काठमाडौं। प्रचण्ड- नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले संसद विघटन नभएर संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन गरेको बताएका छन्। उक्त समूहको निकट अखिल नेपाल महिला संघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी कदम हो, उनले भने “केपी ओलीले यो संसद विघटन गरेको होइन, संसद विघटन गर्ने अधिकार उनलाई छैन, उनले गरेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन हो।” नेपाली जनताले ७० बर्षको संघर्ष र बलिदानबाट प्राप्त गरेको यो उपलब्धिको हत्या हुन नदिन र यसलाई रक्षा गर्न फेरी एकपटक संघर्षको मैदानमा उत्रिनुको विकल्प नभएको उनको भनाई थियो।
अध्यक्ष प्रचण्डले जनताको अदालत नै दुनियाँको सबैभन्दा ठुलो अदालत भएकोले जनअदालतबाटै फैसला गर्नुपर्ने भनाई राखे।
ओलीको सोच पहिलेदेखि नै प्रतिगमनकारी रहेको भन्दै अध्यक्ष प्रचण्डले अहिले आएर त्यो पुष्टि पनि भएको बताए ।
अध्यक्ष प्रचण्डले केपी ओलीको प्रतिगमनविरुद्ध लगातार आन्दोलन गर्ने र माघ १६ गतेको विशाल शक्ति प्रदर्शनपछि आम हड्तालतिर जानुपर्ने अवस्था आउन सक्नेसमेत बताए।