काठमाडौं, (प्रचण्ड- माधव) समुहको नेकपाका अध्यक्ष माधव कुमार नेपालले फेरी एकचोटि आन्दोलनको ज्वारभाटा ल्याउनुपर्ने बेला आएको बताएका छन्।
नेपाल बुद्धिजीवी संगठनले काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटन, प्रतिगामी कदम विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र र स्थायित्वमाथि प्रहार गर्ने काम गरेको भन्दै त्यसका विरुद्ध सबै एकजुट भएर आन्दोलन गर्नुपर्ने बताए। ओलीले संविधानमा हुँदै नभएको धारा राखेर गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम सर्वोच्च अदालतले बदर गरिदिने नेपालको जिकिर थियो।
ओलीको कार्यशैलीबाट पार्टीका नेता कार्यकर्तामात्रै नभएर प्रतिपक्षी समेत पीडित भएको नेता नेपालको भनाई थियो। उनले ओलीले आफ्नो पक्षमा भजन गाउनेहरूलाई मात्रै समातेर अघि बढिरहेको आरोप लगाए।
अध्यक्ष नेपालले आफु र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सूर्य चुनाव चिन्ह र पार्टीको नाम पनि आफूहरुकै हुने जिकिर गरे।