logo

२०८१ पुष १५ सोमबार

logo
  • सोमबार, १५ पुष २०८१
  • सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

    सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

    231
    Shares
    सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

    सुनसरी । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे । उनले एक लाखदेखि एक लाख ५० हजार रुपैयाँको लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै आएका थिए । उनले गहुँखतीबाट वार्षिकरूपमा १० क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन हुँदै आएको थियो । उनलाई गहुँबाट वार्षिकरूपमा ७२ हजार रुपैयाँ आम्दानी हुँदै आएको थियो ।

    पछिल्लो समय साह गहुँखेती छोडेर मकैखेती गर्नका लागि सुरू गरेका छन् । उनले अहिले एक बिघा १० कट्ठा खेतमा मकैखेती गरेको जानकारी दिए । एक लाखदेखि एक लाख ५० हजार रुपैयाँको लगानीमा गरेको मकैखेतीबाट चार लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्यका साथ एक बिघा १० कट्ठामा मकैखेती गरेको उनले जानकारी दिए ।

    मकैखेतीबाट वार्षिकरूपमा एक सयदेखि एक सय २० क्विन्टलसम्म उत्पादन गरेर वार्षिकरूपमा चार लाख आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहले बताए ।

    गहुँखेतीमा कम उत्पादन हुने र कम आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहको भनाइ रहेको छ । साह सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन् । पछिल्लो समय सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन् ।

    जिल्लामा पछिल्लो समय वार्षिकरूपमा गहुँखेती गर्ने कृषकको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको छ भने मकैखेती गर्ने कृषकको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

    आर्थिक वर्ष २०८०/०८१ मा सुनसरीमा १२ हजार २ सय ४८ हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा आव २०८१/०८२ मा १२ हजार एक सय २५ हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गरेको कार्यालय प्रमुख सिंहले जानकारी दिए ।

    त्यसैगरी आव २०८०/०८१ मा सुनसरीमा १० हजार छ सय ४१ हेक्टर क्षेत्रफलमा मकैखती गरेका र यस आवमा लगाउने क्रम जारी रहेका कारणले यसमा वृद्धि हुने उनले जानकारी दिए। आव २०८०/०८१ मा ३ दशमलव ३७ मेट्रिक टन गहुँको उत्पादकत्व रहेकोमा सोही आर्थिक वर्षमा ७ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर मकैको उत्पादकत्व रहेको सिंहले जानकारी दिए ।

    मकैखेतीमा उत्पादकत्व बढी हुनु, बजार भाउ बढी पाउनु र कुखुराको दाना बनाउनका लागि प्रयोग गर्नुलगायतका कारणले बढी मात्रमा जिल्लाका किसान मकैखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले जानकारी दिए । सुनसरीमा हाइब्रिड ३३, ५५, ७७, रामपुरकम्पोजीट, कारगील, अल्राउण्डरलगायतका जातका मकैखेती हुने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख सिंहले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend