काठमाडौं । बैंकहरुको आम्दानीको स्रोत सिमित हुँदा बैंकहरुको मुनाफामा दबाब सिर्जना भएको सरोकारवालाहरुले बताएका छन् ।
नेपालको बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीको स्रोत सिमित हुँदा पछिल्लो समय मुनाफा घट्दै गएको उनीहरुको दाबी छ । बैंकहरुको ८० प्रतिशत आम्दानी कर्जा लगानीको ब्याजमा नै निर्भर रहेको छ । पछिल्लो समय बैंकहरुले निजी क्षेत्रमा कर्जा प्रवाह गर्न सकेका छैन ।
त्यसले पनि आम्दानीमा कमी देखिएको छ । बैंकर्सहरुकाअनुसार बैंकहरुको कर्जा लगानीको ब्याज तथा सावाँ समेत संकलन गर्न मुस्किल देखिएकाले आम्दानीमा मात्रै नभएर सम्पती गुणस्तरमा समेत कमजोर बन्दै गएको देखिन्छ । बैंकको सम्पती कर्जाको धितो नै ८० प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको पछिल्लो समय खराब कर्जा समेत उल्लेख्य मात्रामा बढ्दै गएको छ । यसले बैंक तथा वित्तीय संस्था समस्या र चुनौतिपूर्ण अवस्थामा पु¥याउन सक्ने अवस्था देखिएको उनीहरुको भनाई छ । बैंक तथा वित्तीय संस्थामा पर्ने असरले समग्र मुलुकको अर्थतन्त्रमा समेत चुनौति देखिने सरोकारवालाहरुको भनाई छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा तीन प्रमुख अन्तरबिरोध रहेको बताए । उनले मुलुकको अर्थतन्त्रमा मुख्य गरी बैंकिङ र वित्तीय क्षेत्रमा देखिएका समस्यासँगै आन्तरिक र वाह्य क्षेत्रको सन्तुलनमा चुनौति रहेको बताए ।
उनले बैंक तथा वित्तीय क्षेत्रको नियमन प्रभावकारी भए पनि बैंकहरुको सम्पतीको गुणस्तर घट्दो अवस्थामा रहेको बताए । उनले खराब सम्पतिको देखिने आकार मात्रै घट्दै गएको देखिए पनि नदेखिने आँकडा कहालि लाग्दो अवस्था रहेको उल्लेख गरे । उनले बैंकहरुको सम्पतिको गुणस्तर कमजोर देखिइएका अन्तर्राष्ट्रिय निकायहरुले बैंकहरुको मूल्याङ्कन परम्परागत नियमनले मात्रै नभएर ऋणीकै तहमा पुग्न र कर्जा लिएको व्यक्ति वा संस्थाले कर्जा उपयोगका विषयमा छानविन गर्नुपर्ने प्रश्न उठाएको उल्लेख गरे ।
उनले प्रभावकारी नियमन भएपनि बैंकको सम्पति गुणस्तर नहुँदा चाहेको क्षेत्रमा लगानी प्रवाह हुन नसकेको बताए । उनले बैंक तथा वित्तीय संस्था र रियल क्षेत्रबीचको सम्बन्ध प्रभावकारी नभएको बताए ।
उनले अहिले बजारमा ७ सय अर्ब बढी तरलता भएपनि व्यक्तिको हातमा तरलता नभएको बताए । उनले बजारमा गएको तरलता व्यक्तिको हातमा पुग्ने संयन्त्र कुण्ठित भएको उल्लेख गरे । उनले उद्योगी व्यवसायीहरुमा धेरै कर्जाको भार भएकाले अहिले थप कर्जा लिनसक्ने अवस्था नभएको र जोखिम व्यहोर्नसक्ने क्षमता नभएको दाबी गरे ।
उनले उधारो व्यापारको कारण समस्या बन्दै गएको जानकारी दिए । उनले २२ वटा समस्याग्रस्त सहकारीले मात्रै ४२ अर्ब निक्षेप फिर्ता नभएको र समस्याग्रस्त हुने सहकारीमा थप गरी करिव ७८ अर्ब रकम आम नागरिकको हातबाट गुमेको बताए । खनालले वाह्य क्षेत्र राम्रो हुँदा आन्तरिक क्षेत्रको सबलता बढ्नुपर्ने बताए ।
उनले आन्तरिक क्षेत्र बलियो नभएको कारण निर्यातमा कमी देखिएको र यसले वाह्य क्षेत्रको विकासमा चुनौति सिर्जना गरेको बताए । उनले निजी क्षेत्रको लगानी वृद्धि र फस्टायो भने मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने उल्लेख गरे ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंकको आम्दानी स्रोत सिमित हुँदा नाफामा दबाब देखिएको बताए । उनले अहिले औषतमा बैंकहरुको खराब कर्जा ४.४२ प्रतिशत पुगेको भन्दै अझै थपिने अवस्था देखिएको बताए । उनले बैंकहरुको ८० प्रतिशत आम्दानी ब्याजमा नै निर्भर रहेको दाबी गरे ।
उनले बैंकको सम्पती लोनको धितो नै ८० प्रतिशत रहेको बताए । उनले बैंकको आम्दानी स्रोत एकै किसिमको मात्रै रहेको बताए । उनले २०४० सालमा जब निजी क्षेत्र प्रवेश गरेसँगै ४० अर्ब निक्षेपको आकार ८ प्रतिशत कर्जामा देखिएको उल्लेख गरे । उनले अहिले कुल जिडिपिको ९० प्रतिशत कर्जा निजी क्षेत्रको ऋण पुगेको बताए । उनले बैंकबाट कर्जा लिनेहरु अलि बढी जिम्मेवार हुनुपर्ने अवस्था देखिएको उल्लेख गरे ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुरेन्द्र रेग्मीले बैंकहरुको आरोही घट्दै गएको बताए । उनले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या र चुनौति समाधान गर्नको लागि एकजुट हुनुपर्नेमा जोड दिए । उनले बैंकहरुको खराब कर्जा बढेर गएको बताए । उनले बैक विरुद्ध विभिन्न खालका नकारात्मक गतिविधिहरु हुने गरेको बताए ।
उनले देशमा बैंक तथा वित्तिय संस्थाको विकास हुन नसके मुलुकको आर्थिक विकास हुन नसक्ने उल्लेख गरे । उनले बैंकहरुले जनताको पैसा लगानी गरेकाले बैंकमा र्फिता आउन सकेन भने अफ्ठ्यारो अवस्था आउने बताए ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले बैंकहरुले सम्भावना भएको क्षेत्रमा लगानी गर्दै आएको बताए । उनले ऊर्जाको क्षेत्रमा बैंकहरुको लगानी उच्च रुपमा भएको बताए । उनले जलविद्युतमा बैंकको लगानीकै कारण विद्युत उत्पादन गरी निर्यातमा थालनी भएको बताए ।
उनले सिमेन्टमा पनि भारत निर्यात गर्ने अवस्थामा पुगेको बताए । उनले स्टिल,सिमेन्ट लगायत अन्य उद्योगमा लिएको सफलता बैंकहरुको लगानीको कारण भएको उल्लेख गरे ।
उनले बैंकहरुले उद्योग व्यवसायीमा ७२ प्रतिशत बढी लगानी गरेको दाबी गरे । उनले कृषि क्षेत्रमा बैंकको लगानी नभएको आरोप लाग्दै आएको बताए ।
उनले कृषि क्षेत्रमा बैंकको लगानी हुनुमा बैंकहरु मात्रै उत्तरदायित्व भित्र नभएको बताए । उनले कृषिमा राज्यले दिन सक्ने सुविधा दिन नसक्दा कृषकले कर्जा तिर्न नसक्ने देखेर लगानी नगरेको स्पष्ट गरेको बताए ।