काठमाडौं । लालुपाते हाइड्रोपावर कम्पनी प्रालिले निर्माण सुरु गरेको ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ । सानिमा बैंकको अगुवाइमा ७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ । जसमा नेतृत्वकर्ता बैंक सानिमाले १ अर्ब ९७ करोड, नबिल बैंकले १ अर्ब ५० करोड, सिटिजन्स बैंकले १ अर्ब रुपैयाँ दाना खोला आयोजनामा ऋण लगानी गर्ने भएका छन् ।
ऋण लगानी गर्ने अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआइ बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १÷१ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । ऋण लगानी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । सम्झौतापत्रमा लालुपाते हाइड्रोपावरका कार्यकारी अध्यक्ष मोहनकुमार डाँगी र नेतृत्वकर्ता बैंकको तर्फबाट निश्चल पाण्डेले हस्ताक्षर गरेका छन् ।
आयोजना बनाउन कूल ९ अर्ब ९६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये बैंकहरुले ७ अर्ब ४७ करोड रुपैयाँ ऋण र २ अर्ब ४९ करोड रुपैयाँ संस्थापकहरुको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ । २५ प्रतिशत संस्थापकको स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण लगानी हुनेछ ।
इक्विटीमध्ये ३० प्रतिशत साधारण सेयर (आइपिओ) जारी गरेर जुटाउने तयारी कम्पनीको छ । १० प्रतिशत (२४ करोड ९० लाख) आयोजना प्रभावित स्थानीयबासिन्दालाई र २० प्रतिशत (४९ करोड ८० लाख रुपैयाँ) सर्वसाधारणलाई आइपिओ जारी गर्ने लक्ष्य रहेको उनले सुनाए । अध्यक्ष डाँगीका अनुसार सर्वसाधारणबाट कूल ७४ करोड रुपैयाँ संकलन हुने भएको छ । बाँकी १ अर्ब ७४ करोड ३० लाख रुपैयाँ मध्ये अहिलेसम्म १ अर्ब रुपैयाँ संकलन भइसकेको छ ।
आयोजना निर्माण सुरु गरेको ३३ महिना १४ दिनमा सम्पन्न गर्ने अध्यक्ष डाँगी जानकारी दिएका छन् । आयोजनाको सुरुङ खन्ने काम एक महिनाभित्र सुरु गर्ने उनले बताए । अहिले विद्युतगृह क्याम्प, सेना बस्ने क्याम्प र आयोजनास्थलसम्म पुग्न आवश्यक पंहुचमार्ग निर्माण भइरहेको अध्यक्ष डाँगीले बताएका छन् ।
आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिदबिक्री सम्झौता (पिपिए) भएको छ । आयोजनाको प्रवद्र्धक लालुपाते हाइड्रो पावर र विद्युत प्राधिकरणबीच गत मंसिर ७ गते विद्युत खरिद सम्झौता पिपिए भएको हो ।
प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० र वर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने गरी पिपिए भएको छ । प्राधिकरणले आयोजनाका लागि विद्युत उत्पादनको समय २०८४ कात्तिक २ गते तोकेको छ । आयोजना मनाङको नासो गाउँपालिकामा पहिचान भएको हो ।
आयोजनाबाट वार्षिक ३० करोड २२ लाख ७० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ । आयोजना प्रभावित ४२ घरलाई आयोजनाले नै बैंकबाट ऋण लएर सेयरमा लगानी गराउने भएको छ ।
विद्युत उत्पादनका लागि दाना खोलाको पानी फर्काइ बनाइने बाँधको कूल लम्बाई १६.११ मिटर र उचाई ५ मिटर हुनेछ । अध्ययनअनुसार मुख्य सुरुङ ३ किलोमिटर लामो हुने तथा विद्युतगृह भूमिगत रहने प्रस्ताव गरिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङको धारापानी सबस्टेसनमा जोडिने छ । आयोजनामा स्थानीयबासिन्दाको सहयोग राम्रो भएको उनले जानकारी दिएका छन् ।
यो पनि :
दाना खोला जलविद्युत आयोजना : सानिमा बैंकको अगुवाइमा साढे ७ अर्ब लगानी, चार वर्षमा सक्ने लक्ष्य