
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरको आवेदन दिने अन्तिम दिन मंगलबार साँझसम्म कूल १५ लाख २६ हजारले आवेदन दिएका छन्। बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदनको मूल्याङ्कन भने गर्न बाँकी रहेको छ ।
लगातार शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको तथा शेयरबाट राम्रो फाइदा हुन्छ भन्ने देखेपछि प्राथमिक बजारमा लगानी गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको प्रारम्भिक जानकारीअनुसार कूल रु सात अर्ब ५८ करोडको साधारण शेयरमा झण्डै रु १८ अर्ब नौ करोड ८५ लाख ८० हजार बराबरको आवेदन परेको हो । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष आवेदन दिनेको सङ्ख्या केही थपिन सक्ने बताइएको छ ।
बिक्री प्रबन्धकका अनुसार १८ करोड नौ लाख ८५ हजार ८०० कित्ताको लागि माग आएको छ । कम्पनीले सर्वसाधारणतर्फ सात करोड ५८ लाख ४० हजार कित्ता शेयर बिक्री गरेको हो । यस्तै एक लाख ६० हजार कित्ता कर्मचारीको लागि र ४० लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो ।
साधारण शेयर यही माघ २ गतेदेखि मंगलबारसम्म बिक्री गरिएको हो । पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ सो बैंकको अहिले साधारण शेयर बिक्रीपछि चुक्ता पूँजी रु २० अर्ब पुग्ने छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend