logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  •  विदाइ सन्देश दिदै मेलानिया ट्रम्प

     विदाइ सन्देश दिदै मेलानिया ट्रम्प

    5.3K
    Shares

    वाशिंटन । अमेरिकाकी पहिलो महिला मेलानिया ट्रम्पले ह्वाइट हाउस छोड्नभन्दा दुई दिन अगाडि एक भिडियोमार्फत् विदाइ सन्देश दिएकी छन् । उनले आफ्ना पति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिनै लाग्दा विदाइ सन्देश दिएकी हुन् । 

    ट्विटरमा सार्वजनिक भिडियोमा उनले भनेकी छन्, ‘मेरा अमेरिकी साथीहरु, संयुक्त राज्य अमेरिकाको प्रथम महिलाको रुपमा सेवा गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो, मैले हाम्रो देशका अविश्वसनीय व्यक्तिहरुबाट प्रेरित भएकी छु ।’ 

    मेलानियाले अमेरिकी सैनिक तथा न्यायपालिकाका सदस्यहरुलाई धन्यवाद दिएकी छन् । उनले अमेरिकी क्यापिटोल हिल्समा भएको हिंसात्मक घटना र डोनाल्ड ट्रम्पले पटक–पटक भन्दै आएको चुनावी धाँधलीको बारेमा भने प्रत्यक्ष रुपमा बोलिनन् । घटनापछि राष्ट्रपति ट्रम्पलाई सामाजिक सञ्जालले प्रतिबन्ध लगाएका छन् । 

    जनवरी ६ मा भएको घटनामा प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । बुधबार हुने नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ समारोहमा हिंसा हुन सक्ने आशंकाले अमेरिकाभर सुरक्षा व्यवस्था कडा बनाइएको छ । मेलानियाले यो हिंसात्मक घटनाले आफू दुखी भएको बताइसकेकी छन्, साथै आफू जोडिएका भ्रामक र झुटा आरोपहरुले निराश बनाएको पनि उनको भनाइ थियो । सोमबार सार्वजनिक भएको भिडियोमा मेलानियाले अमेरिकी नागरिकहरुलाई आग्रह गरिन्, ‘तपाई आफूले गर्ने हरेक कुरामा धैर्य गर्नुहोस्, संवेदनशील बन्नुहोस्, हिंसा कहिल्यै पनि जवाफ हुँदैन र न्यायसंगत हुँदैन ।’

    अमेरिकामा बढ्दो कोरोना भाइरसको महामारीलाई सम्बोधन गर्दै उनले सबै नर्स, डाक्टरहरु, स्वास्थ्यकर्मी, निर्माण मजदुरहरु, ट्रक चालकहरु र मानिसको जीवन बचाउन प्रयास गरेका अरु सबैलाई धन्यवाद दिएकी छन् । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई समवेदना पनि व्यक्त गरेकी छन् । 

    तर उनले ह्वाइट हाउसमा प्रवेश गर्दै गरेकी अर्की प्रथम महिला जिल बाइडेनको स्वागत गरिनन् । राष्ट्रपति ट्रम्पले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजे आफ्नो विदाइसहित अमेरिकीलाई सम्बोधन गर्ने कार्यक्रम छ, उनी जाे बाइडेनकाे सपथ समाराेहमा भने उपस्थित नहुने बताइसकेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend