काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आज पनि बयान हुने भएको छ ।
सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेको बयान हिजोदेखि सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान ३ घण्टासम्म चलेको थियो । हिजो बयान नसकिएकाले लामिछानेको बाँकी बयान आज हुनेछ ।
सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन ।
कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।
लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।