कुराले चिउरा भिज्दैन भने जस्तै कुराले मात्र देशभक्ति हुँदैन, कुराले मात्र लगानी हुँदैन, काम गर्नुपर्छ भन्ने जल्दोबल्दो उदाहरण हुन् व्यवसायी अर्जुनकुमार श्रेष्ठ । नेपाल यस्तो समस्यामा छ, यहाँ लगानी गर्न गाह्रो छ । तैपनि, नेपाललाई माया गरेर केही गर्छु भनेर भर्खरै मात्र १ अर्ब २५ करोड रुपैयाँ लगानीमा उनले ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको स्थापना गरेका छन् ।
कम्पनीमा अहिले एक सय जनाभन्दा बढीले रोजगारी पाएका छन् । प्रारम्भिक चरणमा तीन दर्जनभन्दा बढी औषधी उत्पादन गरेर कम्पनी सुरु गरेका श्रेष्ठले उद्योगको क्षमता बढाएर धेरैभन्दा धेरै औषधी उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् ।
गैरआवासिय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्षसमेत रहेका श्रेष्ठले विदेशी पासपोर्ट छोडेर नेपाली पासपोर्टलाई आत्मसात् गर्दै अहिले नेपालमा व्यवसाय गरिराखेका छन् । उनी बेल्जियममा २० वर्षभन्दा बढी बसे र अब नेपालमै भविष्य खोज्ने, देख्ने र देखाउने मार्गमा छन् । देशभक्तिको ज्वलन्त उदाहरण बनेका श्रेष्ठले ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ मा व्यक्त गरेका अनुभव, संघर्ष र प्रेरणाका कुराहरुको सम्पादित अंशलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
मेरो जीवनको ३० वर्षसम्म मैले नेपालमा बसेर काम गरेँ । मलाई अष्ट्रेलियाको युनिभर्सिटीले बोलायो म गइँन । म युरोप गएँ तर त्यहाँ बसिन फर्केर आएँ । कुनै समय कालखण्डमा यस्तो परिस्थितिको सिर्जना भयो, बाध्यात्मक अवस्थामा सन् २००४ देखि बेल्जियममा बस्नुपर्ने भयो । तर, मेरो मनमा भने नेपालमा नै रहेर केही गर्ने भन्ने हुटहुटी थियो ।
म बेल्जियम गएको एक वर्षमा नै व्यवसाय गर्ने अवसर पाएँ जहाँ मेरो माहिलो दाजुको कारणले गर्दा केही सहज भयो र त्यो अवसर प्राप्त गरेँ । त्यो समयमा नेपाली व्यवसायी संघको अध्यक्षको रुपमा पनि म कार्यरत थिएँ । त्यतिबेला नेपालीहरुको पहिचान भनेको नेपालीहरु इमान्दार र मेहनती हुन्छन् भन्ने मात्र थियो । मलाई त्यो कुराले निकै छोयो । त्यो कुराले मनमा नेपालीहरु के श्रमिक मात्र हुन् त ? उद्यमी हुन सक्दैनन् ? भन्ने सवाल मात्र आइरह्यो । त्यसको फलस्वरुप म नेपाली व्यवसायी संघको अध्यक्ष भएको समयमा धेरै प्रयत्न गर्यौँ ।
बेल्जियम नेपालभन्दा भूगोलको हिसाबले पाँच गुणा र जनसंख्याको हिसाबले तीन गुणा सानो छ । र, पनि फ्लन्डर एरियामा मात्रै चार सयभन्दा बढी नेपाली साथीहरुले जापानिज रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् ।
नेपालप्रतिको आकर्षण
त्यसपछि म होटल व्यवसायमा पनि काम गर्दै गएँ र मलाई याद छ, सन् २०१० अप्रिल ३० मा पेरिसमा गैरआवासिय नेपाली संघको क्षेत्रीय सम्मेलन भएको थियो । कार्यक्रमको मध्यान्नबाट जिवा लामिछाने हतार हतार एयरपोर्ट जान लाग्नुभएको थियो । सोही समयमा उहाँको हात समातेर मैले भने, ‘नेपालमा गएर स्वास्थ्य क्षेत्रमा लगानी गर्ने मेरो ठूलो इच्छा छ, तपाईले सघाउनु पर्यो ! यो कुरालाई अहिले पनि उहाँले कहिले काहीँ स्मरण गर्नुहुन्छ ।
पहिला नेपालमा नै हुँदा मैले मेडिकल रिप्रिजेन्टरको रुपमा पनि काम गरेँ । धौलागिरी गण्डकीमा डिलरसीप ड्रिस्टिव्युसनको काम गरेँ । मलाई लाग्छ २०५६ सालमा काठमाडौंको एक रोपनी जग्गा आनाको ३ लाख ७५ हजार रुपैयाँमा बेचेर पवर्तको कुश्मामा नर्सिङ होम बनाउँछु भनेर जमर्को गरेँ ।
यो अवस्था विदेश जानुभन्दा अगाडिको थियो । जुन निरन्तर जिउँदो थियो । त्यसलाई जगाउनका निम्ति नेपालमा गएर खास गरी औषधीको क्षेत्रमा केही गर्छु भनेर लागेँ । मैले एउटा पुस्तक पनि लेखेको छु ‘अर्जुनदृष्टि’ त्यसमा मैले नैतिक हिसाबले केही गर्नुपर्छ भनेर केही विषय उठान गरेको छु ।
कम्पनी स्थापनाको संघर्ष
पहिला हामीलाई लगानी चाहिएको छ । हामीले प्रतिस्पर्धा गर्नुपर्ने छ । हाम्रा विरामीलाई भारत जानबाट रोकेर नेपालमै राखेर उपचार गर्नुपर्ने छ । त्यतिमात्र नभई स्वास्थ्य क्षेत्रमा पनि मूलतः औषधी भित्र देखिएका अव्यवस्थित कुराहरु छन्, त्यसलाई व्यवस्थित गराउन पनि मैले कहिँ न कहिँ टेवा पुर्याउनु पर्ने छ । चाहे त्यो गुणस्तरको हिसाबले होस् वा चाहे उचित मूल्य हुनुपर्छ भन्ने हिसाबले होस् मैले कम्पनी स्थापना गरे ।
मैले जमिन किन्दा गाउँ विकास समिति थियो, नक्सा पास गरेँ । त्यसको प्रमोशन एकै पटक यसरी भयो कि महानगरपालिकाको वडा भयो । त्यसपछि पहिला एप्रुभव भएको मेरो नक्सा मापदण्ड अनुसार पुनर्संरचनामा जानुपर्यो । समग्रमा भन्नुपर्दा नीतिगत, संरचनागत, सरकारी सहयोग, स्थानीयको हिसाबमा सजिलो भने भएन ।
त्यसैले स्थानीय पूर्वाधारमा काम गर्नेहरुलाई मेरो अनुरोध के छ भने हामीले पोलिसी ड्र यस्तो ढंगले गरेका छौँ कि अहिले एउटा गाउँपालिका छ भने भोलि महानगरपालिका बन्न नसक्ने ढंगले गरेका छौँ । यो रिभर्स गियरमा हामीले जुन मापदण्ड बनाइराखेका छौँ, त्यसलाई परिमार्जन गर्नुपर्छ ।
मेरो अनुरोध
म नेपाल आएको कारण मेरो मनको अन्तरद्वन्द्व पनि हो । सुखी र खुशीमा एउटा रोजौँ भनेर मैले खुशी रोजेर नेपालमा आएको हुँ । डायस्पोरामा बसिरहेका साथीहरुलाई मेरो अनुरोध, तपाईहरु त्यहाँ एकाडेमिक क्यारिअरका लागि जानुभयो, काम गर्नुभयो । तपाईहरु क्षमतावान, योग्य हुनुभयो, पैसा पनि भयो । ती सबै चिजलाई एकत्रित गरेर, प्रतिबद्धित भएर नेपालमा आउनोस्, नेपालमा धेरै राम्रो सम्भावना छ ।
यो पनि :
ओम मेगाश्री फर्मास्युटिकल्स : एनआरएन लगानीको ठूलो औषधी उद्योग