मंगलवार , पौष १६, २०८१
Shares
Shares
- चानक पोखरेल
नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण पाटोको रूपमा विदेशी रोजगारी रहेको छ। प्रतिदिन हजारौं नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिने क्रम बढ्दो छ। यो क्रम केवल आर्थिक कारणले मात्र नभई सामाजिक, राजनीतिक र शैक्षिक कारणहरूले पनि प्रभावित छ।
देशमा पर्याप्त रोजगारीको अभाव नेपाली युवाहरूलाई विदेश जान बाध्य बनाउने प्रमुख कारण हो। स्वदेशमा उद्योग धन्दाहरूको विकास नहुनु, कृषि क्षेत्रको आधुनिकीकरण नहुनु र सरकारी नीतिहरू प्रभावकारी नहुनुले गर्दा बेरोजगारी समस्या बढ्दो छ।
यसका साथै उच्च शिक्षा हासिल गरेका युवाहरूको लागि आफ्नो योग्यता अनुसारको काम नपाउनु पनि एक प्रमुख समस्या हो।
आकर्षक तलब र सुविधाहरू विदेशी रोजगारीको अर्को महत्वपूर्ण आकर्षण हो। मध्यपूर्वका मुलुकहरू, मलेसिया, दक्षिण कोरिया जस्ता देशहरूमा नेपालमा भन्दा बढी तलब र सुविधाहरू पाइने हुँदा धेरै नेपालीहरू त्यहाँ जान आकर्षित हुन्छन्। साथै विदेशी मुद्रा कमाएर स्वदेशमा लगानी गर्ने र आफ्नो जीवनस्तर सुधार गर्ने सपना पनि वैदेशिक रोजगारीको मुख्य कारण हो।
वैदेशिक रोजगारीमा जानको लागि म्यानपावर कम्पनीहरू मार्फत वा व्यक्तिगत सम्पर्कबाट समेत प्रक्रिया अघि बढाइन्छ। यस क्रममा धेरै चुनौतीहरूको सामना गर्नुपर्छ। उच्च लागत, ठगी, अवैध म्यानपावर कम्पनीहरूको जालमा नेपाली श्रमिकहरू फस्ने जोखिम, भाषागत समस्या र कागजात प्रक्रियाको जटिलता वैदेशिक रोजगारीका प्रमुख चुनौतीहरू हुन्।
विदेशमा नेपाली श्रमिकहरूले विभिन्न क्षेत्रमा काम गर्छन्। निर्माण, होटल, कारखाना, सुरक्षा गार्ड, घरेलु कामदार देखि लिएर कार्यालयमा उच्च अहोदामा समेत पदासिन छन्। केही श्रमिकहरूले राम्रो ठाउँमा काम र कमाइ पाए पनि धेरैले कठिन परिश्रम र न्यून तलबमा काम गर्नुपर्ने अवस्था छ।
विदेशमा नेपाली श्रमिकहरूले विभिन्न समस्याहरूको सामना गर्नुपर्छ। करार बमोजिमको काम र तलब नपाउने, करारमा उल्लेखित गरिएको भन्दा काम गर्ने घण्टा बढी हुने, बीमाको कारणले स्वास्थ्य क्षेत्रमा अत्यन्त न्यून पहुँच हुने कारण सुरक्षाको अभाव हुने, शोषण र दुर्व्यवहार जस्ता समस्याहरू नेपाली श्रमिकले भोग्ने गरेका छन्।
यस्ता समस्याका कारण कतिपय अवस्थामा श्रमिकहरूको कार्यस्थलमा दुर्घटनामा परेर मृत्यु समेत हुने गरेको छ।
वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स नेपालको अर्थतन्त्रको महत्वपूर्ण स्रोत बनेको छ। रेमिट्यान्सले नेपालको ६५% भन्दा बढी आर्थिक व्ययभार थाम्ने गरेको छ। यसले देशको कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य योगदान पुर्याएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा रेमिट्यान्सको योगदान समयसँगै परिवर्तन हुँदै आएको छ।
पछिल्लो रेकर्ड अनुसार चालु आर्थिक वर्षमा जीडीपीमा रेमिट्यान्सको योगदान २२.९६ प्रतिशत रहेको अनुमान गरिएको छ। यसअघि, सन् २०२१ मा, रेमिट्यान्सको हिस्सा जीडीपीको २४.८ प्रतिशत रहेको थियो।
यो तथ्याङ्कले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको देखाउँछ। परिवारको जीवनस्तर सुधार, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार र घरजग्गा खरिदमा मात्र प्राय: रेमिट्यान्सको रकम प्रयोग हुने गरेको छ, यसलाई विस्तार गरेर उत्पादन क्षेत्रमा प्रयोग गर्न पाए रेमिट्यान्सको रकमको सदुपयोग हुने छ।
वैदेशिक रोजगारीका सकारात्मक पक्षहरूमा आर्थिक आय वृद्धि, सीप र ज्ञान आर्जन, जीवनस्तरमा सुधार र विदेशी मुद्रा आर्जन प्रमुख छन्। तर नकारात्मक पक्षहरूमा परिवार विघटन, सामाजिक समस्या, मानव तस्करी र श्रम शोषण जस्ता समस्याहरू समेत देखिएका छन्। नेपाल सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न नीति तथा कानूनहरू लागू गरेको छ।
श्रम सम्झौता, न्यूनतम तलब निर्धारण, सामाजिक कल्याणकारी कोषको स्थापना र वैदेशिक रोजगार विभागको स्थापना जस्ता प्रयासहरू सरकार क्षेत्रबाट गरिएका छन्। वैदेशिक रोजगारीलाई अझ सुरक्षित र मर्यादित बनाउन थप प्रयासहरू आवश्यक छन्।
स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने, सीपमूलक तालिम प्रदान गर्ने र उद्यमशीलता विकास गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। साथै विदेशमा भएका नेपाली श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न आवश्यकता अनुसार कूटनीतिक पहल समेत बढाउनुपर्छ।
वैदेशिक रोजगारी नेपालको वर्तमान आर्थिक-सामाजिक यथार्थ हो। यसलाई सुरक्षित र मर्यादित बनाउँदै क्रमशः स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नेतर्फ राज्यको ध्यान जान आवश्यक छ ।
साथै विप्रेषणको उचित व्यवस्थापन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गरिनु पर्दछ । जसका कारण प्रवासमा बगेका नेपाली पसिनाले सार्थकता प्राप्त गर्न सफल हुन्छ, यसरी मात्र वैदेशिक रोजगारीबाट अधिकतम लाभ लिन सकिन्छ र देशको दीर्घकालीन विकासमा योगदान पुर्याउन सकिन्छ ।
(लेखक चानक पोखरेल प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपमहासचिव हुन् । हाल कतारमा बसोबास गर्छन् ।)
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस