२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

हेल्प नेपाल नेटवर्क यूकेले मनायो २५औं वार्षिकोत्सव

सोमवार , पौष २९, २०८१

लन्डन । हेल्प नेपाल नेटवर्क यूकेले स्थापनाको २५ औं वार्षिकोत्सव मनाएको छ । हेल्प नेपालले आइतबार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा एक समारोहबीच वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले शुभकामना दिंदै हेल्प नेपालले नेपालका लागि गरेको योगदानको प्रशंसा गरे । ‘देश दुःख्दा विदेशमा झन् बढी दुख्छ, तपाईंहरुले नेपाल अप्ठेरोमा पर्दा सहयोग गरिरहनु भएको छ । यो प्रशंसनीय छ,' उनले भने ।

अरुको अस्तित्व स्वीकार्न सक्नु नै मानवता भएको जनाउंदै उनले हेल्प नेपालले त्यो मानवता प्रदर्शन गरेको बताए । प्रशासनिक खर्च नगरि चन्दा रकम सबै च्यारिटीमा लगाउनु निकै सरहानीय भएको उनले बताए । प्रष्ट देखिने खालको नतिजा आउने गरी परियोजनाहरु संचालन गर्न पनि उनले सुझाव दिए।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै उपाध्यक्ष प्रसिद्ध प्रधानले परोपकारमार्फत् नेपाली डायष्पोरालाई नेपालसंग जोड्ने उद्देश् ले स्थापित हेल्प नेपाल अहिले करिब एक दर्जन देशमा फैलिएको जनाए ।

अध्यक्ष सचिन श्रेष्ठले आफ्नो संस्थाले गरेका कार्यक्रमबारे जानकारी दिंदै हेल्प नेपाल नेटवर्कले विशेष गरि शिक्षा, स्वास्थ्य र प्राकृतिक विपत्तिमा सहयोग गरिरहेको बताए। उनले हालसम्म संस्थाले १७ हेल्थ क्याम्पसहित २१ स्वास्थ्यसम्बन्धी प्रोजेक्ट गरेको, ४० लाइब्रेरी र ५० बढी इ-लाइब्रेरी स्थापना, गोर्खा, दोलखा र सिन्धुपाल्चोकमा भूकम्प बाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माण, विभिन्न स्कूलहरुमा ६८ वटा कक्षा कोठा निर्माण साथै तीनवटा हेल्थ पोष्टको सञ्चालनमा सहयोग गरेको जनाए ।

संस्थाले काभ्रेको धुलिखेलमा बालगृह र मुगुको मुर्मामा हेल्थ पोष्ट सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा शिव कल्चर मन्दिर अध्यक्ष विक्रम भट्टराई, पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापति, नेपाल पत्रकार महासंघ बेलायतका निवर्तमान अध्यक्ष ध्रुवराज अर्याल, समाजसेवी शिवजी श्रेष्ठ, बुद्ध फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठ, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, आरजिएनएसका महासचिव ह्यारी गुरुङ, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा. कपिल रिजाल, अधिवक्ता सुरेन्द्र श्रेष्ठ, समाजसेवी एकिन्द्र गुरुङ, युवा उद्यमी किशोर सापकोटा, तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले शुभकामना दिएका थिए ।

त्यसैगरि एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, एनआरएनए यूके आइसीसी सदस्य दिलरास गुरुङ र ले. रि. चन्द्र गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङ, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ र हेल्प नेपाल नेटवर्क यूकेका सल्लाहकार चिरन्जिवी ढकालले पनि शुभकामना दिंदै संस्थाको परोपकारी कार्यले अझ तीव्रता पाओस् भन्ने कामना गरेका थिए ।

हेल्प नेपालको सहयोगार्थ ल्हासादेखि माउण्ट एभरेष्ट हुंदै काठमाडौं साइकल यात्रा गरेका दिनेश पाल तथा मुगुको हेल्थ पोस्टको भ्रमण गरेका चन्द्र देवकोटाले आफ्नो अनुभव सुनाएका थिए ।

संस्थाका कार्यसमिति सदस्य तथा ब्रिटिश आर्मीका मेजर डा. सुदर्शन गुरुङले ‘ब्लड फर नेपाल’ प्रोजेक्ट अन्तर्गत आफुले नेपालका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने बताए । हेल्प नेपाल नेटवर्क यूकेका सल्लाहकार सूर्य गुरुङले धन्यवाद मन्तव्य दिंदै संस्थाले नेपालका दुर्गम क्षेत्रमा पनि सेवा पुराइ रहेको जनाए।

‘यो संस्था अहिले एक पवित्र र साझा ग्लोवल संस्था बन्दै गएको छ । तपाईंहरुको साथले नै यो सम्भव भएको हो’, गुरुङले भने ।

सो अवसरमा हेल्प नेपाल नेटवर्कको २५ औं वार्षिकोत्सवको अवसरमा नेपाली साइकिलिङ क्लब यूके टीमले आगामी मे महिनामा पोर्चुगलदेखि स्पेनसम्मको च्यारिटी साइकल यात्रा गर्ने घोषणा गरियो । उक्त साइकलयात्राबाट संकलित कोष डा सुदर्शन गुरुङले मुगुमा सञ्चालन गर्ने हेल्थ प्रोजेक्टमा खर्च गरिनेछ ।

कार्यक्रममा नेटवर्क मार्फत आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोगी एवं स्वयंसेवकहरुलाई कार्यवाहक राजदूत दुवाडीले संस्थाको तर्फबाट प्रशंसापत्र प्रदान गरेका थिए ।

कार्यक्रममा चित्रकार गोविन्द शाह आजादले प्रायोजन गरेको चित्रकला (मण्डला) र सुशील प्रजापतिले प्रायोजन गरेको सारंगी ‘अक्शन’ गरिएको थियो ।

हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डीनेटर, डिला खरेल, हेल्प नेपाल नेटवर्क नेपाल अध्यक्ष अरुण सिंह बस्नेत लगायतले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना संदेश पठाएका थिए। नेटवर्कका मिडिया संयोजक भगीरथ योगीले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट