logo

२०८१ पुष १८ बिहिबार

logo
  • बिहिबार, १८ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    ‘छिटोभन्दा छिटो दाबी भुक्तानी गरेर हामीले विश्वास कमाइरहेका छौँ’

    ‘छिटोभन्दा छिटो दाबी भुक्तानी गरेर हामीले विश्वास कमाइरहेका छौँ’

    392
    Shares
    ‘छिटोभन्दा छिटो दाबी भुक्तानी गरेर हामीले विश्वास कमाइरहेका छौँ’

    चिरायु भण्डारीले सरकार स्वामित्वको नेपाल पुनर्बिमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर काम गरेका छन् । पुनर्बिमामा कार्यकाल पुरा गरेपछि उनी प्राइम लाइफ इन्स्योरेन्समा पुगे । प्राइम लाइफ इन्स्योरेन्समा केही वर्ष काम गरेपछि दुई वर्षदेखि भण्डारी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सिइओ छन् ।

    नेपाल बिमा प्राधिकरणले बिमाको पहुँच विपन्न तहसम्म पुर्याउन एकै पटक सातवटा लघुबिमा कम्पनी सञ्चालनको इजाजत दिएको छ । अहिले लघुबिमा कम्पनी गाउँगाउँमा गएर लघुबिमा व्यवसाय विस्तार गरिरहेका छन् । नेपालमा लघुबिमा व्यवसायको अवस्था र भविष्यको संभावनाका विषयमा केन्द्रीत रहेर सुनौलो नेपालले सिइओ भण्डारीसँग गरेको कुराकानी ।

    नेपाल पुनर्बिमा कम्पनीको पनि संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनुभयो । अहिले गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सको पनि स्थापनादेखि नै सिइओको रुपमा कार्यरत हुनुहुन्छ । यी दुई कम्पनीमा काम गराईमा के फरक पाउनुभएको छ ?

    धेरै फरक पाएको छु । पुनर्बिमाले बिमा कम्पनीहरुसँग सहकार्य गरेर जानुपर्ने हुन्छ । यसको साथसाथै ब्रोकरहरुसँग पनि सहकार्य गरेर अगाडि जानुपर्ने हुन्छ । तर, यसमा निम्न वर्ग (लो इनकम ग्रुप) सँग सहकार्य गरेर अगाडि जानुपर्ने हुन्छ । यहाँ न्यून आय भएका व्यक्तिहरुसँग सम्पर्क गरेर उनीहरुलाई बिमा पोलिसी बेचेर उनीहरुको जोखिम बहन गर्नुपर्ने स्थिति छ । त्यसैले पुनर्बिमा र लघुबिमा काम गर्न धेरै फरक छ ।

    नेपालका लागि दुवै कम्पनी नयाँ हो । काम गराईको हिसाबले कुनमा बढी चुनौती छ ?

    चुनौती भनेको दुवैतिर हो । तर, हामीले वास्तवमा गर्नुपर्ने बिमा भनेको तल्लो तहलाई समेटेर लैजान पर्ने थियो, पहिला यस्तो प्रावधानमा थिएन । अहिले सरकारले सातवटा लघुबिमा सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) दिएको छ ।

    त्यस मध्ये तीन वटा लघुजीवन बिमा र चार निर्जीवन लघुबिमा कम्पनीहरुले लघुबिमाको लाइसेन्स पाएका छन् । वास्तवमा जसको परिवारमा रोजीरोटी कमाउने मान्छेको दुर्भाग्यवश केही भइदिएको अवस्थामा परिवारको त आय स्रोत नै सुक्ने भयो नि ! त्यसलाई संरक्षण गुर्नपर्छ । त्यस्ता खालको संरक्षण लघुबिमाले गर्छ । त्यसकारण यसको ठूलो महत्व छ ।

    आक्रामक भएर लागिरहनु भएको छ, बजारमा यहाँले कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

    कुनै कुरा नयाँ आउने वित्तिकै मान्छेले त्यसलाई आत्मसात् गरिहाल्दैन । यसको फाइदा र महत्वको बारेमा तल्लो तहमा गएर बुझाउन सक्नुपर्छ । बुझिसकेपछि मात्र उनीहरुले यसलाई आवश्यक ठान्छन् । अहिलेसम्म बिमा आवश्यक छ भनेर मान्छेले सोचेको पनि छैन ।

    जस्तो भूकम्पमा धेरै जनधनको क्षति भएपछि ओहो ! बिमा त गर्नुपर्ने रहेछ भन्ने सोच आएको थियो । तर, पछि विस्तारै त्यो हरायो । परेको बेला सम्झिने रहेछन्, फेरि २/४ महिनापछि उस्तै । यसको जुन मूल उद्धेश्य छ, त्यसको लागि यसमा लागिरहन पर्यो, सम्झाइ रहनु पर्ने हुन्छ ।

    गार्डियन माइक्रो लाइफ लघुजीवन बिमा व्यवसायको बजार विस्तारमा कत्तिको सफल भयो ?

    बजार विस्तार त हामीले सहजै गरिरहेका छौँ । हामी पूर्ण रुपमा डिजिटल छौँ । हामी पेपरलेस तरिकाबाट अगाडि बढिरहेका छौँ । कोही मान्छेले जीवन बिमा गर्न खोज्यो भने उनीहरुले कार्यालय आउनु पनि पर्दैन । कम्पनीको एप डाउनलोड गरेर जुनसुकै ठाउँबाट लघुजीवन बिमा पोलिसी लिन सक्छ । किनभने हाम्रो पेमेन्ट गेट वे पनि डिजिटल नै छ ।

    एप डाउनलोड गरेपछि निश्चित केही कुराहरु आउँछ, त्यो भएपछि कुन पोलिसि छान्नेदेखि लिएर कति प्रिमियम तिर्नेसम्म त्यही आउँछ । राति १० बजे पनि पोलिसि लिऔँ भन्यो भने सक्ने गरी हामीले पहुँच बनाएका छौं ।

    तल्लो तहका मान्छेहरुलाई पहुँचमा पुर्याउन हामीले एजेन्टहरु नियक्त गर्नुपर्यो । सबै जना प्रविधिमैत्री पनि हुँदैनन् । कतिपयलाई के गर्दा के हुन्छ भनेर सिकाउनु पर्छ । डिजिटल बिमा पोलिसी आइसकेपछि न हराउने डर भयो नत आगलागी भएर नष्ट हुने डर नै भयो । यदि बिमा पोलिसी हरायो भने पत्रिकामा ३५ दिने सूचना निकाल्नु पर्ने हुन्छ ।

    जति खर्च लाग्छ तिर्नुपर्ने हुन्छ । हाम्रो डिजिटल भएको हुनाले पोलिसी गुगलमा सुरक्षित हुन्छ, मोबाइल हरायो भने पनि चिन्ताको विषय भएन ।

    ठूला बिमा कम्पनीहरुको पोलिसी अझै पनि डिजिटल भएको छैन, तपाईहरु यहि एउटा कम्पनी हो कि अन्य पनि छन् ?

    हाम्रो माइक्रोमा तीन वटै कम्पनीले डिजिटलबाट गरिरहेका छौँ । बिमा दाबी पनि हामीले डिजिटल्लि नै गराउँछौँ । हामीलाई धेरै चिजको आवश्यकता नै पर्दैन । मृत्यु दर्ता प्रमाणपत्र, दाबीकर्ताले भर्ने फर्म, यदि व्यक्तिगत छ भने नाता प्रमाणित चाहियो । यति भएपछि उहाँको बैंक अकाउन्टमा हामी दाबी भुक्तानी पठाइदिन्छौँ ।

    कस्ता लघुजीवन बिमा प्रोडक्ट ल्याउनुभएको छ ?

