काठमाडौं । भारतले अनुदानमा दिने कोरोनाविरुद्धको १० लाख डोज खोप हवाईजहाजबाट बिहीबार काठमाडौं ल्याइँदै छ। स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दिने खोप बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ । अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल ल्याउन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले भने– ‘सुरुमा अग्रपंक्तिमा रहेका योद्धाहरूलाई खोप दिइनेछ। बाँकी रह्यो भने जोखिममा रहेका अन्य जनसंख्यालाई उपलब्ध हुन्छ तर लगाउने स्थिति यहीँ थामिँदैन।’ बाँकी खोप खरिद प्रक्रिया अघि बढाएर पारदर्शी ढंगले उपलब्ध गराउने मन्त्री त्रिपाठीले बताए ।
सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई कोभिड– १९ विरुद्धको खोप लगाउने तयारी गरेको छ । तर, अहिले भने १० लाख डोज मात्रै आउन लागेकोले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले खोप भण्डारणदेखि वितरण र लगाउनेसम्मका सबै तयारी पूरा भएको जनाएको छ । खोप लगाउन करिब १५ हजार स्वास्थ्यकर्मी परिचालन हुनेछन् । विगतमा नियमित खोप लगाएका स्वास्थ्यकर्मीले सामान्य तालिम पाएपछि यो खोप लगाउन सक्ने मन्त्रालयको बुझाइ छ । उनीहरूलाई तालिम दिन पनि सुरु गरेको छ ।
दुई साता भित्र खोप अभियान सुरु
स्वास्थ्यकर्मीलाई तालिम दिने तथा खोप ढुवानी गर्नेलगायतका काम सकेर खोप सुरु गर्न करिब १० देखि १५ दिन लाग्ने गौतमको भनाइ छ । स्वास्थ्य सेवा विभागले दुई साताभित्रै मुलुकभर खोप अभियान सुरु गर्ने योजना बनाएकोे छ। सरकारले कुल जनसंख्याको ७२ प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने लक्ष्य लिएको छ।