logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा

    विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा

    161
    Shares
    विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा

    काठमाडौं । विद्युत नियमन आयोगले सेवाग्राही संस्थाहरुको लागि प्रवाह गर्दै आएको सेवालाई छिटो, छरितो र प्रभावारी बनाउन अनलाइन सफ्टवेयरमा आधारित ‘डकुमेण्ट म्यानेजमेण्ट सिस्टम (डिएमएस)’ सञ्चालनमा ल्याएको छ ।

    वुधबार आयोगमा आयोजित एक कार्यक्रमका बीच उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् ।

    डिएमएस प्रणालीले आयोगमार्फत प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई गुणस्तरीय, जिम्मेवार तथा जवाफदेही बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । उक्त प्रणाली लागू भएसँगै अनुमतिपत्र शेयरको सार्वजनिक निस्काषन, विद्युत खरिद विक्री सम्झौता तथा संशोधन र शेयर संरचना परिवर्तन सम्बन्धी सम्पूर्ण कामकारबाही गर्न सकिने आयोगको दाबी छ ।

    डिएमएस प्रणालीको शुभारम्भ गर्दै मन्त्री खड्काले नियमन आयोगले विद्युत क्षेत्रसँग सम्बन्धित नियमन दायरा ठूलो भएको उल्लेख गर्दै त्यस दायरालाई कार्यान्वयन गर्न सक्नुपर्ने बताए । उनले उर्जा क्षेत्रको विकासका लागि अल्मलिने छुट कसैलाई नभएको बताए ।

    उनले सरकारले लिएका लक्ष्यहरु पूरा गर्न आफूलाई परिमार्जित गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले बजार सुनिश्चित भइसकेको उल्लेख गर्दै विद्युत उत्पादन २८ हजार ५ सय मेगावाट पुर्याउने सरकारको लक्ष्य वैज्ञानिक भएको दाबी गरे ।

    उनले भारतसँग विद्युत निर्यातका लागि सम्झौता मात्र नगरिएको उल्लेख गर्दै विद्युत निर्यात समेत भइरहेको जिकिर गरे । उनले तत्कालीन अवस्थामा बजार सुनिश्चित भएकाले उर्जा क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गर्दै लक्ष्य पूरा गर्नेगरि काम गर्नुपर्ने बताए ।

    उर्जा क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदान रहेको उल्लेख गर्दै मन्त्री खड्काले ट्रान्समिसन लाईहरुमा निजी क्षेत्रलाई सँगै लिएर अगाडि बढ्ने गरेर कार्यविधि तयार गरिएको स्पष्ट पारे ।

    उनले भने, ‘नियमन आयोगले विद्युत क्षेत्रसँग सम्बन्धित सबै कुरा नियमन गर्नुपर्ने अत्यन्तै ठूलो दायरा छ । त्यो सम्पूर्ण दायरालाई कार्यान्वयन गर्नसक्नुपर्छ । मेन पावरको कमी हो भने त्यो पनि गर्नुपर्यो । अल्मलिने अब हामीलाई छुट छैन । त्यसको भएको कारणले प्रविधिको पूर्ण रुपले कार्यान्वयन गर्ने जुन कुरा छ त्यसमा कम्पनी मात्र लेखिएको छ ।

    व्यक्तिगत समस्याहरु पनि हुन्छन् । यदि व्यक्ति दियो भने तपाईको सिस्टमले कभर नगर्न सक्छ । त्यसो भएको कारणले त्यतापट्टि पनि ध्यान जाओस् म आग्रह गर्न चाहन्छु । सरकारले लक्ष्य लिएको छ । हिजो के भएभन्दा पनि अब समयअनुसार हामीले आफूलाई परिमार्जित गरेर अगाडि बढ्नुपर्छ । त्यसो भएको कारणले सरकारले निश्चित लक्ष्य लिइसकेको छ ।

    विद्युत उत्पादन २८ हजार ५ सय मेगावाट पुर्याउने डाटा वैज्ञानिक ढंगको छ । यदिले पुग्दैन होला । हामी अझै बढी उत्पादन गर्नसक्छौं । र हाम्रो बजार सुनिश्चित भइसकेको छ । अहिले भारतमै पनि हामीले सम्झौता मात्र गरेका छैनौं विद्युत विक्री पनि गरेका छौं । त्यहाँको अभावबारे पनि हामीलाई थाहा छ ।

    मैले उर्जा क्षेत्रलाई एकदमै महत्वपूर्ण क्षेत्रको रुपमा देखेको छु । त्यसकारण तपाईको बाँकी जीवन पनि यही क्षेत्रमा सहयोग गर्नमा बिताउन आग्रह गर्न चाहन्छु । अहिलेको तत्कालीन अवस्थामा बजार सुनिश्चित भएका कारणले यो क्षेत्र अत्यन्तै महत्वपूर्ण छ र हाम्रो र हाम्रो उपयोग पनि दिनानुदिन बढ्ने लक्ष्यका साथ काम गर्नुपर्ने आवश्यकता छ ।’

    कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत नियमन आयोगले अझै नियमनकारी भुमिका खेल्न जरुरी रहेको बताए । उनले नेपाल विद्युत प्राधिकरण लगायत उर्जा मन्त्रालय मातहत रहेका निकायहरुलाई नियमन गर्न जरुरी रहेको बताए ।

    सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको निर्णय ऐतिहासिक भएको समेत उनले बताए । उनले सरकारको यस लक्ष्यलाई पूरा गर्न सबैले हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए ।

    उर्जा क्षेत्रसँग सम्बन्धित कम्पनीहरुलाई आईपिओ निष्कासनका लागि असहज भइरहेको उनको भनाइ छ । विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरेपनि धितोपत्र बोर्डले रोक्ने गरेको उनको गुनासो छ । उनले सेवन नै ठूलो भए आईपिओ स्वीकृतीका लागि किन विद्युत नियमन आयोगमा आउनुपर्ने ? भन्दै प्रश्न गरे ।

    उनले भने, ‘विद्युत नियमन आयोग भनेको वास्तवमा निजी क्षेत्रले पनि सबैभन्दा धेरै आवाज उठाएको संस्था हो । यसमा पनि कहीँ न कहीँ नियमन हुनुपर्दछ । नेपाल सरकारको नेपाल विद्युत प्राकिरणलाई पनि नियमन गर्नुपर्छ भनेर हामीले धेरै पटक भनेका पनि छौं । किनभने अहिले ७ सय भन्दा बढी कम्पनीहरु छन् । नेपाल सरकारले भर्खरै मात्र सन् २०३५ सालसम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने भनेर भनेको छ ।

    साँच्चै नै यो ऐतिहासिक निर्णय हो । यसपछि यो भन्दा ठूलो निर्णय हुन्छ भन्ने मलाई लाग्दैन । यसका लागि हामी सबै मिलेर लाग्न सकेमात्र सम्भव छ । हुन् त त्यसभित्र त्यसभित्र थुप्रै कुराहरु छन् । २८ हजार ५ सय विद्युत उत्पादन गर्नको लागि बनका समस्याहरु छन् । विद्युत प्राधिकरणमा पिपिए खोल्नेदेखि लिएर थुप्रै कुराहरु गर्नुपर्छ ।

    २८ हजार ५ सय मेगावाटको बिजुली कल्पना गर्दैगर्दा २ हजार वटा कम्पनीहरु हुन्छन् यहाँ । त्यत्रो कम्पनीको सेयर कहिले कसले किन्यो भनेर हेर्दै जाने हो भने कहिले नियमन गर्ने हो ? अर्को कुरा हामीले आईपिओको लागि स्वीकृति लिनुपर्छ । अब त आईपिओको लागि नियमन आयोगमा जानुपर्छ भन्ने मलाई लाग्दैन ।

    यहाँबाट स्वीकृत भएपछि स्वीकृत हुन्छ भनेर जान्छौं अहिले सेबनले १८ महिनादेखि रोकेर राखेको छ । वास्तवमा सेबन नै ठूलो हो भने हामी किन विद्युत नियमन आयोगमा आउनुपर्ने ?’

    विद्युत नियमन आयोगबाट स्वीकृती पाइसकेपछि उर्जा क्षेत्रसँग सम्बन्धित कम्पनीहरुले सिधै आईपिओ निष्कासन गर्न पाउनुपर्ने उनको माग छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend