काठमाडौं । ग्लोबल आइएमई बैंक सञ्चालनमा आएको बिहीबार १८ वर्ष पूरा हुँदै छ । झण्डै दुई दशकअघि नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको बैंकको इजजातपत्र पाएको ग्लोबल आइएमईले नेपालको बैंकिङ क्षेत्रमा पहिलो नम्बरको बिरासत कायम राख्न सफल भएको छ । बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाहरुबीचमा उत्कृष्ट वित्तीय प्रदर्शनका साथै पहिलो नम्बरको बिरासत बोकेको हो ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल २०६३ सालमा ग्लोबल बैंक खोलेर यस क्षेत्रमा अघि बढेका हुन् । वाणिज्य बैंक सञ्चालकका रूपमा अघि बढेका ढकालले अहिले बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै साम्राज्य खडा गरेका छन् । उनले ग्लोबल आइएमईलाई राष्ट्रियस्तरको मात्रै बनाएनन् मुलुककै सबैभन्दा ठूलो बैंक बनाउन सफल भएका छन् ।
ढकालले सुरुमा आइएमई फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड खोलेका थिए । पछि फाइनान्सलाई गाभेर ग्लोबल आइएमई बैंक बनाए । विभिन्न बैंक तथा वित्तीय संस्थालाई गाभ्दै ग्लोबल आइएमई बैंकलाई देशकै ठूलो बनाउन ढकाल सफल भए । उनलाई ‘मर्जर किङ’ पनि भन्ने गरिन्छ । किनभने उनले ग्लोबल आइएमई बैंकमा झन्डै दुई दर्जन बैंक तथा वित्तीय संस्था गाभेका छन् ।
ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत हुन् । कामप्रतिको लगनशिलता, जोखिम मोल्न सक्ने क्षमता, मिलनसारिता जस्ता कुराले उनी महासंघको अध्यक्ष बने । न्यून आर्थिक पृष्ठभूमिबाट आएका ढकालले हाल वित्तीय क्षेत्रमा मात्र होइन, जलविद्युत उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, केबुलकार, होटललगायत क्षेत्रमा अग्रगामी छलाङ मारिरहेका छन् । उनले सातै प्रदेशमा पाँचतारे होटलसहित केबुलकार बनाइरहेका छन् ।
मर्जरका नायक चन्द्र ढकाल
२०६३ साल पुस १८ गते ग्लोबल आइएमई १८ औं वाणिज्य बैंकको रुपमा स्थापित भयो । त्यसबेला बैंकको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ थियो । त्यो समयमा नेपालमा बैंकहरु खुल्ने लहर नै चलेको थियो ।
अहिले केही बैंक विलय (मर्ज) मा गएका छन् । यहि मर्ज नीतिलाई अबलम्बन गर्दै अघि बढेका ढकालले २१ बैंक तथा वित्तीय संस्थालाई ग्लोबल आइएमईसँग गाभेका छन् । जसका कारण आइएमई बैंक अहिले मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक भएको छ ।
मर्जरको प्रक्रिया ग्लोबल आइएमईले सुरु गरेको हो अर्थात ढकाललले नै यस प्रक्रियालाई अघि बढाएका हुन् । त्यसैले उनलाई मर्जरका नायक भनिएको हो । बैंकको पुँजीगत आधार बलियो बनाउन ढकालले मर्जरको प्रक्रिया ग्लोबल आइएमईबाट सुरु गरेका थिए । बैंक मर्जको इतिहास २०६८ माघ २० देखि सुरु भएको हो । व्यवसायी ढकालले मर्ज र प्राप्ति नीति अवलम्बन गरेर बैंकलाई अब्बल बनाएका छन् ।
राष्ट्र बैंकले २०७२ सालमा मर्जर नीति लिनु अगावै उनले बैंक तथा वित्तीय संस्थालाई समाहित गरेर ग्लोबललाई ठूलो बैंक बनाउन लागेका थिए । बैंकले आइएमई फाइनान्सलाई मर्ज गरेको थियो । त्यसबेला यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै पहिलो थियो । उक्त समयमै बैंकले लर्डबुद्ध फाइनान्सलाई आफूमा विलय गरेको थियो । तीन संस्था गाभिएपछि २०६९ असार २५ गतेदेखि संस्थाको नाम ग्लोबल आइएमई रहेर एकीकृत कारोबार भएको हो ।
त्यसपछि ग्लोबल आइएमईले मर्ज प्रक्रियालाई आक्रमक रुपमा अघि बढायो । ग्लोबलले सोसल डेभलपमेन्ट बैंकलाई आफूमा विलय गरायो । बैंकको मर्जर गति यतिमा मात्र रोकिएन । त्यही समयमा गुल्मी विकास बैंकलाई पनि समाहित गर्यो । त्यसपछि ग्लोबल आइएमईले कमर्स एन्ड ट्रस्ट बैंकलाई आफूमा विलय गरायो । २०१६ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज भए । यद्यपि, रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए ।
हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकसँग विलय भयो । त्यसपछि ग्लोबलले जनता बैंकलाई आफूमा समाहित गर्यो । नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल रुपमा हेर्ने गरिन्छ । जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए ।
त्यसपछि पछिल्लो समयमा बैंक अफ काठमाण्डू (बिओके) लाई २०७९ पुस २५ मा गाभेपछि ग्लोबल आइएमइ बैंक मुलुककै सबैभन्दा ठूलो बैंक बनेको छ । मर्जरलाई नै सफल रुपमा व्यवस्थापन गरेका कारण आज अब्बल बैंकका रुपमा ग्लोबल आइएमई बैंक चिनिएको छ । यस कारण पनि ग्लोबल आइएमई बैंक मर्जर नीतिमा सफल र ‘रोल मोडल’ बैंक भएको छ ।
तत्कालीन गभर्नर डा. चिरन्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर र प्राप्तिको नीति लिएपछि ढकालले ‘बिग मर्जर’ गराएर बैंकलाई सफल बनाए । २०७२ सालको मौद्रिक नीतिबाट केन्द्रीय बैंकले चुक्ता पुँजी बढाएर वाणिज्य बैंकको ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकको २ अर्ब ५० करोड र वित्त कम्पनीको ८० करोड रुपैयाँ पुर्याएको थियो । त्यसबेला मर्जरमा जानलाई केन्द्रीय बैंकले घुमाउरो बाटोबाट दबाब दिएको थियो । तर, अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले बोनस सेयर वितरण, हकप्रद सेयर निष्कासन र साना वित्तीय संस्थालाई प्राप्त गरेर न्यूनतम चुक्ता पुँजी पुर्याएका थिए ।
तर, ग्लोबल आईएमईले मर्ज र प्राप्तिबाटै चुक्ता पुँजी बढायो । ढकालले धेरै बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति प्रक्रियामा सामेल गराएर आज पुँजीगत रूपमा ग्लोबल आईएमईलाई देशकै ठूलो वाणिज्य बैंक बनाए । चुक्ता पुँजीमा मात्र होइन मर्ज र प्राप्तिमा पनि ग्लोबल आईएमई अग्रपंक्तिमा छ । साना तथा ठूला बैंक तथा वित्तीय संस्थालाई गाभेर ढकाल आज ग्लोबल आइएमईको साम्राज्य खडा गर्न सफल भएका छन् ।
बैंक दर्ता हुँदा ५१ करोड रुपैयाँ चुक्ता पुँजी थियो । त्यसपछि संस्थापकबाट फर्दर कल गरेर १९ करोड थप भई ७० करोड रुपैयाँ पुग्यो । आर्थिक वर्ष ०६५०६६ मा ३० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासनपछि बैंकको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्यो । आर्थिक वर्ष ०६६०६७ मा २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासनपछि बैैंकको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ पुगेको थियो ।
यस्तो छ, ग्लोबल आइएमईको वित्तीय अवस्था
२०८१ मा बैंकको पुँजी, निक्षेप परिचालन, कर्जा लगानी वृद्धि भएको छ । थप निष्कासन (एफपिओ) तथा हकप्रद सेयर जारी पश्चात लिलाम गरी बिक्री गरिएका सेयरबाट संकलन गरिएको प्रिमियमको रकम र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिँदा, सेयर स्वापको कारण गाभिनु पूर्वको पुँजी र गाभिए पश्चात कायम भएको पुूँँजीको भिन्नताको रकम (पुँजीगत जगेडा कोष) बाट आर्थिक वर्ष २०७८÷७९ सम्म हिताधिकारीलाई वितरित लाभाँशलाई आयमा समावेश गरि १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार कर सरकारलाई बुझाउँदा भने बैंकको जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको छ ।
पहिलो त्रैमासको प्रगति
चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्म बैंकको निक्षेपमा २४.५१ अर्ब वृद्धि भै ५ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ पुगेकोे छ । कर्जा लगानी २७.८६ अर्ब बढेर ४ खर्ब १८ अर्ब ६३ करोड रुपैयाँ पुगेकोे छ । चालू वर्षको प्रथम त्रैमासमा बंैकले १ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी खुदनाफा गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तमा बैंकको निष्कृय कर्जा ४.६७ प्रतिशत पुगेको छ । कर्जा असूलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडी बढ्नु पर्ने अवस्था रहेको बैंकले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
यस्तो छ बैंकको लाभांश
आर्थिक वर्ष २०८०/०८१ समग्र बैंकिग तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद रहन सकेन । पछिल्लो अवधिमा मुलुकको अर्थतन्त्रमा केही सुधारका संकेत देखिएता पनि आर्थिक गतिविधि र कर्जाको माग सोचेअनुरुप बढ्न नसक्दा त्यसको असर बैंकलाई पर्नु स्वभाविक हो । विभिन्न व्यवसायमा परेको प्रतिकुल असरका कारण कर्जा असुलीमा केही शिथिलता आई कर्जा नोक्सानी वापतको रकम समेत बढेको, सेयर प्रिमियम तथा मर्जर वा प्राप्तिमा सेयर आदान प्रदानको भिन्नता रकमलाई आयको रुपमा गणना गरी यसै अवधिमा एकैपटक ठुलो रकम करको रुपमा सरकारलाई दाखिल गर्नु पर्दा बैंकको वितरणयोग्य नाफामा प्रत्यक्ष असर पर्न गई गत वार्षिक साधारण सभामा व्यक्त गरे अनुरुप अपेक्षाकृत प्रतिफल वितरण गर्न नसकेको बैंकले जनाएको छ ।
सोको बाबजुद पनि बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य नाफा तथा पुँजी समायोजन कोष समेतबाट सेयरधनीहरुलाई बैंकको चुक्ता पुँजीको साढे ५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ छ । यसको ५.५ प्रतिशत अर्थात १ अर्ब ९८ करोड ७० लाख रुपैयाँ बोनस सेयर वितरण गरेको छ । बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी बढेर ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको छ । बैंकले सञ्चालन अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो । बैंकले १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०६८/७९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो। बैंकले सो वर्ष ३ प्रतितश बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो।
त्यसैगरी आर्थिक वर्ष २०६९/७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर मात्रै दिएको थियो भने आव २०७०÷७१ मा लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो। यस आर्थिक वर्ष बैंकले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई बोनस सेयरमात्र वितरण गरेको थियो। यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो। आव २०७२/७३ मा बैंकले १६ प्रतिशत बोनस सेयर दिएको थियो।
बैंकले आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्तालाई नगद र बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। बैंकले आर्थिक वर्ष २०७४/७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको हो।
बैंकले आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यस वर्ष बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
त्यसैगरी बैैंकले आव २०७८/७९ मा ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो।
यस्ता छन् बैंकका भावी कार्यक्रम
आगामी दिनमा ग्राहकहरुलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, सेयरधनीहरुलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा साख अभिवृद्धि हुने र अग्रिणी बैंकको रुपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरु रहेका छन् । बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवद्र्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमासमेत थप आयामहरु समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्याउने लक्ष्य लिएको जानकारी बैंकले दिएको छ ।
यसैगरि भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिङले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संशाधनको लागत समेत घट्न जाने विश्वास रहेको छ । आधुनिक प्रविधिमा आधारित व्यावसायिक सेवाबाट बंैकको दीर्घकालिन मजबुतिकरणमा मद्धत पुगि शेयरधनीहरुलाई उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति दिलाउने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय अवार्ड
बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन २०२२ मा युरोमनी अवार्ड, द वेस्ट बैंक इन नेपाल र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरि अन्तर्राष्ट्रिय क्षेत्रमासमेत आफुलाई स्थापित गरीसकेको छ । विश्वमै ख्यातिप्राप्त युरोमनी म्यागजिनले प्रत्येक वर्ष वित्तीय क्षेत्रका विशेषज्ञहरुबाट गहिरो अध्ययन तथा विश्लेषण गरी÷गराई तोकिएको मापदण्ड पुरा गर्ने बैंकहरुलाई विविध विधामा अन्तर्राष्ट्रियस्तरको अवार्ड प्रदान गर्दै आएकोमा नेपालबाट ग्लोबल आइएमई बैंक युरोमनी अवार्डबाट सम्मानित भएको छ ।
त्यसैगरी बैंक ग्लोबल फाइनान्स, वेस्ट अवार्ड २०२४ बाटसमेत सम्मानित भएको छ । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो र ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक समेत हो ।
रेमिट्यान्स धेरै भित्र्याउने बैंक
आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै २१ द्यशमलव १ प्रतिशत विप्रेषण (रेमिट्यान्स) भित्र्याउने बैंकको रुपमा बैक सम्मानित भएको छ । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा पुर्याएको योगदानका लागि प्रशंसापत्र प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई सो सम्मान प्रदान गर्दै आएको छ ।
५० लाख ग्राहकको सञ्जाल
बैंकको ग्राहक सङख्यामा निरन्तर वृद्धि भइरहेको छ । हाल यस बैंकको निक्षेप ग्राहक सङख्या करिव ५० लाख भन्दा बढी पुगेको छ । मर्जर तथा व्यवसायको निरन्तर विस्तारको कारण वृद्धि हुँदै गईरहेको बैंकको ग्राहक सङख्यामा निरन्तर वृद्धि कायम राख्दै सम्पूर्ण ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखी बंैकको ग्राहक सेवालाई अभmै प्रभावकारी बनाउँदै लैजाने नीति अबलम्वन गरिरहेको बैकले जनाएको छ ।
ग्राहक वर्गको हितलाई ध्यानमा राख्दै सरल, सहज र बहुउपयोगी बैंकिग सेवाहरु, राष्ट्रिय प्राथमिकताको क्षेत्रमा लगानी, वित्तीय पहुँच अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहेको बैंकको भनाइ छ । बैंकको हाल मुलुकको सातवटै प्रदेशमा गरी ३५४ वटा शाखा ६८ वटा एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउन्टर, २३७ वटा शाखारहित बैंकिङ्ग सेवा, ३८४ वटा एटिएम, विदेशस्थित भारतको नयाँ दिल्ली, बेलायत अष्ट्रलियामासमेत गरी ३ स्थानमा बैकका प्रतिनिधि कार्यालय समेत सञ्चालनमा रहेका छन् ।
बैंकले समग्रमा (शाखा, एटिएम, एक्सटेन्सन काउण्टर, सेवाकेन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत) करिव ११ सय सेवा केन्द्रमार्फत ५० लाख भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ७ वटै प्रदेशमा बैंकको प्रादेशिक कार्यालय स्थापना गरेको छ ।
प्रविधिमा एआई प्रयोग
आधुनिक समाज प्रविधि उन्मुख रहेको छ । कोभिड १९ ले आधुनिक नेपालको डिजिटल दुनियाँमा असाधारण फड्को मारेको छ । यसको प्रत्यक्ष प्रभाव सिङगो बैंकिङ क्षेत्रमा परेको छ । ग्राहकको प्रत्यक्ष उपस्थिती विना नै धेरै किसिमका सेवाहरु डिजिटलको माध्यमबाट उपलब्ध गराईरहेको र यस्तो सेवा अझ विस्तार गर्न कटिबद्ध रहेको बैंकले जानकारी दिएको छ ।
बैकले सेवा प्रदायक र सेवाग्राही दुवैको समय र पैसा वचत गरि मानव संशाधनको लागतसमेत घटाउँदै लैजाने नीति बमोजिम समीक्षा अवधिमा प्रविधिमा आधारित र स्वचालित ‘बिजनेस प्रोसेस म्यानेजमेन्ट सफ्टवेयर’ जडान गरेको छ । कर्मचारीको प्रत्यक्ष संलग्नता विना नै नगद कारोवार हुने क्यास डिपोजिट मेशिन र आउटवार्ड चेक एसेप्ट गरि क्लियरिङमा पठाउने चेक डिपोजिट किस्कोसहितको डिजिटल युनिभर्स कमलादी लगायत अन्य विभिन्न शाखाहरुमा सञ्चालनमा ल्याइएको छ ।
समीक्षा वर्षमा बैकिंग सेवाका अत्यावश्यक उपकरणहरु, सफट्वेयर डाटा, नेटवर्क, तथ्य तथ्याङहरुको साइवर सुरक्षासँग सम्बन्धित इन्डप्वाइन्ट सेक्युरिटी लाइसेन्स खरिद गरी कार्यान्वयनमा ल्याएको छ । बैंकको कल सेन्टर सोल्युसनलाई थप परिष्कृत गरिएको छ । अहिले १८ घण्टा सञ्चालनमा रहेको यो सेवालाई २४ सै घण्टामा विस्तार गर्ने योजना रहेको जानकारी ग्लोबलले दिएको छ । जवाफदेही र उत्तरदायी बैंकिङ समाधानको लागि आर्टिफिसियल इन्टलिजेन्स प्रयोगमा ल्याएको छ । बैंकको सञ्चालन दक्षता अभिवृिद्धको साथै दोहोरिने कार्य न्यूनीकरणको लागि बैंकले रोबोटिक प्रकृया स्वचालनको प्रयोग गरेको छ ।
सो वाहेक बैंकले मोबाइल बैंकिङ एप्लिकेसनको फिचर्सहरु वृद्धि गरि थप सहज र परिस्कृत बनाएको छ । सार्वजनिक पहँुचमा रहने बैंकको आधिकारिक वेबसाइटलाई मोर्डन फिचरसहित अपग्रेड गर्ने काम भईरहेको छ ।
राष्ट्र बैंकको निर्देशन र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको लागि बैंकले एएमएल सफ्ठवेयरमार्फत ग्राहकको सूचना व्यवस्थापन, आवश्यक रिर्पोटिङका साथै शङकास्पद कारोबारको पहिचान तथा रिर्पोटिङ स्वचालित गर्दै आएकोमा यस कार्यलाई थप प्रभावकारी बनाउँदै लानेछौँ ।
अर्थतन्त्रमा योगदान
राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सवैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा आन्तरिक राजस्व विभागले बैकलाई सम्मानित गरेको छ । समीक्षा वर्षमा बंैकले नेपाल सरकारलाई संस्थागत आयकर र स्रोतमा कर कट्टी गरी ६ अर्ब रुपैयाँ भन्दा बढीको योगदान गरेको छ । व्यावसायिक सेवा सञ्जालको विस्तारले छरिएर रहेको पूँजी सङकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको छ । यसको अतिरिक्त नियमित र सेवा सम्झौतामार्फत ३८ सय भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व
समाजप्रतिको जिम्मेवारीमा प्रतिवद्ध रहेको बैंकले जनाएको छ । सामाजिक परियोजना, वित्तीय साक्षरता, तोकिएको क्षेत्रमा प्रत्यक्ष अनुदान लगायत राष्ट्र बैंकबाट तोकिएको क्षेत्रमा तोकिएको रकम खर्च गर्ने उद्देश्यले बैकले संस्थागत सामाजिक उत्तरदायित्व नीति नै कार्यान्वयना ल्याएको छ ।
यस अवधिमा मिति २०८० कार्तिक १७ गते जाजरकोट/रुकुमपश्चिममा आएको विनासकारी भूकम्पमा परी धनजनमा भएको क्षतिलाई सहयोग गर्न प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषमा सक्दो सहयोग गरेको, फरक क्षमताका बालबालिकाको बौद्धिक, सामाजिक र भावनात्मक विकासमा प्रोत्साहित गर्ने उद्देश्यले सैनिक कल्याणकारी कोषबाट काठमाडौंँको छाउनीमा स्थापना भएको दिवा विद्यालयलाई सामाजिक अन्याय र विभेद विरुद्धको लोकप्रिय टेलिभिजन कार्यक्रम ऐना सिजन २ लाई, महिला, जनजाति, अल्पसंख्यक पिछडिएको वर्ग वा समुदाय तथा द्वन्द्ध पिडित केन्द्रित वित्तीय सचेतना, मधेशका समसामयिक विषय, सामाजिक घटना, बाल बिवाह, शिक्षामा पहुँच विस्तार, मिटरब्याज विरुद्धको अभियानको लोकप्रिय टेलिभिजन सो दलानलाई, राष्ट्रव्यापी वित्तीय सचेतना कार्यक्रमको लागि बैंकले सक्दो आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी निशुल्क नारी स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य, खेलकुद, महामारी नियन्त्रण, वातावरण संरक्षण लगायतका शीर्षकहरुमा समेत गरी आर्थिक वर्ष २०८०/८१ मा ७ करोड १९ लाख रुपैयाँ योगदान गरेको छ । चालु आर्थिक वर्षमा नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरोबाट क्षति भएपछि बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा ४ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।