
काठमाडौं । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भनी विभिन्न चरणमा आन्दोलन गरिरहेको नेपाली कांग्रेस निर्वाचनको तयारीमा जुटेको छ । कांग्रेसले निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन गत सोमबार सर्कुलर जारी गरेर निर्वाचनको तयारीमा जुटेको हो । सबै जिल्ला सभापतिहरूलाई पत्र काटेर मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन् ।
पत्रमा आयोगले माघ १५ गतेबाट २१ गतेसम्म देशभरका ७५३ स्थानीय तहमा हुने मतदाता अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन भनी उल्लेख गरिएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भनी नेपाली कांग्रेसले विरोधका कार्यक्रम पनि गरिरहेको छ । तर निर्वाचनको तयारीमा लाग्न जारी गरिएको सर्कुलरले कांग्रेसको भूमिकामा प्रश्न चिन्ह खडा गरेको छ ।
यसअघि विभिन्न सभा तथा भेलामा सम्बोधनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा असंवैधानिक भए पनि कांग्रेसले सर्वोच्च अदालतको फैसला कुर्ने बताउँदै आएका थिए । तर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापालगायतका अन्य नेताहरु भने सरकारको यो कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै प्रतिनिधिसभा पुनस्र्थापना हुनैपर्छ र गराएरै छाड्ने पक्षमा रहेका छन् ।
कांग्रेस सभापति देउवाको यस किसिमको अभिव्यक्तिपछि उनीमाथि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर संसद भंग गराएको आरोप पनि लागेको थियो । देउवा अहिले पनि अदालतको फैसला नै अन्तिम हुने र त्यसलाई कांग्रेसले स्वीकार गर्ने बताउँदै आइरहेका छन् ।
गएको पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि बसेको पदाधिकारी बैठकले सो कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भनेको थियो । पदाधिकारी बैठकको उक्त निर्णय आकस्मिक रूपमा पुस ७ गते बोलाइएको केन्द्रीय समिति बैठकले अनुमोदन पनि गरेको थियो ।
कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणका आन्दोलन गरिरहेको छ । पहिलो चरणमा पुस १३ मा १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले दोस्रो चरणमा पुस २५ मा ३३० प्रदेशसभा क्षेत्रमा र माघ ३ गते ७५३ पालिकामा विरोध सभा गरिसकेको छ । कांग्रेसले भोलि (बिहीबार) पनि मुलुकभरका वडाहरूमा विरोध कार्यक्रम गर्न लागेको लागेको छ । देउवाले कांग्रेसले बिहीबार गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील पनि गरेका छन् । उनले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गरेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend