आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

ओली–प्रचण्डले एक अर्कालाई खुइल्याउन प्रयोग गरेका उखानको व्यंग्यवाण : कमिलाको प्वाँखदेखि भ्यागुताको भुँडीसम्म (भिडियोसहित)

ओली–प्रचण्डले एक अर्कालाई खुइल्याउन प्रयोग गरेका उखानको व्यंग्यवाण : कमिलाको प्वाँखदेखि भ्यागुताको भुँडीसम्म (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा देखिएको आन्तरिक विवादका कारण प्रतिनिधिसभा भंग भएर देशमा मध्यावधि चुनाव घोषणा भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली चुनावको तयारीमा लागिरहेका छन् भने अन्यपार्टीसहित नेकपाको प्रचण्डमाधव समूह प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेका छन् । 

नेकपाको दुवै समूह अहिले कार्यकर्ता भेला तथा सभा समारोहमा व्यस्त छ । सभासमारोहमा केपी शर्मा ओलीले अर्का समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई व्यंग्यवाण प्रहार गरिरहेका छन् । प्रचण्ड र नेपालले पनि ओलीकै शैलीमा प्रतिउत्तर दिइरहेका छन् । 

कार्यकर्ता भेलाका क्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले एकअर्कालाई खुइल्याउन प्रयोग गरेका आरोप प्रत्यारोप 

केपी शर्मा ओली – माधव–प्रचण्डको प्रवृत्ति औँलामा थुक लगाएर एक अर्कामा सार्ने र जादु देख्यौ भन्ने जस्तो । मैले त नबुझेजस्तो गरेर बसिरहेँ । यस्तो जादु उहाँहरुले धेरै देखाउनुभयो । ए अँ हो भन्दै बसेँ । तर मैले देखेको छु औँला स्वाट्ट स्वाट्ट सारेको । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ – अहिले हाम्रो केपी जीलाई के लाग्छ भने,  भ्यागुताले पेट यति ठूलो यति ठूलो भन्दा भन्दै फुलाउँदै जान्छ रे भन्दा भन्दा भन्दै ठूलो बनाउँदा बनाउँदै भुँडी फुटेर मरेको भन्ने कथाजस्तै ओलीजी पनि यति ठूलो यति ठूलो भनिराख्नु भएको छ । नफुटुञ्जेल उहाँ पनि भुँडी फुलाइरहनु हुन्छ । हामी हेरिराखेका छौँ कुन दिन फुट्छ । 

केपी शर्मा ओली – ‘मौत आति हे तो चिटी के पांव उठ्जाति हे’  कमिलालाई काल आयो भने पखेटा पलाउँछ रे । काल नआउन्जेल प्वालभित्र लुकिरहेको हुन्छ । कमिलाहरुको ताँतीको नै काल आएपछि पखेटा पलाउँछ । पखेटा पलाएपछि प्वालभित्र बस्नुभएन, बाहिर निस्किएर फुरफुर उड्न थाल्छ । चराहरु घुमिरहेको हुन्छ, त्यही खोजेर जति फुत्त निस्केर फुरुर्र उड्छ, ट्याप्प पार्‍यो… ट्याप्प पार्‍यो… ट्याप्प पार्‍याे… । अहिले यिनीहरु फुरफुर फुरफुर भएका छन् । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ – केपी ओली पनि कमिलाको प्वाँख उम्रेपछि सिद्धिन्छ भन्छन् । उहाँको प्वाँख उम्रको देखेको छु मैले । उहाँको धेरै महिना जाने वाला छैन । नेपाली जनताले छोड्नेवाला छैनन् हामी छोड्ने वाला छैनौँ । उहाँ गणतन्त्र विरोधी हो भन्दैमा नेपाली जनता गणतन्त्र विरोधि होइनन् । पार्टीका सबै नेता तथा कार्यकर्ता गणतन्त्र विरोधि होइनन् । उहाँ गणतन्त्र विरोधी हो भन्ने हामीलाई थाहा छ नेपाली जनतालाई पनि थाहा छ । 

केपी शर्मा ओली –  मेरा डोभ साबुनका धेरै डल्लाहरु खर्च भए । धेरै स्याम्पुहरु खर्च भो । ड्रमका ड्रम पानी ट्याङ्कीका ट्याङ्की पानी खतम भो उहाँलाई धुँदा धुँदा सम्झाउँदा सम्झाउँदा । साबुन लगायो पखाल्यो जस्तातस्तै । तपाईँहरुले देखिहाल्नुभयो । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ – सच्चिए होलान कि सच्चेलान् कि भन्ठानेको त के को हुन्थ्यो कुकुरको पुच्छर जति तेल लगाएपनि बांगाको बांगै । हामीले कम तेल लगाएनौँ । सबैभन्दा बढी तेल त मैले नै लगाएँ होला यो तीन वर्षमा ।

माधव कुमार नेपाल – राजा नाङ्गै हिँडे छ सडकमा । कसैको हिम्मत भएन राजा नाङ्गै हिँडेको छ सडकमा भन्ने । त्यो भन्दा पहिला राजालाई ऐना देखाइएछ । उसको मनले भन्दैछ म त नाङ्गै छु अनि सोधेछ, कस्तो छ यो लुगा लगाएको मैले ? गजब छ महाराज यति सुन्दर पोसाक छ तपाईँलाई कति सुहाएको छ भनेपछि दंग परेछ । त्यसपछि सडकमा निस्केछ निस्केपछि मान्छे यसो कानेखुसी गर्छन् राजा त निरंकुश छ थाहा पायो भने उसले तुरुन्तै काट्न सक्छ । गोली ठोक्न सक्छ । हिम्मत गरिरहेका थिएनन् । त्यही बेलामा एउटा सत्य कुरा बोल्ने, साँचो बोल्ने एउटा अबोध बालकले भनेछ राजा त नाङ्गै छन् । बालकले भनेपछि फेरि सबैले भन्न थालेछन् राजा त नाङ्गै छन् । सबैले भनेपछि राजाको बेइजत भएछ त्यसपछि राजा फर्किएछन् । अहिले केपी ओली पनि नांगै राजाको रुपमा रहेका छन् । 

केपी ओली – अपमान भयो मेरो । मान पाइन मैले त्यसैका लागि प्रयोग हुनुभयो । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ – कहिलेकाहीँ यो विक्षिप्त मानसिकताको उपज हो कि भनेको जस्तो लाग्छ । साथीहरु विक्षिप्त भएछन् कि के हो भन्ने डर लाग्छ । उनीहरुले बोलेको सुन्दा उनीहरुको तर्कहरु सुन्दा । कहिलेकाहीँ साथीहरु जोकरमा परिणत हुनुभएछ क्यारे । पोलिटिकल जोकर, जोकर जस्तो लाग्छ । हाम्रै साथी थिए, छन् अहिले पनि उनीहरुलाई देख्दा बढो अनौठो लाग्छ । 

माधव कुमार नेपाल – अहिले हेर्नुहोस् त । डम्बरु बजाउँदै, टिकट बाँड्दै केन्द्रीय कमिटीको सदस्य बन्न आउ भनेर उहाँले भनिरहनुभएको छ । ४४१ को संख्या बढाएर ५५६ पुर्याउनुभयो । ५५६को संख्या बढाएर १५०१ बढाउनुभयो । १५०१ को संख्या बढाएर म सुन्दैछु २५०१ पुग्दैछ । २५०१ ले नपुगेपछि कम्तीमा ५ हजार त पुग्छ होला । उहाँको त्यो सडकछाप पार्टीमा को को जाने हो हेर्न मात्र बाँकी छ । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ – केपी ओली त हाँसी हाँसी भन्नुहुन्छ । उहाँलाई त रमाइलो भएजस्तो । देश बर्वाद भइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ । उहाँ त विजेताजस्तो । सामान्य स्वभाविक मान्छे यस्तो हुँदैन । नराम्रो काम गर्दा त अलि डर लाग्ने, लाज लाग्ने अलि गम्भीर हुने पो हुनुपर्ने तर उल्टो सबै भाँचकुच पारेको छ खुसी भएर हिँडेको छ यो त ताण्डव नाँच भन्छन् नि ताण्डव नृत्य । मैले त उहाँको नृत्यलाई ताण्डव नृत्यजस्तो लागेको छ । भाङ खाएर नाचेको जस्तो । 

यसअघि केपी शर्मा ओलीले कार्यकर्ता भेलाका क्रममा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई लक्षित गरी ‘रुखै मेरो हो भन्छ, भेट्नो कुहेर झरेका फलले’ भनी कटाक्ष गरेका थिए । 

हेर्नुहाेस् भिडियाे : 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend