काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताएका छन् ।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्यालीमा सहभागि हुँदै घिसिङले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताए ।
उनले निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताए । उनले यात्रुवाहक सवारी साधनमा समेत विद्युतीय गाडीको प्रयोग वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको बताए ।
उनले पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको उल्लेख गरे । उनले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी र्यालीले अभियानलाई ठूलो सहयोग पुगेको बताए ।
उनले पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद बिक्री भएको बताए । उनले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने बताए । उनले देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरु बनाउन जरुरी रहेको उल्लेख गरे ।
घिसिङले विद्युतीय चार्जिङ स्टेशनहरु मुलुकभर बनाउन जरुरी रहेको बताए । उनले सरकारले निजी क्षेत्रले ठूलो सहुलियतसहित प्रोत्साहन गरेको भन्दै ६ सय बढी चार्जिङ स्टेशनहरु निजी क्षेत्रले मात्रै बनाएको उल्लेख गरे ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युतलाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । उनले विद्युत उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गरे । उनले सबैले विद्युतीय सवारी साधन चढ्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए ।