logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • मर्यादित महिनावारी : प्याडमा केन्द्रित जिम्मेवारी र सोच

    मर्यादित महिनावारी : प्याडमा केन्द्रित जिम्मेवारी र सोच

    476
    Shares
    मर्यादित महिनावारी : प्याडमा केन्द्रित जिम्मेवारी र सोच

    वीराटनगर । ग्रामथान २, झोराहाटकी सन्दिपा कार्की कक्षा ७ मा पढ्थिन् । त्यो समय उनलाई महिनावारी हुँदा योनीबाट रगत बग्छ भन्ने बाहेक अरू जानकारी थिएन । कार्की १३ वर्षको उमेरमा स्कुलमा हुँदैमा महिनावारी भइन् ।

    शौैचालय गएको समयमा उनले आफू महिनावारी भएको थाहा पाइन् । उनले महिनावारी भएको कसैलाई पनि भन्न सकिनन् । बरु पेट दुखेको बाहना बनाएर शिक्षकसँग बिदा मागिन् र घरतिर लागिन् ।

    सन्दिपा महिनावारी भएको समयमा नेपाल सरकारले स्थानीय तहमार्फत विद्यालयहरूमा महिनावारी प्याड र विद्यालय नर्सको पनि व्यवस्था गर्ने कार्यक्रम लागु गरिसकेको थियो । विद्यालयमा नर्स पनि थिइन् तर उनले प्याड माग्ने आँट गर्न सकिनन् । न त आफू महिनावारी भएको नर्ससँग नै भनिन् ।

    सन्दिपाको महिनावारीको समयभन्दा वर्षदिनअघि उनकी दिदी पनि महिनावारी भएकी थिइन् । विद्यालयमा नै महिनावारी रगतले दिदीको स्कर्ट भिजेको थियो । उनले प्याड माग्ने आँट नगरेकी पनि होइनन् । एक पिस प्याड त पाइन् उनले । त्यो पहिलो महिनावारी प्याडसँगै नर्सले केही हौसला, यो सामान्य जैविक प्रकृया हो भन्ने सुझाव वा नआत्तिने सल्लाह जस्ता कुराको उनले अपेक्षा गरेकी थिइन् तर पहिलो महिनावारीका कारण आत्तिएकी उनलाई एक पिस प्याड थमाइदिएपछि नर्स कता लागिन् उनले मेसो पाइनन् । उनलाई कति रगत बग्छ भन्ने पनि थाहा थिएन । एक पिस प्याडले विद्यालय छुटेर घरपुग्दासम्म बगेको रगत रोक्न सकेन । अनि भिज्यो महिनावारी रगतले विद्यालयकै ड्रेस ।

    दिदीको त्यो अवस्था देखेका कारण कार्कीले एक पिस प्याडतिर लाग्नुभन्दा घरमा जाने निधो गरेकी हुन् । यो घटना दुई वर्ष अगाडिको हो । अहिले उनी ९ कक्षामा पढ्छिन् ।

    महिनावारी हुँदा नियमित विद्यालय जान्छिन् तर पहिलो महिनावारीेपछिका दुई वर्षसम्म विद्यालयको महिनावारी प्याड प्रयोग गरेकी छैनन् । उनी महिनावारी हुने समय हुन लागेपछि घरबाट नै झोलामा सुतीको कपडा राख्छिन् । सोही कपडा नै महिनावारीको समयमा प्रयोग गर्ने बताइन् ।

    उनले भनिन्, “विद्यालयमा एक पिस मात्र प्याड पाइन्छ ।” साथीहरूको दुःख धेरै देखेको छु । कतिपयलाई एक पिस प्याडले दिनभर पुग्दैन । एक दुई घण्टामा नै भिजिसकेको हुन्छ । फेरि माग्न जाँदा अघि दिएको अब पार्इँदैन भन्छन् । घरबाट प्याड बोकेर आएपनि धेरै विद्यार्थी भएका कारण शौचालय गएर प्याड फेर्न पनि समस्या हुन्छ ।

    कतिपय अवस्थामा त प्याड कहाँ व्यवस्थापन गर्ने समस्या हुन्छ । यसले गर्दा कति साथीहरू महिनावारीको समयमा विद्यालय नै आउँदैनन् किनकि उनीहरूलाई स्कर्टमा रगत लाग्ने हो कि भन्ने चिन्ता हुन्छ । प्याड कहाँ फाल्ने भन्ने चिन्ताले नै पढाइमा ध्यान नै हुँदैन ।’

    “स्कुलमा महिनावारी मर्यादित हुनुपर्ने विषयसँग जोडेर किताबमा भएका पाठहरू बाहेक विद्यालयमा यस बारेमा न छलफल हुन्छ, न शिक्षकले पढाउँछन् । ‘छात्रा र छात्रको छुट्टाछुट्टै ट्वाइलेट भएपनि हामी केटीहरू धेरै छौँ । ट्वाइलेट जानै समस्या हुन्छ, पालो कुरेर मात्र जान पाइन्छ”, उनले भनिन् ।

    सरस्वती माध्यामिक विद्यालय झोराहाटमा अध्ययनरत कार्कीकोे महिनावारीको अनुभवले भन्छ, विद्यालयहरू अझै मर्यादित महिनावारीमैत्री छैनन् । मर्यादित महिनावारीको विषयमा विद्यालयमा जनचेतना जगाउनु त परको कुरा विद्यालयमा सरकारले उपलब्ध गराएको महिनावारी प्याड पनि विद्यार्थीलाई चाहिएको समय र आवश्यकता परेको जति पाउँदैनन् । न त विद्यालय परिसरमा महिनावारी प्याड व्यवस्थापनको सुविधा नै राम्रो छ ।

    छात्राहरूले घरमा भोग्ने महिनावारी विभेद त घटेको छैन । सिकाइको उज्यालो ज्योति छर्ने विद्यालयमा पनि विभेद र हैरानी भोगिरहेका छन् । शिक्षक र छात्रको भन्दा छात्राको शौचालय व्यवस्थित हँुदैन । उक्त विद्यालयको अवस्था पनि त्यस्तै छ । शौचालयको सरसफाइमा पनि ध्यान दिएको हुँदैन, जति सरसफाइ शिक्षकहरूको शौचालयमा हुन्छ ।

    विराटनगरको वर्ष १६ की शर्मिला रसाइली जेठमा विद्यालयको समयमा महिनावारी भइन् । विराटनगरको प्रचण्ड गर्मीमा खलखल मसिनाले सर्ट भिजेको थियो । त्यहीमाथि महिनावारी भएको समय, रगत पेन्टी छिचोलेर स्कर्टसम्म पुगिसकेको थियो । खपिनसक्नुको पेट दुखाइ पनि छ । उनले सबैतिर अन्धकार देखिन् । स्कुलकै एउटा रुखमुनि गएर थचक्क बसिन् ।

    पेट समाएर रुखमुनि बसिरहेकी शर्मिलाले मिल्ने साथीलाई बोलाइन् र महिनावारी भएको कुरा सुनाइन् । उनले सिधै शिक्षकलाई गएर आफ्नो समस्या भन्न सकिनन् । बरु साथीलाई पेट दुखेर बिरामी भएँ, भनिदेउ भनिन् । सोही बमोजिम साथीले बिरामी भएको भनेर शिक्षकसँग भनेपछि शिक्षकले शर्मिलाको घरमा फोन गरिदिए । केही समयपछि शर्मिलाको दाइ आएर घर लगे । महिनावारी हुँदा किशोरी विद्यार्थीहरू शर्मिला जस्तै गरी बिरामी माग्ने थुप्रै उदाहरणहरू छन् ।

    विराटनगरकै १३ वर्षकी स्मृति साह विराटनगरको नाम चलेको संस्थागत विद्यालयमा अहिले आठ÷नौ कक्षामा पढ्दैछिन् । उनी पनि सन्दिपा जस्तै सात कक्षामा हुँदा पहिलो पटक महिनावारी भएकी हुन् तर विद्यालयमा होइन घरमा छँदा पहिलोपटक महिनावारी भएको थियो ।

    उनलाई यति चाहिँ थाहा थियो महिनावारी हुँदा योनीबाट रगत बग्छ तर उनलाई पेटमा हुने दुखाइ, हातखुट्टा कमजोर महसुस हुने लगायतका अन्य समस्याबारे भनिएको थिइन । घरमा हुन नसकेको छलफल विद्यालयमा पनि होला भन्ने उनलाई लागेको थियो तर कक्षा आठ पुग्दासम्म विद्यालयमा महिनावारीको विषयमा केही छलफल नै नभएको उनको अनुभव छ ।

    स्मृति पहिलो पटक महिनावारी हँुदा तीन दिन विद्यालय गइनन् । उनलाई निकै गाह्रो भएको थियो । पेट दुखेको थियो तर विद्यालयमा भन्ने कारण थियो, ज्वरो आयोे । बिदा लिएको तीन दिनपछि विद्यालयबाट सक्ने भए विद्यालय आउनु भनेर फोन नै गएपछि पढ्न जान थालिन् तर उनलाई रगत बग्न रोकिएको थिएन । पढाइमा भन्दा बढ्ता ध्यान त्यही महिनावारीको अप्ठ्यारोमा हुन्थ्यो त्यो समय उनको । “सरकारी विद्यालयमा त बरु बिदा मिल्छ हाम्रोमा त बिदा नै दिदैनन् । पढाइमा ध्यान नगए पनि पेट दुखे पनि पढ्न छोड्न पाइँदैन ।” उनले भनिन्,

    रगत नै नबगेको भएपनि एउटा महिनावारी प्याड चार घण्टाभन्दा बढी लगाउनु स्वास्थ्यको लागि राम्रो हुँदैन भन्ने स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले बताउने गरेका छन् तर विद्यालयमा कम्तीमा ७ देखि ८ घण्टा विद्यार्थीले बिताउँछन् । एउटा प्याड लगाएर आठ घण्टासम्म प्याड नफेरि बस्न पनि समस्या हुन्छ । प्याड फेर्न गयो फाल्ने ठाउँ समेत पाइँदैन ।

    उनले भनिन्, “विद्यालयमा प्याड फाल्न पनि समस्या छ । कति पटक त मैले घरमा बोकेर ल्याएको छु ।” ‘कति तनाव’ हुन्छ । कसलाई भन्नु । महिनाको ४÷५ दिन त पढाइमा ध्यान नै हुँदैन । पढ्न जानै नपरेहुन्थ्यो जस्तो लाग्छ । त्यही पनि स्कुल त जानुपर्छ ।

    हरेक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्ति अनिवार्य तोक्नुपर्ने नीति छ तर उनको विद्यालयमा विद्यार्थीले सम्पर्क गर्ने, आफ्ना कुरा राख्ने तोकिएको शिक्षक पनि छैनन् । उनले थपिन्, “कम्तीमा पनि समस्या परेको समयमा भन्न सक्ने एकजना शिक्षक र प्याड व्यवस्थापन गर्ने ठाउँ मात्र भएपनि हामी छात्रालाई महिनावारीको समयमा निकै सहज हुने थियो जस्तो लाग्छ । सरकारी स्कुलमा प्याड निःशुल्क छ । हाम्रो निजीमा त त्यो पनि छैन् ।”

    नमुना भनिएका विद्यालयमा समेत छैन महिनावारी प्याड व्यवस्थापन गर्ने व्यवस्था

    विराटनगरको पोखरीया माध्यामिक विद्यालय सिकाइ र नतिजामा पनि अब्बल विद्यालयको रूपमा चिनिन्छ । हरेक वर्ष विद्यार्थीको उत्तीर्ण हुने दर राम्रो आउँछ तर किशोरी विद्यार्थीलाई पर्न सक्ने जैविक समस्याको व्यवस्थापकीय पाटोमा बेखबर जस्तै छ । विद्यालयमा मर्यादित महिनावारीको विषयमा छलफल तथा सिकाइ हुनु त परको कुरा महिनावारी प्याड व्यवस्थापन गर्ने ठाउँ पनि छैन । छात्राहरूले प्रयोग गर्ने शौचालय दुर्गन्धित छ ।

    शिक्षकले प्रयोग गर्ने शौचालय अलि सफा देखिए पनि विद्यार्थीहरूले प्रयोग गर्ने शौचालयको सफाइमा नै फरक छ । झन् छात्राहरूको शौचालयमा महिनावारी फाल्ने एउटा डस्टबिन समेत शौचालयमा छैन । महिनावारी भएका छात्राहरूलाई महिनावारी प्याड फेरेर फोहोर प्याड गोजीमा राखी कक्षामा लगेर ब्यागमा कोच्नुपर्ने अवस्था छ । विद्यालय पढ्न पुगेका नानीहरूलाई यो भन्दा सकस के होला !

    पोखरीया माविमा कक्षा १० मा पढ्दै गरेकी एक छात्रा प्रतिमा कार्की (नाम परिवर्तन) ले डस्टबिन नहुँदा कति साथीहरूले शौचालयमा त्यतिकै प्याड फालेर हिँड्नु पर्ने बाध्यता रहेको बताइन् । उनले भनिन्, “कतिले त बोकेर लगेर बाटोमा फाल्ने गरेका छन् ।”

    उनीहरूले महिनावारी मर्यादित हुनुपर्छ भन्ने सुनेकै छैनन् । न त महिनावारीको समयमा पनि आफ्नो आत्मसम्मान गर्नु नैसर्गिक अधिकार हो भन्ने कुरा घर वा विद्यालयबाट सिक्न पाएका छन् । उनले भनिन्, “मर्यादित महिनावारीको बारेमा त भर्खर तपाईँको मुखबाट सुन्दै छु । महिनावारी चक्रको बारेमा थोरै पढाइ हुन्छ । कोर्समा भएको कुरा त्यति नै हो ।”

    उनीसँग मर्यादित महिनावारीको विषयमा प्रश्न गर्दा मर्यादित शब्दमा नै उनको बुझाइ थिएन । आत्मसम्मान पनि वा महिलाका मर्यादा पनि महिनावारीसँग जोडिएको हुन्छ भन्ने कुरा उनीहरूले अहिलेसम्म पनि थाहा पाउन सकेका छैनन् । जुन अवस्थामा प्याड फेरेपछि लुकाएर घरमै लैजाने वा बाटोमा फाल्नुपर्ने अवस्था हुन्छ, त्यसबाट स्वयंको आत्मसम्मानमा चोट परिरहेको कुरा मनोवैज्ञानिक रूपमा बुझाउने पनि कोही छैन ।

    विद्यालयले महिनावारीको जिम्मेवारी भनेको धेरैमा प्याडको व्यवस्था गरिदिनुसम्म हो भन्ने बुझेका छन् । विद्यार्थीलाई त्यही प्याड प्रयोग गरिसकेपछि उचित फाल्ने ठाउँको व्यवस्था वा उनीहरूले सजिलोसँग फाल्न मिल्ने ठाउँको व्यवस्थापन गरिदिनुपर्छ भन्ने कुरा पनि वास्ता गरेको छैन ।

    उनले सुनाइन्, “पहिलो पटक विद्यालयमै महिनावारी हँुदा धेरै पीडा भोगियो । अझै पनि महिनावारी भएको समयमा त म दुई दिनसम्म त विद्यालय नै आउँदिन ।” ट्वाइलेट जान पनि समस्या हुन्छ र प्याड व्यवस्थापन गर्ने ठाउँ पनि छैन । कहिलेकाहीँ प्याड राम्राोसँग राख्दाराख्दै पनि रगत स्कर्टमा लाग्न सक्छ । त्यस्तो अवस्थामा चेन्जिङ रुम पनि नभएका कारण विद्यालयमा महिनावारीको समयमा छात्राहरूलाई निकै समस्या हुने गरेको उनले बताइन् ।

    पोखरीया मात्र होइन । पढाइमा अब्बल भनिएको विराटनगरकै आदर्श माविको शौचालयको अवस्था पनि नाजुक छ । शौचालयमा पसिसक्नु छैन । दुर्गन्ध नै दुर्गन्ध छ । विद्यालयमा प्याडबक्सको व्यवस्था भने गरिएको छ तर प्याड भरिएर डङ्गुर फोहोर थुप्रिदा समेत व्यवस्थापनमा विद्यालयले ध्यान दिन सकेको छैन् । विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल फोहोरको गाडीमा प्याडहरू फ्याँक्ने गरेको तर फोहार लिने गाडी समयमा नआउँदा व्यवस्थापनमा समस्या भएको बताउँछन् । ‘हामीले महिनावारी प्याड कसरी व्यवस्थापन गर्ने सोचिरहेका छौँ तर मर्यादित महिनावारीको विषय चाहिँ हामीले छुटाएको विषय रहेछ । यो विद्यालयमा छलफल चलाउनुपर्ने विषय रहेछ । अब हामी छलफलको विषय बनाउँछौँ ।’

    विद्यालय सिकाइको थलो हो, सभ्यता निर्माण गर्ने केन्द्र पनि हो । विद्यालयले ज्ञान आर्जन र व्यवहार परिवर्तनमा शिक्षक र विद्यार्थीको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ तर विद्यालयहरूले मर्यादित महिनावारीको पाटोलाई छाडेर भनिएको अब्बल सिकाइमा महत्वपूर्ण पाटो छुटेको छ ।

    जनता नमुना माध्यामिक विद्यालय, विराटनगर २, का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज विक्रम शाह सामान्य रूपमा लिइने गरेको महिनावारीले छात्राहरूमा कत्ति ठुलो असर हुँदोरहेछ भन्ने कुरा आफूले भर्खरै बुझेको बताउँछन् ।

    “हामीले छात्राहरू महिनावारी हुँदा कस्तो कस्तो विषयमा ध्यान दिनुपर्ने रहेछ भन्ने कुराको हेक्का नै अहिलेसम्म गरेका रहेनछौँ । छात्रा शौचालयमा सामान्य डस्टबिन राख्ने काम बाहेक अन्य कुराको बारेमा सोचेका नै थिएनौँ । ” उनले भने, “मर्यादित महिनावारीको विषय छुटाएर हामीले सिकाइ उपलब्धि हासिल गर्न नसक्ने रहेछौँ । अबदेखि विद्यालयमा मर्यादित महिनावारीको विषयलाई छलफलमा ल्याउने र जनचेतनाका कुराहरूलाई प्राथमिकतामा राखेर काम गर्ने कोसिस गर्नेछौँ ।”

    आफ्नो विद्यालयमा मर्यादित महिनावारीको विषयलाई छलफलमा ल्याउन शिक्षक शिक्षिकासँग समन्वय गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

    व्यवसायी समेत रहेका शाहले स्थानीय तहहरूले पनि मर्यादित महिनावारीको विषयलाई प्राथमिकतामा राखेर विद्यालय नर्स पठाउँदा उनीहरूलाई जानकारी गराएर विद्यालयमा पठाउनुपर्ने बताए । विद्यालयमा विद्यार्थीले नर्ससँग मात्र पनि आफ्ना समस्या खुलेर भन्न सके मात्र पनि समस्या नहुने उनको भनाइ छ । उनले भने, “यहाँ त विद्यालय नर्ससँग पनि छात्राहरूले आफू महिनावारी भएको कुरा भन्दैनन् । बिरामी भएको भनेर बरु घर जान्छन् ।”

    के हो मर्यादित महिनावारी ?

    मर्यादित महिनावारी भनेको महिलाहरूको महिनावारी प्रक्रियालाई स्वस्थ, सुरक्षित, र सम्मानजनक तरिकाले व्यवस्थापन गर्न सक्ने अवस्था हो । यसले महिलाहरूले महिनावारीको समयमा स्वच्छ र सुरक्षित सामग्रीहरू प्रयोग गर्न पाउनु, उचित शौचालय सुविधा उपलब्ध हुनु र महिनावारी भएको समयमा सामाजिक तथा सांस्कृतिक अवरोधहरूविना स्वतन्त्रतापूर्वक काम गर्न र आफ्नो दैनिक जीवनयापन गर्न पाउनु पर्ने अवस्थालाई जनाउँछ ।

    नेपालमा, महिनावारी व्यवस्थापन सम्बन्धी थुप्रै चुनौतीहरू छन् । जस्तैः दुर्गम क्षेत्रका महिलाहरूसँग शौचालय र स्वच्छ सामग्रीहरूको पहँुचको अभाव, महिनावारीबारे खुल्ला छलफलको कमी र यस सम्बन्धमा भएका कुप्रथाहरू (जस्तैः छाउपडी प्रथा) जसले महिलाहरूलाई एक्ल्याउने र अपमानजनक स्थितिमा पु¥याउने गर्छ । मर्यादित महिनावारीको अवधारणा यी समस्याहरूलाई सम्बोधन गर्ने प्रयास हो, जसले महिलाहरूलाई स्वाभाविक, सुरक्षित र सम्मानजनक वातावरणमा महिनावारी व्यवस्थापन गर्न सघाउँछ ।

    मर्यादित महिनावारीलाई विद्यालयले गम्भीरतापूर्वक लिनुपर्छ

    विद्यालय सिकाइको केन्द्र हो । त्यसैले मर्यादित महिनावारी सवाललाई विद्यालयहरूले गम्भीरतापूर्वक लिनुपर्ने महिला अधिकारकर्मी निलम ढुङ्गेलको धारणा छ । “मर्यादित महिनावारीको कुरा शिक्षण संस्थामा हुनुपर्छ, किनभने धेरैजसो किशोरीहरूलाई आफ्नो महिनावारी सम्बन्धी स्वास्थ्य र स्वच्छताबारे जानकारी हुँदैन । ” उनी भन्छिन्, “यदि यो विषय विद्यालयस्तरमा नै समावेश भए, उनीहरूको आत्मबल पनि बढ्ने छ ।”

    कोशी प्रदेशकी प्रदेश सांसद शीला दीक्षित कार्की मर्यादित महिनावारीको बारेमा शैक्षिक संस्थाहरूले खुलेर छलफल गर्नु आवश्यक रहेको बताउँछिन् । उनले स्कूलमा छलफल हुँदा किशोरीहरूमा आत्मविश्वास, स्वास्थ्यप्रति सजगता, र लैङ्गिक समानताको भावना विकास हुने बताइन् ।

    कार्कीले भनिन्, “धेरै ठाउँमा महिनावारीलाई अझै पनि सामाजिक कलङ्कको रूपमा हेरिन्छ । विद्यालयमा छलफल हुँदा विद्यार्थीहरूले यसलाई सामान्य र प्राकृतिक प्रक्रिया हो भनेर सिक्नेछन् जसले महिनावारीसँग जोडिएका गलत धारणा हटाउन मद्दत पुग्छ र मर्यादित विषय स्थापित भएर जान्छ ।”

    महिनावारीलाई मर्यादित बनाउनको लागि प्रदेश सरकारले पनि नीति बनाउन आवश्यक रहेको उनले बताइन् । केही समययता मात्रै बहसमा आएको विषय भएका कारण अब आफूले पनि यस विषयलाई उठान गर्ने उनको भनाइ छ । उनले भनिन्, “हामीले सामान्य मानेको विषयले हामी आफैँ कति हिंसामा परेका रहेछौँ भन्ने कुरा नबुझेका कारण आज हामी पछि परेका छौँ । त्यसैले मर्यादित महिनावारीको विषय सदनको पनि विषय बन्नुपर्छ ।”

    महिनावारी एक प्राकृतिक जैविक प्रक्रिया हो जसको माध्यमबाट महिलाहरूको शरीर प्रजनन्का लागि तयार हुन्छ तर महिनावारीको बारेमा अझै पनि नेपाल लगायत धेरै समाजमा खुलेर कुरा गर्न सहज छैन । महिनावारीको विषयलाई गोप्य र लाजमर्दो रूपमा लिइन्छ, जसले गर्दा किशोरी र महिलाहरूले महिनावारीका क्रममा भोग्ने समस्याहरूको बारेमा जानकारी पाउन र सही व्यवस्थापन गर्न कठिन हुन्छ । यस अवस्थामा शैक्षिक संस्थाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

    पत्रकार जुनु भट्टराईका अनुसार महिनावारीका बारेमा धेरै किशोरी तथा महिलाहरूले शारीरिक र मानसिक रूपमा के हुँदैछ भन्ने स्पष्ट बुझ्न सक्दैनन् । महिनावारीको बारेमा सही जानकारी नहुँदा उनीहरूमा डर, भ्रम, र तनाव उत्पन्न हुन्छ । यो अवस्था, विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूमा धेरै देखिन्छ । शैक्षिक संस्थाहरूले विज्ञानमा आधारित, तथ्यपरक, र खुला छलफल गरी उनीहरूलाई सही जानकारी दिन सक्छन् जसले उनीहरूको स्वास्थ्य र आत्मविश्वास सुधार गर्न मद्दत पु¥याउँछ ।

    उनले भनिन्, “महिनावारीको समयमा सरसफाइको सही व्यवस्था नहुँदा धेरै महिलाहरू सङ्क्रमणको शिकार हुन सक्छन् । विशेषगरी ग्रामीण क्षेत्रमा महिनावारीका लागि सुरक्षित तथा सफा सामग्रीको अभावले स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । शैक्षिक संस्थाहरूले महिनावारी व्यवस्थापनका बारेमा शिक्षा दिन र सुरक्षित अभ्यासहरू सिकाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उदाहरणका लागि, सरसफाइको महत्व, सुरक्षित प्याड वा कपको प्रयोग, र वातावरणमैत्री समाधानका बारेमा जानकारी दिन सकिन्छ ।”

    नीति नियम छ, कार्यान्वयन छैन्

    सङ्घीय सरकारले सन् २०१७ मा मर्यादित महिनावारी नीति (मस्यौदा) पाठ्यक्रममा मर्यादित महिनावारी ल्यायो । सन् २०१९ मा सरकारी विद्याललयमा महिनावारी प्याड निःशुल्क वितरण गर्ने कार्यक्रममा ल्याइयो । राष्ट्रिय महिनावारी नीति २०७५ को एउटा बुँदामा भनिएको छ “राष्ट्रिय शिक्षा नीतिले मर्यादित महिनावारीका पक्षहरू समावेशी रूपमा लागु हुनेगरी सरकारी तथा नीजि विद्यालयहरू एवं अनौपचारिक शिक्षामा समावेश गर्नेगरी परिमार्जन गरिनेछ ।”

    त्यस्तै विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका २०७६ को नर्सको काम कर्तव्यमा “महिनावारीसँग सम्वन्धित विभिन्न किसिमका समस्या समाधान गर्न किशोरीहरूलाई सहयोग गर्ने, किशोरीहरूको लागि निःशुल्क महिनावारी प्याड वितरण सम्बन्धी कार्यहरू सञ्चालन र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउने । स्वास्थ्यका कारणले गयल भएका विद्यार्थीहरूको अभिलेख राखी अभिभावकसँग आवश्यक छलफल गर्ने । ”

    तर, विद्यालयका नर्सहरूले मर्यादित महिनावारीको पाटोलाई छलफलमा ल्याएका छैनन् । मर्यादित महिनावारीको बारेमा विद्यालयमा छलफल र बहस नै गर्न सकिरहेका छैनन् । महिनावारी भएका छात्राहरू बिरामीको निहुँ गरेर बिदा मागिरहेका हुन्छन् ।

    मिल्स माध्यामिक विद्यालयकी विद्यालय नर्स इन्दिरा घतानी महिनावारी विषयमा विद्यार्थीहरू खुलेर बोल्न नसक्ने बताउँछिन् । विगत दुई वर्षदेखि काम गर्दै आएकी उनी हामी महिनावारी चक्रको बारेमा कुरा गर्छौ तर मर्यादासँग जोडिएर गर्ने छलफल भने छुटाएको स्वीकार्छिन् । विद्यालयमा पहिला त अरू जसैगरी जनचेतनाका पोस्टरहरू राख्नुपर्छ र बहसलाई अगाडि ल्याउन सकियो भने प्रभावकारी हुने उनको भनाइ छ । मर्यादित महिनावारीको विषय भर्खरै छलफलमा आएकाले विषय स्थापित हुन अझै समय लाग्ने घतानीले बताइन् ।

    विद्यालयमा नर्सले धेरै किसिमको काम गर्नुपर्ने भएकाले नयाँनयाँ विषय बहसमा ल्याउन समय लाग्ने उनको भनाइ छ । “विद्यालयमा त्यो खालको वातावरण पनि छैन । हेर्दा सुन्दा सामान्य विषय छ । ” उनले भनिन्, “यसले कत्ति असर गर्छ भन्ने कुरा सबैले बुझेका छैनन् । मर्यादित महिनावारीको विषयलाई बहसमा ल्याएर विद्यार्थीलाई जनचेतना जगाउनुअघि विद्यालयका व्यवस्थापन समिति, प्रशासन तथा शिक्षक शिक्षिकालाई मर्यादित महिनावारीको बारेमा बुझाउनुपर्छ । अनि मात्र विद्यालयमा यसले बहसले प्राथमिकता पाउँछ ।”

    महिनावारी प्याडमा अमर्यादित रजाइँ

    मोरङको धनपालथान गाउँपालिकाले जथाभावी प्याड खरिद गरेर वितरण गरेको भन्दै महालेखाको प्रतिवेदन २०८१ ले प्रश्न उठाएको छ । स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ को दफा ४ मा पालिकाले खरिद गरेको स्यानिटरी प्याड गुणस्तरमा कमी नआउने गरी भण्डारण गर्नुपर्ने उल्लेख छ । साथै दफा ५ मा स्यानिटरी प्याड, त्रैमासिक, चौमासिक वा अर्धवार्षिक रूपमा वितरण गर्न सकिने उल्लेख छ ।

    पालिका भित्रका सामुदायिक विद्यालयहरूमा कक्षा ६ भन्दा माथिका छात्रा विद्यार्थीहरू २०८० जना रहेका छन् । महालेखाको प्रतिवेदन २०८१ को प्रतिवेदन अनुसार पालिकाले नित्या श्री सप्लायर्स विराटनगरबाट २२ लाख २७ हजार ८६६ रुपैयाँ (मूल्य अभिवृद्धि कर समेत) मा खरिद गरेको छ । गाउँपालिकाले विगतको खपतलाई आधार मानी समयमै उचित परिमाणमा खरिद गनुपर्नेमा वर्षान्तमा खरिद गरी विद्यालयलाई विद्यार्थीको संख्याको आधारमा वितरण नगरी सबै विद्यालयलाई विभिन्न दरले भरपाई मार्फत वितरण गरेको छ । यसरी वितरण गर्दा वास्तविक माग भएको ठाउँमा प्याडको अभाव हुने तथा माग नहुने ठाउँमा प्याडको अनावश्यक भण्डारण हुने सम्भावना रहने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै विराटनगर महानगरका विद्यालयले प्याड खरिद गर्दा न्यूनतम मापदण्ड पनि पालना नगरेको महालेखाको प्रतिवेदन २०८१ मा उल्लेख छ ।

    सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१(१) मा सार्वजनिक निकायले बीस लाख रुपैयाँ भन्दा बढी लगत अनुमान भएको निर्माण कार्य, मालसामान वा जुनसुकै सेवा खरिद गर्नु पर्दा खुल्ला बोलपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने व्यवस्था छ ।

    महालेखाको प्रतिवेदनमा भनिएको छ— महानगरले आफ्नो क्षेत्र भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि स्यानिटरी प्याड खरिद गर्ने सन्दर्भमा स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ को दफा २० (६) बमोजिम छात्राहरूको संख्या यकिन गरी कार्यविधि बमोजिम रकम निकासा गर्न सक्ने व्यवस्था बमोजिम पालिकाले ५६ वटा सामुदायिक तथा ३ वटा धार्मिक विद्यालयको खातामा गो.भौ.नं. २९८।२०८०।०२।२९ बाट रू.६३८१८४०। निकासा गरेको देखियो । विद्यालयहरूले पेश गरेको विल भरपाई चेक गर्दा अधिकतम ७७.९७ तथा न्यूनतम मूल्य ३७.२९ (भ्याट सहित) सम्ममा खरिद गरेको देखिन्छ ।

    प्रतिवेदनले थप भनेको छ, “विद्यालयहरूले प्याड खरिद गर्दा सोझै खरिद गर्ने तथा कार्यविधिमा तोकिए बमोजिम न्यूनतम मापदण्ड समेत मेल खाएको देखिएन । ”खरिद प्रक्रियालाई मितव्ययी, व्यवस्थित, तथा गुणस्तरीय बनाउन पालिकाले वार्षिक आवश्यकताको यकिन गरी बोलपत्रको माध्यमवाट प्याड खरिद शिक्षा तथा मानव विकास केन्द्रद्वारा प्रकासित कार्यक्रम कार्यान्वयन पुस्तिका, २०७९/०८० को क्रियाकलाप नं.२.७.१३.२३ बुँदा (१) मा सामुदायिक विद्यालयहरूका कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने छात्राहरूलाई निःशुल्क स्यानिटरी (स्वास्थ्य र सरसफाइ सम्बन्धी) प्याड वितरण गरिने उल्लेख छ । साथै बुँदा १ (घ) मा कक्षा ६ भन्दा तल्लो कक्षामा अध्ययन गर्ने महिनावारी भएका छात्राहरूलाई पनि यो व्यवस्था अनुसार प्याड उपलब्ध गराउन सकिने उल्लेख छ ।

    महालेखा प्रतिवेदन अनुसार “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९ को नियम २९(५) बमोजिम सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्ने बिल, भरपाई, प्रमाण र कागजात संलग्न हुनु पर्ने हुन्छ । गाउँपालिकाले शिक्षा तथा मानव विकास केन्द्रद्वारा प्रकाशित कार्यक्रम कार्यान्वयन पुस्तिका, २०७९/०८० को क्रियाकलाप नं.२.७.१३.२३ मा सामुदायिक विद्यालयहरूका कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिने प्रावधान अनुसार देहायबमोजिमको विद्यालयलाई स्यानिटरी प्याड खरिद गर्न विद्यालयको खातामा रकम निकास गरेकोमा विद्यालयले निकासा भएको रकमभन्दा कम रकमको खरिद बिल पेश गरेको देखियो ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend