काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक कार्यक्रमहरु उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न नसकेको गुनासो गरेकी छन् ।
शनिबार त्रिभूवन विश्वविद्यालयद्वारा दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भौतिक पूर्वाधारको सिमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयहरुलाई प्राथमिकिकरण गर्न नसक्नु जस्ता विषयहरु विश्वविद्यालयको विकासका लागि बाधक बनेको बताइन् ।
उनले विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रहरुमार्फत अनुसन्धानका कामहरु गरिरहेको बताइन् । उनले विश्वविद्यालयसँग थुप्रै उपलब्धिहरु हुँदाहुँदै पनि केही चुनौतिहरु रहेको र त्यसको सामना गरी समाधानका व्यवहारिक प्रयत्नहरु गर्न सक्नुपर्ने बताइन् ।
उनले उपाधि हाँसिल गरेपनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न नसकिरहेको भन्दै विदेशलाई पहिलो रोजाई बनाउँदै पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको बताइन् ।
उनले भनिन्, ‘त्रिभूवन विश्वविद्यालयले ज्ञान, सीप र नवप्रर्वनमा जोड दिँदै एक अविचलित संस्थाको रुपमा आफूलाई स्थापित गरिरहेको छ । व्यवस्थापन, शिक्षा, मानविकी, विज्ञान, कानून, इन्जिनियरिङ, चिकित्सा, कृषि, वनविज्ञानजस्ता विविध विषयहरुमा स्नातकदेखि डाक्टरीसम्मका कार्यक्रमहरु मार्फत शिक्षा प्रदान गरिरहेको छ ।
विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रहरुमार्फत अनुसन्धानका कामहरु गरिरहेको छ । विश्वविद्यालयसँग थुप्रै उपलब्धिहरु हुँदाहुँदै पनि केही चुनौतिहरु छन् । जसलाई हामीले सामना गरी समाधानका व्यवहारिक प्रयत्नहरु गर्न सक्नुपर्दछ ।
विश्वविद्यालयका स्नातक उपाधि प्राप्त गरेका विद्यार्थीसँग व्यवहारिक ज्ञान र रोजगारीका अवसरहरुको अभाव छ । उपाधि हाँसिल गरेपनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न सकिरहेका छैनन् । विदेशलाई पहिलो रोजाई बनाउँदै पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको छ ।
यस्तो अवस्था हुनुमा हाम्रा शैक्षिक कार्यक्रमहरु वृहत रुपमा भएपनि उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्नसकेका छैनन् । भौतिक पूर्वाधारको सिमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयहरुलाई प्राथमिकिकरण गर्न नसक्नु जस्ता विषयहरु विश्वविद्यालयको विकासका लागि बाधक बनेका छन् ।’
मन्त्री भट्टराईले विश्वविद्यालयका चुनौतिहरु समयमै सुधार गर्नुपर्ने बताइन् । चुनौतिका रुपमा देखापरेका विषयलाई सुधार गर्नसकेमात्रै विश्वविद्यालयको उचाईलाई जीवित राख्नसक्ने बताइन् । शैक्षिक कार्यक्रमहरु रोजगार क्षेत्र र बजारको मागअनुरुप सान्दर्भिक बनाउने सुनिश्चितता गर्न सक्नुपर्ने उनले बताइन् ।