काठमाडौं । गैरआवासिय नेपालीको लगानीमा सञ्चालित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार ओम मेगाश्रीलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको हो । आइपिओ निष्कासन गर्न लागेको ओम मेगाश्री मुलुककै पहिलो औषधी उद्योग हो ।
उद्योगले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको छ । ७० प्रतिशत संस्थापक र बाँकी ३० प्रतिशत आइपिओ निष्कासन गर्न लागेको हो । ओम मेगाश्रीको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ ।
आइपिओ निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासन यही माघको तेस्रो सातादेखि सुरु हुने कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए । उनका अनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा जानेलाई आइपिओ जारी हुनेछ । त्यसपछि सर्वसाधारणलाई निष्कासन गर्ने योजना रहेको छ ।
उद्योगले गत फागुन ७ गतेदेखि औपचारिक औषधी उत्पादन थालेको हो । २०७३ साल जेठ ३० गते प्रालिका रूपमा सुरु भएको ओम मेगाश्री २०७९ मा सर्वसाधारणलाई आइपिओ जारी गर्न पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो ।
ओम मेगाश्रीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्दै विभिन्न किसिमका औषधीहरु उत्पादन गरिरहेको छ । उद्योगको नेतृत्व एनआरएनए पूर्वउपाध्यक्ष श्रेष्ठले गरेका छन् ।
सुरुवाती चरणमै ३ लाख २८ हजार ५२ वर्ग फिटमा फैलिएको ओम मेगाश्रीको अत्याधुनिक उत्पादन प्रविधी रहेको छ । ओम मेगाश्री प्रारम्भमा कार्डियो, डाइबेटिज, न्यूरोसाइकियाट्रिक र अन्य विशेष औषधी उत्पादनमा केन्द्रित छ । ट्याब्लेट, क्याप्सुल, ओइमेन्टस, पाउडरको उत्पादन सुरु भएको छ । आगामी दिनमा आई, इयर ड्रप, सेफा प्रोडक्ट्सका औषधी ल्याउने योजना कार्यान्वयन हुने तयारीमा छ ।
कम्पनीले हालसम्म ५३ प्रकारका औषधीहरू उत्पादन गर्न अनुमति पाइसकेको छ । प्रारम्भमा विभिन्न किसिमका डेढ दर्जन औषधी बजारमा उपभोक्ताको सेवनका लागि तयार गरी सोको बजारीकरण कार्य सुचारु भइसकेका छन् ।
१ अर्ब लगानी
उद्योगमा श्रेष्ठलगायत अन्य गैरआवासीय नेपालीको गरी १ अर्ब २ करोड रुपैयाँ लगानी भएको छ । ३ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा ५६ हजार वर्गफिटको मुख्य भवन निर्माण गरिएको छ । उद्योग चितवनको जुगेडीमा रहेको छ ।
अहिले नेपाली बजारमा ९० अर्ब रुपैयाँको औषधी कारोबार हुने गरेको छ । त्यसमध्ये झण्डै ३० अर्ब रुपैयाँ बराबरको नेपाली औषधी खपत हुने गरेको छ । बाँकी भारतबाट आयात हुने गरेको छ । औषधी आयात प्रतिस्थापन गर्न उद्योगले सघाउने अध्यक्ष श्रेष्ठले बताएका छन् ।
यो पनि :
ओम मेगाश्री फर्मास्युटिकल्स : एनआरएन लगानीको ठूलो औषधी उद्योग
सवा अर्ब लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स सञ्चालनमा, यूरोपियन मापदण्डका औषधि उत्पादन गर्ने
‘म सुख होइन आत्मसन्तुष्टी र खुसी रोजेर लगानी गर्न नेपाल फर्किएँ’