काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भइरहेकाे छ ।
तल्लो सदनमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका सांसद ट्रम्पविरुद्धको महाअभियोग लगाउने अन्तिम कसरतमा रहेकाे बीबीसीले उल्लेख गरेकाे छ ।
सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई सत्ताच्युत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी भइरहेकाे समाचारमा जनाइएको छ ।
पेलोसीले सम्भवत मंगलबार महाअभियोगका बारेमा पहिलो मतदान हुन सक्ने बताएकी छिन् । संसद भवनमा गएको बुधबार भएको हिंसात्मक आक्रमण तथा विद्रोहका लागि उक्साएको अभियोग ट्रम्पमाथि लगाउने तयारी छ ।
घटनामा प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएकाे थियाे । चुनावको नतिजा उल्ट्याउनका लागि हिंसाको सहारा लिएको आरोप ट्रम्पमाथि छ । सन् २०१९ को अन्तिममा पनि यसअघि उनले महाअभियोगको सामना गरिसकेका छन् । उनकाे कार्यकाल अब मात्र ९ दिन बाँकी रहेकाे छ ।