करिव सात वर्षअघि यस्तै पुसे चीसो थियो । तत्कालीन नेकपा एमाले महाधिवेशनको तयारीमा थियो (मंसिरमा भएको संविधानसभाको निर्वाचनका कारण जसको मिति पछि सारियो, २०७१ असारका लागि) । त्यसबेलासम्म एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल र प्रभावशाली नेता केपी शर्मा ओलीले अध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरिसकेका थिए । तत्कालीन अध्यक्ष झलनाथ खनालले पनि सर्वसम्मत भए आफू दोहोरिने बताइरहेका थिए । मुलुकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतको चयन हुन बाँकी नै थियो । एमालेभित्रैबाट नेता नेपाललाई राष्ट्रपति बनाएर ओलीलाई पार्टी अध्यक्षमा सर्वसम्मत बनाउने प्रयत्न जारी थियो । तर नेपाल मानिरहेका थिएनन् । उनी भनिरहेका थिए, ‘म राष्ट्रपतिजस्तो आलंकारिक पदमा जान्न । फेरि एकपटक पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक कार्यकारी पदमा दावा रहन्छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेर संगठन र मुलुकलाई अगाडि बढाउन चाहन्छु ।’
बिजुली हिटर तापेर बालकोटस्थित निवासमा महाधिवेशनको तयारीबारे हामी (म र सहकर्मी दुर्गा खनाल) सँग गफिइरहेका थिए ओली । दुर्गा र म त्यसबेला कान्तिपुर दैनिकमा थियौ । ओली पनि पार्टी अध्यक्ष बनेर मुलुककै नेतृत्व गर्ने दाबी प्रस्तुत गरिरहेका थिए । मैले ओलीलाई सोधे, ‘त्यसो भए माधव नेपाललाई के बनाउने ?’ ओलीले एकछिन पनि नसोंची फ्याट्ट भने, ‘हु जिन्ताओ बनाउने ।’ त्यसबेला उत्तरी छिमेकी चीनमा सी जिनपिङ भर्खरै जिन्ताओको उत्तराधिकारीका रुपमा राष्ट्रपति चुनिएका थिए । सहकर्मी दुर्गाले हाँस्दै सोधे, ‘जिन्ताओ बनाउने भनेको के हो ?’
ओलीले बेलीबिस्तार लाए, ‘जिन्ताओ दश वर्ष चीनको नेतृत्व गरेर कार्यभारबाट भर्खरै बिदा भएका छन् । भोलीका दिनमा सल्लाह लिन, लिएजस्तो गर्न वा कुनै समारोहमा विगतको योगदानप्रति सम्मान गर्न पार्टीले उनलाई आमन्त्रण गर्नसक्छ । तर अब उनले पूर्णरुपमा अवकास लिएर व्यक्तिगत जीवन बिताउनेछन् । माधवजीले त झन् १५ वर्ष पार्टीको नेतृत्व गरिसक्नुभयो । प्रधानमन्त्री पनि बनिसक्नुभयो । अब उहाँलाई सम्मानजनक अवकास दिनुपर्छ ।’ मैले प्रतिप्रश्न गरिहाले, ‘उहाँ त फेरि एकपटक कार्यकारी पदमै जाने हो, राष्ट्रपति पनि बन्दिन भनिरहनु भएको छ । तपाई जिन्ताओ बनाउने कुरा गर्दै हुनुहुन्छ त ?’
