काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोपको असमान वितरणले थप विपत्ति निम्त्याउने चेतावनी दिएको छ । धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रियससले बताएको बीबीसीमा उल्लेख छ ।
अहिलेसम्म विश्वमा तीन करोड ९० लाख डोज खाप दिएको र त्यो ४९ वटा धनी देशका मानिसले पाएको भन्दै प्रमुख गेब्रियससले यसबाट थप चुनौतीहरु आउने बताएका हुन् ।
कोरोनाविरुद्धको खोप वितरणमा विश्व विनाशकारी नैतिक असफलताको नजिक रहेको र यसको मूल्य तत्काल गरिब देशले चुकाउनुपर्ने भन्दै डब्ल्यूएचओले यस्तो अवस्थामा खोपको मूल्य बढ्ने, महामारी झन् बढ्ने भन्दै चेतावनी दिएको हो ।
विश्व स्वास्थ्य संगठनले विश्वमा खोपको बाँडफाँड गर्न यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि प्रतिबद्धता आह्वान गरेको छ । जुन कार्यक्रम अर्को महिना सुरु हुनेछ । डब्ल्यूएचओले आउँदो अप्रिल ७ तारिखमा विश्व स्वास्थ्य दिवस मनाउँदा सबै देशहरुमा खोप अभियान सुरु हुने अपेक्षा गरेको छ । अहिलेसम्म चीन, भारत, रुस, बेलायत र अमेरिकाले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् ।