    अहिले हामीले म्यादी जीवन बिमा पोलिसी ल्याएका छौँ । अर्को दुई वटा प्रोडक्ट चाहिँ इन्डोरमेन्ट भनेजस्तै तर बोनस भने दिन पाइँदैन । नाफामा सरिक हुनेले पोलिसी बेच्न पाइँदैन । सरिक नहुने बेच्नुपर्दा हामीले ग्यारेन्टी भनेर दिएका छौँ । यदि १६ वर्षको लागि पोलिसि लिएको अवस्थामा हामीले प्रति हजार ५० रुपैयाँ ग्यारेन्टी भनेर दिएका छौँ ।

    लघुजीवन बिमाको न्यूनतम प्रिमियम कति छ ?

    प्रोडक्ट हेरेर पोलिसी दर फरक फरक छ । म्यादी जीवन बिमा गर्यो भने १ सय ३१ रुपैयाँले हामीले १ लाख रुपैयाँको जोखिम वहन गर्छौँ यो पोलिसी २९ वर्षसम्मको लागि हो । १ सय ३१ रुपैयाँ तिरिसकेपछि २९ वर्षसम्म मान्छे केही कुनै पनि कारणबस केही भइदियो भने एक लाख रुपैयाँको जोखि कभर गर्दै आएका छौँ । उमेर बढ्दै गएपछि अलिकति बिमा शुल्क त बढिहाल्छ त्यो बिमाको नियम नै हो ।

    धेरै स्थानीय तहहरुमा बिमा गर्ने प्रचलन सुरु भएको देखिन्छ, तपाईहरुको पनि स्थानीय तहसँग समझदारी भएको छ ?

    स्थानीय तहहरुसँग हाम्रो पनि सहकार्य भइरहेको छ । कतिपयले हामीसँग पोलिसी पनि लिनुभएको छ, कतिपयले वडाहरुले के पनि गर्नुभएको छ भने उहाँहरुको पनि न्युन आय भएका व्यक्तिहरुको सूची तयार गरेर आफ्नै तरिकाले पनि गर्नुभएको छ । यो आवश्यक हो भन्ने वास्तविकता बुझेर स्थानीय तहहरुले पनि यसको महत्व महशुस गर्नुभएको छ ।

    लघुजीवन बिमा कम्पनीहरुले बजार विस्तार कति गरिरहेका छन् ?

    त्यो त पक्कै हो । हिजो बिमा नगरेका मानिसलाई हामीले बिमामा समेट्दै छौँ । न्यून आय भएका मान्छेलाई एक लाख रुपैयाँ रकम भनेको धेरै ठूलो कुरा हो नि ! जोसँग खल्तिमा सय रुपैयाँ हुँदैन उसको परिवारले एक लाख रुपैयाँ पायो भने त कमसेकम ठूलो राहत हुन्छ । आजकलको जमानामा काजकिरिया गर्न पनि कति खर्च हुन्छ । यदि बिमा गरेको छैन भने त विपन्न वर्गका लागि त्यो नि कठिन हुन्छ ।

    ठूला कम्पनीहरु पनि लघु बिमातिर गएको देखिन्छ, प्रतिस्पर्धा गर्न सकिन्छ त ?

    प्रतिस्पर्धाको मतलब कुस्ती खेल्ने होइन, सहजीकरण गर्ने हो । उहाँहरु आफ्नो तर्फबाट लाग्नुहुन्छ हामी आफ्नो तरिकाले लाग्छौँ । उहाँहरुले कसरी सोच्नुहुन्छ, त्यो अर्कै कुरा हो, तर मैले चाहिँ प्रतिस्पर्धाको रुपमा लिन्न । कतिपय बिमामा हामीले २४ घण्टाभित्रै दाबी भुक्तानी दिन्छौँ । व्यक्तिगत छ भने नाता प्रमाणित, मृत्यु दर्ताको प्रमाणपत्र, दाबीकर्ताले भर्ने फर्म अझै संस्थाको छ भने हामीलाई नाता प्रमाणित पनि चाहिँदैन । हामीले त संस्थालाई दिने न हो ।

    नाता प्रमाणित त संस्थाले नै संकलन गर्छन् । भोली यदि हामीलाई चाहियो भने संस्थासँग मागौँला । यी चिज भयो भने तुरुन्तै पैसा पठाउँछौँ । बिहान १० बजे आयो भने बेलुका ५ बजेसम्म दिन्छौँ, बेलुका आयो भने भोलिपल्ट २४ घण्टा भित्र पे ब्याक दिन्छौँ । २४ घण्टा भित्र पे ब्याक दिने कारणले गर्दा अहिले ठूला कम्पनीलाई अलिकति गाह्रो महशुस भइरहेको छ ।

    अहिले देखिरहेको समस्या भनेकै दाबी भुक्तानी समयमा नदिएर हो । दाबी भुक्तानीमा भएको ढिलाई हुँदा बिमा कम्पनीप्रति विश्वास घटेको हो । हामीले पहिलो दाबी भुक्तानी १७ घण्टाभित्र दिएका हौँ । छिटोभन्दा छिटो दाबी भुक्तानी गरेर हामीले विश्वास कमाइरहेका छौँ ।

    गार्डियन माइक्रो लाइफलले अहिलेसम्म कति बिमा शुल्क आर्जन गरेको छ ?

    वैदेशिक रोजगारसमेत गर्दा यो आर्थिक वर्ष १५ करोड रुपैयाँ जति भएको छ । ग्रामीण क्षेत्रमा लघु बिमा विस्तारै बढिरहेको छ । करिब ५० लाखभन्दा बढीको दाबी भुक्तानी नै दिइसकेका छौँ ।

    कम्पनीको बिमा बजार पूर्वमा हो कि पश्चिममा बढी ?

    हाम्रो मुख्य कार्यालय विराटनगर हो । नेपाल राज्य भर सबैतिर पुग्दै छौँ । हामीले सबैतिर समेटेका छौँ । गाउँमा लघुवित्त संस्थाको बिजनेस धेरै छ । लघुवित्तसँगको सहकार्यले गर्दा पनि उनीहरुको शाखा नेपालभर हुन्छन् । उनीहरु जहाँ जहाँ हुन्छन्, हामी पनि त्यहाँ हुन्छौँ ।

    तपाईंहरुलाई स्थानीय तह र लघुवित्तले धेरै सहयोग गरेको देखियो ?

    त्यो यस्तो हो, लघुवित्तले पहिलादेखि नै ठूला कम्पनीसँग सहकार्य गरिरहेकै हुन् नि ! ठूला कम्पनीसँग त उनीहरुले बिमा गरिरहेका छन् । उनीहरुलाई हाम्रोमा तान्नु पर्यो । तान्ने उपाय भनेको दाबी भुक्तानी छिटो दिने हो । सेवा सुविधा छिटो दिने नै हाम्रो उद्धेश्य हो । मानौँ अहिले हुम्लाको मान्छेको मृत्यु भयो भने उसको चाहिने डकुमेन्ट मेलमा आउँछ, उसको बैंक अकाउन्टमा हामी पैसा पठाइहाल्छौँ ।

    लघुवित्तले पनि हामीलाई साथ दिइरहेको छ । हामीले पनि लघुवित्तलाई साथ दिएका छौँ । किनभने दाबी भुक्तानी समयमा नपाएर लघुवित्तसँग कतिपय मान्छेहरु समस्यामा परिरहेका छन् । हामीले लघुवित्तलाई छिटो दाबी भुक्तानी दियौँ भने उनीहरुले पनि ग्राहकलाई छिटो दिन्छन्, जसले गर्दा लघुवित्तको अन्य दुई जना ग्राहक बढ्छ । उसको ग्राहक बढ्नु नै हाम्रो ग्राहक बढ्नु हो, हामी यही सिद्धान्तअनुुसार हामी अघि बढिरहेका छौँ ।

    आगामी पाँच वर्षमा नेपालको लघुबिमा बजार कस्तो देख्नुहुन्छ ?

    आगामी पाँच वर्षमा बिमा क्षेत्र नै लघुतहमा जान्छ । किनभने भोलिको दिन भनेको माइक्रो इन्स्युरेन्स नै हो । अहिले आर्थिक चलायमान छैन । जुनसुकै आर्थिक क्षेत्र कमजोर भएको स्थिति छ । सुरक्षा खोज्ने हो भने सानो सानो कुरामा खोज्ने हो । ती सुरक्षाको लागि माइक्रो इन्स्योरेन्सले सहयोग गर्छ । भोलिको दिनको बिमाको बजार नै लघु बिमाको हो । त्यसैले हामी पाँच वर्षमा आनन्दले चलायमान हुन्छौँ ।

    तपार्इं सिईओ भइसकेको दुई वर्ष हुन लाग्यो, यसबीचमा आफू कत्तिको सफल भएँ जस्तो लाग्छ ?

    आफैँले आफैँलाई सफल भएँ भन्नु खासै जायज नहोला । अरुले मलाई र मेरो कामलाई कसरी विश्लेषण गरेका छन् भन्ने हो । कामको हिसाबले भन्ने हो भने साधारण सेयर (आइपिओ) मा पनि हामी पहिलो पटक गएका छौँ । एक चरण वैदेशिक रोजगारलाई आइपिओ बाँडफाँड सकिसकेका छौँ । २१ गतेदेखि सर्वसाधरणलाई पनि आइपिओ आउँनेछ । त्यसपछि हामी अझै जिम्मेवार हुन्छौँ ।

    जिम्मेवार अहिले पनि छौँ, तर सामान्य १० सेयर लिने व्यक्ति प्रति पनि हामी अझै जिम्मेवार हुन्छौँ । केही न केही हदसम्म सफल नै भएको जस्तो महशुस हुन्छ । हामी तहगत रुपमा दिगो हिसाबले जादैछौँ ।

    तीन वटा लघुबिमा कम्पनी सञ्चालनमा छन् । लघुबिमा बजारमा प्रतिस्पर्धा कत्तिको छ ?

    प्रतिस्पर्धा गरेर अगाडि बढ्ने भन्ने खालको परिदृष्य छैन । सकभर सहकार्य गरेरै अघि बढ्ने हो । किनभने उद्धेश्य भनेको एउटै हो । हामी आफू आफैँमा सहजीकरण गर्दै जाने हो ।

    गार्डिनय माइक्रो लाइफ इन्सयोरेसका लगानीकर्ता कहिलेदेखि लाभांश पाउँने छन् ?

    यो आर्थिक वर्षदेखि सायद लाभांश दिन सकिन्छ । धेरैभन्दा धेरै दिने कोशिस गर्छौँ । तर, कम्तिमा पनि १० प्रतिशत लाभांश दिन्छौँ होला ।

    ठूलोमा बढी जोखिम हुन्छ कि सानो बिमा कम्पनीमा ?

    जोखिम त उस्तै हो । किनभने सानोमा पनि त्यही अनुसारको प्रिमियम लिन्छौँ, ठूलोमा पनि त्यहि अनुसारको प्रिमियम लिन्छौँ ।

    अहिलेसम्म सबैभन्दा बढी प्रिमियम कतिसम्म उठाउनु भएको छ ?

    हामीले बढीमा पाँच लाख र थोरैमा पाँच हजार रुपैयाँसम्म प्रिमियम उठाएका छौँ ।

    भिडियो हेर्नुहोस् :

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend