काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छन् ।
राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शिक्षासँग, योगसँग नजोडिकन समाजलाई समृद्ध बनाउन नसकिने बताइन् । उनले योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी रहेको र अब आगामी शैक्षिकसत्रदेखि योगलाई विद्यार्थीको जीवनसँग जोड्ने प्रतिवद्धता जनाइन् ।
शिक्षा र स्वास्थ्य आजको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय रहेको बताइन् । योगलाई जीवनमा ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
मन्त्री भट्टराईले भनिन्, ‘योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी छ । अब हामी संकल्प गरौँ । योगलाई विद्यार्थीको जीवनसँग जोडौँ । हरेक विद्यालयको अभ्याससँग जोडौँ । हाम्रा विद्यार्थीका क्रियाकलापसँग जोडौँ ।
जसले गर्दा हामीले संस्थागत विद्यालय अर्थात समृद्ध भएका विद्यालय मात्र होइन, सार्वजनिक विद्यालयमा पढ्ने विपन्न विद्यार्थी, जसको मनोविज्ञान र मनोबललाई बढाउन पनि योग र ध्यानले प्रश्रय गरोस् । त्यसका लागि अब आउने सेसनबाट हाम्रा अभ्यासहरु शुरु गर्नुपर्छ ।
त्यस काममा लाग्नुपर्छ । त्यसप्रति प्रतिवद्ध भएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लाग्नेछ । शिक्षा र स्वास्थ्य आजको महत्वपूर्ण विषय हो । यो राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय छ । शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै हामीले समृद्ध समाजको निर्माण गर्नसक्छौँ । शिक्षासँग योग नजोडिकन हामीले समाजलाई समृद्ध बनाउन सक्दैनौँ ।’
मन्त्री भट्टराईले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएरु अघि बढ्नसके मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउनसकिने उल्लेख गरिन् । शिक्षाको माध्यमबाट नै विगतमा समाजलाई जागरुक गरेको भएपनि अब आम नागरिकमा जागरुकता ल्याउन योग र ध्यानको आवश्यक रहेको बताइन् ।