बाँके । नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न गएकी उनी घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाइन् ।
‘छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई रमाइलो लाग्यो,’ उनले भनिन् ।
मध्यवर्ती क्षेत्रमा रहेको स्वर्गद्वारी सामुदायिक वनको हरियालीले वरपरबाट घेरिएको च्यामा ताल बर्दियाको बाँसगढी नगरपालिका–२ राँझाटापुमा पर्दछ । उनले अरूलाई पनि च्यामातालको मनमोहक दृश्य हेर्न जान आग्रह गरेका गरिन् ।
पूर्णिमा जस्तै बाँके नेपालगञ्ज उपमहानगरपालिका–१८ की संगीता थापाले पनि आफू प्रायः वनभोजका लागि च्यामा सिमसार क्षेत्रमा आउने गरेको बताइन् । प्राकृतिक सुन्दरता र शान्त वातावरणमा रमाउन रूचाउने संगीता साथीभाइ र परिवारसहित घुम्न होस् या वनभोजका लागि होस् च्यामाताल नै जाने गरेको बताइन् । ‘प्रकृतिमा रमाउन मनपर्ने भएको हुनाले म यहाँ नियमित नै आउँछु’, उनले भनिन्, ‘यहाँको सुन्दरताले नै मनलाई लोभ्याउँछ । र यहाँ आएपछि बेग्लै प्रकारको खुसी मिल्छ ।’
च्यामा तालमा परिसरमा वनभोजका लागि आउनुभएका बर्दिया बढैयाताल–४ का श्यामकुमार पौडेलले पनि पूर्णिमा र संगीतालाई जस्तै उक्त तालले मनमोहक बनाएको बताए ।
च्यामातालका बारेमा आफूले सुनेको तर पहिलो पटक साथीसँग घुम्न आएको बताउँदै उनले भने, ‘म यही जिल्लाको भए पनि यहाँ पहिलो पटक आएको हुँ । साथीहरूले सुनाएको जस्तै सुन्दर र आकर्षक रहेछ ।’
च्यामाताल सिमसार क्षेत्रमा वनभोजका जानेका लागि बाँसगढी नगरपालिकाले रु ३० लाखको बजेट खर्चिएर वनभोज स्थल बनाएको वडा नं २ का वडाध्यक्ष अर्जुन खड्काले बताए । उनका अनुसार विसं २०६२/६३ तिर उक्त ताल भएको ठाउँमा पानीको मुहान थियो, जमिन भासिन्थ्यो । त्यसरी भासिएको ठाउँलाई संरक्षण गर्न सामुदायिक वनले केही बजेट खर्च गरेर वरपर निश्चित घेरा लगाएर बाँध बाँधेर ताल तलैया बनाएको हो ।
विसं २०७४ मा बाँसगढी नगरपालिकाले आफ्नै खर्चमा ताललाई सिमसारका रूपमा घोषित गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज र नगरपालिकाको संयुक्त आयोजनामा च्यामातालको नामकरण गरिएको वडाध्यक्ष खड्काले बताए । उनका अनुसार हाल उक्त च्यामातालमा दिनप्रतिदिन आन्तरिक पर्यटकको संख्या बढिरहेको छ ।
बाँसगढी नगरपालिका निर्वतमान प्रमुख सालिकराम अधिकारीले विसं २०७४ मा च्यामाताल र वनभोज स्थलको उद्घाटन गरेका थिए । उनले सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यताको जगेर्ना गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न समुदायले अग्रसरता देखाउनुपर्ने बताए ।
तालको विकास र संरक्षणको महत्वपूर्ण जिम्मेवारी समुदायको भएकाले तालको सरसफाइ, व्यवस्थापन, संरक्षण र प्रवद्र्धनमा समुदायले नै चासो देखाउनुपर्ने उनको भनाइ थियो ।
वडाध्यक्ष खड्काका अनुसार उक्त च्यामातालमा भित्रदेखि पानी निस्कने र चौबिसै घण्टा पानी भइरहने भएकाले वन्यजन्तु पानी खान आउने गर्दछन् । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ ।
जसको लम्बाइ ११ सय मिटर रहेको छ भने चौडाइ आठ सय मिटर छ । तालको प्रचारप्रसारमा सहज होस् भन्ने उद्देश्यले बाँसगढी नगरपालिकाको लोगोमै च्यामा सिमसार क्षेत्रालाई समेटेको छ ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, जङ्गली जनावर र विभिन्न प्रजातिका चराचुरूङ्गीको बासस्थान रहेको च्यामाताल सिमसार क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वनभोज स्थल बनाइएको हो ।
पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तर लखना चोक हुँदै झण्डै १२ किलोमिटरको दूरीमा च्यामाताल अवस्थित छ । च्यामातालमा रमाउन बाँके र बर्दियासँग जोडिएका जिल्लाबाट आन्तरिक पर्यटकहरू आउने गर्दछन् ।