नयाँ दिल्ली । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले आइतबार कोरोना भाइरसविरुद्धको कोभ्याक्सिन खोपलाई अनुमति दिएको थियो । सरकारले यससँगै कोभिसिल्डको अर्को खोपलाई पनि स्वीकृति दियो । तर सरकारले खोप प्रयोगमा अनुमति दिएपछि यो निर्णयमा विवाद आएको छ ।
सरकारको निर्णयलाई लिएर स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।
भारत बायोटेकले बनाएको कोभ्याक्सिनको तेस्रो चरणको ट्रायल अझै जारी छ र प्रभावकारीता सम्बन्धी तथ्यांक उपलब्ध छैन । भारतका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. जयप्रकाश मुलयिले सरकारको यो कदमलाई निकै हतारमा गरिएको सहमति भनेका छन् । भारत सरकारको यो निर्णयको विपक्षी दलका नेताहरु विरोध गरेका छन् ।
भारतीय नेता अखिलेश यादवदेखि कांग्रेस नेता शशि थरुरले केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनको आलोचना गरेका छन् ।
स्वास्थ्यमन्त्री हर्षवर्धनले ‘यस्तो गम्भीर विषयलाई राजनीतिकरण गर्नु लज्जास्पद भएको बताएका छन् । शशि थरुर, अखिलेश यादव र जयराम रमेशले कोभिड–१९ को खोप अनुमति दिन विज्ञान समर्थित प्रोटोकल अनुसरण गरेको छ । यसलाई बदनाम नगर्नुहोस् । उठ्नुहोस र महसुस गर्नुहोस तपाईं केवल आफैलाई बदनाम गर्दै हुनुहुन्छ ।’
एम्स दिल्लीका निर्देशक डा. रणदीप गुलेरिया कोभ्याक्सिनलाई ब्याकअप भ्याक्सिनको रुपमा लिन्छन् । कोभ्याक्सिन कोरोना भाइरसको नयाँ स्ट्रेनमा प्रभावकारी साबित हुने दावी गरिएको छ । भारतमा औषधि प्रयोगको निगरानी गर्ने धेरै गैर–सरकारी संस्थासहित अखिल भारतीय ड्रग एक्सन नेटवकले सरकारको यस कदमले स्तब्ध पारेको बताएको छ ।
क्लिनिकल परीक्षणको तथ्यांक आउनुभन्दा पहिले कोभ्याक्सिनलाई स्वीकृति दिनु एउटा स्तब्ध पार्ने कदम हो । सन् २१ सेप्टेम्बर २०२० मा प्रकाशित गरिएको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनको ड्राफ्ट गाइड लाइनको पनि उल्लंघन हो । केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले पिआइबीको तर्फबाट जारी गरेको प्रेस विज्ञप्तिमा कोभ्याक्सिन कस्ता व्यक्तिलाई दिइने भनेर केही स्पष्ट उल्लेख गरेको छैन । भारत बायोटेकको खोपको तेस्रो चरणको परीक्षण २५ हजार आठ सय र २२ हजार पाँच सय मानिसमा लगाइएको छ र यसबाट उपलब्ध तथ्यांकका अनुसार यो खोप सुरक्षित रहेको सरकारको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले सरकारले भनेझैं खोप परीक्षणको नतिजा सकारात्मक छ भने तथ्यांक सार्वजनिक गर्न किन हिच्किचाइरहेको भनेर प्रश्न गरेका छन् ।
भारतमा आपतकालीन प्रयोगका लागि कोभिसिल्ड र कोभ्याक्सिनलाई अनुमति दिएको थियो । कोभ्याक्सिन भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)सँग मिलेर विकास गरिएको खोप हो ।
कोभिसिल्ड अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनकासँग मिलेर विकास गरेको खोपको हो । यो खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा उत्पादन गरेको हो । कोभ्याक्सिन भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)सँग मिलेर विकास गरेको खोप हो । अक्सफाेर्डले विकास गरेकाे खाेप भएका कारण काेभिसिल्डप्रति अलि विश्वस्त देखिएका छन् ।