ओलीले दुर्गातिर हेरे र थाहा नपाएझै गरेर सोधे, ‘उहाँले राष्ट्रपति बन्न मन छैन भन्नुभएको छ र ?’ दुर्गाले जवाफ दिए, ‘सन्चारमाध्यमहरुमा हिजो–अस्तीकै उहाँको अन्तर्वार्ता हेर्नु/सुन्नु भएको छैन र ?’ अनि ओली व्यङ्ग्यात्मक रुपमा हाँसे । भने, ‘पहिलो संविधानसभापछि माओवादीले राष्ट्रपति पदको चारो फ्याँक्दाचाहिँ किन -याल काँढ्दै हिँडनुभएको रे ? (गोडा यताउता पार्दै) उहाँले चुहाएको -याल कुल्चिइन्छ कि भनेर जोगिँदै हिँड्न हामीलाई कम्ता गाह्रो परेको थियो ।’ राजनीतिक रिर्पोटिङ्का क्रममा ओलीसँग त्यसअघि पनि थुप्रैपटक औपचारिक÷अनौपचारिक कुराकानी भएका थिए । तर नेता नेपालप्रति उनले त्यो हदको घृणाभाव प्रकट गरेको मेरो अनुभवमा पहिलो थियो । दुई ठाउँबाट चुनाव हार्दा पनि मनोनीत गरेर सभासद/प्रधानमन्त्री बनाएको, माओवादीको सडक आन्दोलनबाट तर्सिएर राजीनामा दिन खोज्दा आफूले काँध थापेर जोगाएको, मन्त्री क्वार्टरमै बसेर आन्दोलन निस्तेज पार्न भूमिका खेलेको जस्ता धेरै कुरा सुनाएका थिए ओलीले त्यसबेला ।
निवर्तमान सांसद सूर्य पाठकले हालैको एक भेटमा ‘बालुवाटार जग्गा प्रकरण’पछि ओली र नेपालको ‘वैमनश्यता’ बढेको हुनसक्ने अनुमान सुनाएपछि मलाई सात वर्षअघिको त्यो परिघटना स्मरण भएको थियो । सन्दर्भ थियो, हालै एक भाषणका क्रममा ओलीले नेपाललाई ‘प्रचण्डको मामुली कार्यकर्ता’ भनेर गुथाएको पगरी । त्यस भाषणका क्रममा ओलीले ‘माधव नेपालबारे त म टिप्पणी पनि गर्न चाहन्न’ भन्दा–भन्दै निकै बेर लगाएर उनलाई मज्जैसँग होच्याए । भने, ‘माधव नेपालजीको सम्बन्धमा त मलाई खास टिप्पणी नै गर्नु छैन । किनभने, उहाँ प्रचण्डको एउटा मामुली कार्यकर्ता हो । (यसपछि नेपालको क्यारिकेचर नै गर्दै) मलाई पदको लोभ छैन, म अरुजस्तो पदको लोभी हैन तर मलाई उधारो हैन, नगद चाहिन्छ । उधारो म पत्याउँदिन, हाताहाती चाहिन्छ । नगद के रहेछ भनेको त दुत्तीइइय (ओलीकै भाषामा) अध्यक्ष । दुत्तीय । न सभापति हुन पाउने, सभापति पनि प्रचण्डले नै चलाउने भयो । छेउमा बस्न पाकै थियो । विचरा दुःखी मन भएको मान्छे ।’
सात वर्ष पुरानो त्यो विषवमन स्मरण गर्दा त ओलीको पछिल्लो टिप्पणी तुष पोखाईमात्र हो । तर यसपटकको उनको अभिव्यक्तिले सहकर्मीप्रतिको उनको सोंचाईको स्तर र हेपाहा प्रवृत्ति सार्वजनिक रुपमै छर्लङ्ग पारेको छ । एमाले र माओवादीको एकीकरणपछि बनेको नेकपामा दुई अध्यक्ष राखियो, ओली र पुष्पकमल दाहाल प्रचण्ड । ओलीले आफूलाई एक नम्बरी अध्यक्षका रुपमा प्रस्तुत गर्दै आए । आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमति थियो दुई नेताबीच । प्रधानमन्त्रीका रुपमा ओलीको आधा कार्यकाल पुरा नहुँदै नेकपाभित्र विवाद चर्कियो । विवाद मिलाउनका लागि प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाइयो, उनले पनि ओलीलाई ५ वर्षै प्रधानमन्त्री चलाउनुस् भनिदिए । तर भोलिपल्टै ओलीले एक टेलिभिजन कार्यक्रममा भनिदिए, ‘एक नम्बरको अध्यक्ष मै हुँ ।’ अर्थात् प्रचण्ड ओलीको अहिलेको परिभाषामा दुत्तीय अध्यक्ष थिए । दुत्तीय अध्यक्ष मतलब ‘मामुली कार्यकर्ता ।’ अहिले विभाजित नेकपाको एउटा समूहको प्रचण्डसँगै संयुक्त अध्यक्ष बनाइएका छन्, माधव नेपाल । माधव नेपाललाई प्रचण्डको ‘मामुली कार्यकर्ता’ को पगरी गुथाएका ओलीका लागि त्यसबेला प्रचण्ड पनि मामुली कार्यकर्ता थिए । कार्यकारी अध्यक्षलाई नै मामुली कार्यकर्ता ठान्ने र त्यसअनुरुप व्यवहार गर्ने ओलीले बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई झन् के ठाने होलान् ?
मूलत नेकपा विभाजनमा ओलीको त्यही हेपाहा प्रवृत्ति प्रधान देखिन्छ । नत्र प्रचण्ड–माधवले पनि कुनै सैद्धान्तिक–वैचारिक प्रश्न उठाएर ओलीको नेतृत्वलाई चुनौति दिएका होइनन् । न त कुनै जनजीविकाका सवालमै उनीहरुबीच अन्तरविरोध थियो । आफ्नो गुटकालाई मन्त्री, मुख्यमन्त्री, राजदूत, संवैधानिक र सरकारी नियुक्तितिरै उनीहरुको बढीजसो ध्यान केन्द्रित थियो । ओलीले त्यसैमा खेले । हेपे । माधव नेपालले आफ्नो अपमान भएको सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन् । प्रचण्ड–झलनाथको अभिव्यक्ति पनि त्यस्तै छ । मुलुकको प्रधानमन्त्रीसमेत भइसकेका शीर्ष नेताहरुलाई नै मामुली कार्यकर्ता ठान्ने ओलीले अहिले आफ्नो गुटमा भेला भएका अन्य नेता तथा आम कार्यकर्तालाई के ठान्छन् ? हनुमान ? सेवक ? हिजमात्रै एक कार्यक्रममा उनले आफ्नो खेमाको सर्वोच्च नेता आफू भएको उद्घोष गरेका छन् । अरु नेताको नामसम्म पनि उच्चारण गरेनन् । ‘मूल नेतृत्वमा म छु, तपाईहरु मेरो पछि लाग्नुस्,’ उनको भनाई थियो ।
पूर्वएमालेतिरकाको त कुरै छाडौं, पूर्वमाओवादीका रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीहरुसमेत पदीय लोभमा परेर ओलीको तस्बिर अंकित गलबन्दी भिरेर उनलाई ‘अग्रगमनकारी राजनेता’ भन्दै भाषण गर्न अभिशप्त छन् । नत्र सारा जगतले बुझेको छ, ओली प्रतिगमन उन्मुख छन् । हिजो ‘अघि बढ ओली बा, हामी तिम्रो साथ छौ,’ भनेर हौस्याउने एक निवर्तमान सांसद हालैको भेटमा अनौपचारिक कुराकानीका क्रममा भन्दै थिए, ‘बाले पार्टी र देश दुवै खरानी बनाउने भए । पार्टी फुटेपछि एकातिर त लाग्नै प-यो, पहिलेदेखि उनकै खेमामा रहेकाले उनीतिरै लागिएको छ । तर बाले ध्वस्त बनाए ।’ केही सन्चारकर्मीले जबरजस्ती ‘शालीन’ भनेर गुथाइदिएको पगरी भिरेका सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवालीलाई यतिखेर पुच्छर लुकाउन हम्मेहम्मे परेको छ । उनीहरु मास्कले नाक–मुखसम्म छोप्न पाएकोमा कोरोना कहरलाई मनमनै धन्यवाद भन्दा हुन् ।
ओली व्यक्तिमात्र रहेनन्, प्रवृत्ति बनिसके । छुद्रता, मैमत्तता, अधिनायकवाद, प्रतिगमन र तानाशाहीको प्रतीक बनिसके । यो प्रवृत्तिलाई बेलैमा परास्त नगरे मुलुकले ठूलो मूल्य चुकाउनु पर्ने छ । जनआन्दोलन–२ का उपलब्धि गुम्ने र मुलुकको राजनीतिक कोर्स नै परिवर्तन हुने खतरा छ । त्यसैले प्रतिगमन, अधिनायकवादविरुद्ध पटक–पटक संघर्ष गरेका नेताहरुले बेलैमा नसोच्ने र ओलीको हनुमान बनेर हौस्याउँदै जाने हो भने उनीहरुकै अस्तित्व पनि संकटमा पर्ने छ । यस बारेमा के विचार छ त मामुली कार्यकर्ताहरु ?