत निगमको ६५ प्रतिशत सेयर २६ करोड ७१ लाख ५ हजार रुपैयाँ कायम गरी प्रतिवर्ष २ करोड ८० लाख १ हजार रुपैयाँ भाडा बुझाउने गरी ५० वर्षका लागि सम्झौता त्रिवेणी ग्रुपसँग सम्झौता भएको छ ।

    सरकार र खरिदकर्ताबीच सेयर खरिदबिक्री र जग्गा भाडासम्बन्धी अलग सम्झौता भएको थियो । खरिदकर्ताले २० करोड ३ लाख ३० हजार सेयर बापतको रकम सरकारलाई बुझाई बाँकी ६ करोड ६७ लाख ७५ हजार रुपैयाँको बैंक ग्यारेन्टी राख्ने उल्लेख थियो । सम्झौतामा सरकारले चिया विकास निगमलाई ५ हजार १ सय ९६ एकड जग्गा उपलब्ध गराउने सर्त थियो ।

    चिया विकास निगमले विभिन्न ७ वटा बगान सञ्चालन गरिरहेको छ । निगमले टोकला ब्रण्डको चिया उत्पादन गर्दै आएको छ ।

    त्रिवेणी ग्रुपको सिमेन्ट, चिया, ग्यास, खानेतेल, चिनी, बैंक तथा वित्तीय क्षेत्र, बिमा र जलविद्युतमा ठूलो लगानी रहेको छ । पछिल्लो समय ग्रुपले जलविद्युतमा आक्रमक भएर लगानी बढाइहेको छ ।

    ५४ मेगावाटको लिखु चार आयोजना सञ्चालनमा छ । यस्तै ८२ मेगावाटको सोलु जलविद्युत आयोजना पनि निर्माण भइरहेको छ । १ सय ८० मेगावाटको कालिगण्डकी गर्ज आयोजना पनि साझेदारीमा बनाउने तयारी ग्रुपको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend