पुस २० काठमाडौं, नेकपा ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुर्सी र सोफाबाहेक केही नहेरेको आरोप लगाएका छन् ।
आइतबार ओली पक्ष नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्तालाई कार्की ब्याङकेटमा सम्बोधन गर्दै ज्ञवालीले पार्टीको बैठकमा प्रचण्डल कुर्सीमात्र हेरेको आरोप लागाएका हुन् । उनले बैठक केमा अल्झियो ? भनी प्रश्न गर्दै भनेका छन् ‘कुर्सी की सोफा ? कुर्सी अगाडि की पछाडि ? कुर्सी को रंग कस्तो ?’
अध्यक्ष ओलीको एउटा महाधिवेशनबाट अर्को महाधिवेशनमा गएर नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट मार्गचित्र भइरहेको अवस्थामा पनि उनको कुरा कसैले नसुनेको ज्ञवालीले उल्लेख गरे । पुस ४ गते केपी ओली प्रचण्ड निवास खुमलटार गएर एकताको विषेश महाधिवेशन गरौँ, एकता माहाधिवशेन गरे आफूले पद त्याग गर्न तयार रहेको बताउँदा पनि प्रचण्डले नमानेको उनको दाबी थियो ।
प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था किन आएको हो भन्दै उनले प्रश्न गरे, ‘देशले ऋणात्मक आर्थिक अवस्था भएका बेला नेपालले ७ प्रतिशत आर्थिक बृद्धि हासिल गरेका कारण राजीनामा दिनुपर्ने हो ?’ उनले भने– ‘सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानीसहितको नक्सा जारी गरेका कारण राजीनामा दिनुपर्ने हो ?’
ज्ञवालीले महाभारतको कथा स्मरण गरी पाण्डवहरुले युद्ध रोक्न ७ गाउँ दिनु भन्दा दुर्योधनले एउटा सियोको टुप्पो पनि दिन्न भन्दा युद्ध भएको र प्रचण्डको हठका कारण अहिलेको यो अवस्था आएको पनि बताए । ज्ञवालीले अचानक अविश्वासको प्रस्ताव ल्याउन लागेपछि पार्टी जोगाउन ओलीले बाध्य भएर संसद विघटन गरेको पनि बताए ।