काठमाडौं । पछिल्लो समय मुलुकका प्रमुख शहर र पर्यटकीय गन्तव्यहरुमा ठूला लगानीमा पाँचतारे होटल निर्माण भइरहेका छन् । नयाँ होटलमा व्यवसायीहरुले अर्बौं रुपैयाँ लगानी गरिरहेका छन् । बैंकहरुले पनि होटलमा ऋण लगानी बढाइरहेका छन् ।
यसैगरि आरभी ग्रुपको लगानीमा ललितपुरको कुपन्डोलमा पाँचतारे साइयन होटल निर्माण हुने भएको छ । होटलको निर्माण साइयन होटल्स प्रालिले गर्ने भएको छ ।
होटल बनाउन २ अर्ब ८६ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । होटलमा ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत आरभी ग्रुपको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ । होटल निर्माण प्रारम्भिक चरणमा रहेको साइयनले जनाएको छ ।
यो प्रारम्भिक लागत भएकाले होटल परियोजनाको लागत अझ बढ्न सक्ने संभावना छ । होटल निर्माणमा ढिलाइ हुन गए लागत थपिने जोखिम पनि छ ।
जग्गाको अधिक मूल्यका साथै क्यासिनो र बैंक्वेट पूर्वाधारसमेत गरी होटलको प्रतिकोठा लागत २ करोड ६० लाख रुपैयाँ लाग्ने देखिएको छ । होटलमा १ सय १२ कोठाहरु हुने छन् । जग्गाको मूल्यले गर्दा होटलको लागत बढेकाे हो ।
संस्थापकले आवश्यक इक्विटीको १८ प्रतिशत रकम लगानी गरिसकेको छ । ऋण भागको लागि वित्तीय व्यवस्थापन हुन अझै बाँकी नै छ । बैंकसँग ऋण लगानी सम्झौता नभएकाले अहिलेसम्म इक्विटी र ब्रिज ग्याप लोनबाट प्रारम्भीक कामका लागि खर्च गरिएको छ ।
अहिलेसम्म १७ प्रतिशत वित्तीय प्रगति भएको प्रस्तावित होटलले जनाएको छ । होटल २०२७ को जुलाइ (२०८३ असार) सम्म सञ्चालनमा ल्याउने तयारी छ । होटल अन्तर्राष्ट्रिय चेन ह्यात प्लेस ब्राण्डमा सञ्चालन हुने भएको छ ।
प्रस्तावित होटल काठमाडौं उपत्यकाको केन्द्रमा अवस्थित हुनेछ । ऐतिहासिक स्थलहरू र अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको प्रस्तावित होटल वरपरका धेरै कर्पोरेट कार्यालयहरू, कूटनीतिक नियोगहरू र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु (आईएनजीओ) को उपस्थितिले होटलको व्यापार बढाउने देखिएको छ ।
कुपन्डोलमा अर्को पाँचतारे समिट होटल निर्माण भइरहेको छ । कुपन्डोल हाइटमा रहेको समिट होटललाई भत्काएर व्यावसायिक घराना सिजी, एनई र समिट समूहले ६ अर्ब लगानीमा लक्जरी पाँचतारे होटल र अपार्टमेन्ट निर्माण गरिरहेको छ । शर्मा एन्ड कम्पनीलाई तिनै व्यावसायिक घरानाले पाँच/पाँच प्रतिशत सेयर दिएका छन् । प्रवद्र्धक समूहमा आरभी समूहका व्यक्तिहरू समावेश छन्, जसको निर्माणमा दशकौंको अनुभव छ ।
होटलको स्थापना सन् २०२१ मा भएको हो । होटल १५ हजार ५७ वर्गमिटर क्षेत्रफलमा फैलिने भएको छ । होटलमा अनिसा अग्रवाल र कविता अग्रवालको समान हिस्सा रहेको छ । होटलले २ अर्ब २० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।