काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले आफ्ना छोरीज्वाइँलाई अवसर दिएर आफ्नो आह्वानमा जीवन दिने योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् ।
प्रेस संगठन नेपालको ओली पक्षीय भेलालाई विहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले आफूलाई केपी ओलीका छोराछोरी छैनन् भनेर प्रचण्डले जवाफ दिएको भन्दै कटाक्ष गरेका हुन् ।
ओलीले भने, ‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन् ज्वाइँ छन् हेर्नै पर्यो । छोरीलाई मेयर बनाउनै पर्यो, मतले नपुगे मतपत्र च्यात्नै पर्यो । ज्वाइँलाई घरघडेरी किन्दिनै पर्यो । मेरा त सन्तान छन् दिन्छु भनेछन् एकजनाले । गज्जब बहादुर हो । सुसुरो होस् त्यस्तो होस् ।’
प्रधानमन्त्रीले ओलीले अगाडि भने, उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? उनीहरुका ज्वाइ छन् कि छैनन् ? ज्यान दिने बेला जनताका छोराछोरी चाहियो,लड्ने बेला आफ्ना छोराछोरी विदेशमा राख्ने अनि तर मार्ने बेला मेरा त छोराछोरी छन् भन्ने ? जनताका छोराछोरी खेलाउने पुतली हन् ? उनीहरुको अवस्था के छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक लडाईं लडिरहेको पनि बताएका छन् ।
‘हामीले लडेर ल्याएको संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, लोकतान्त्रिक प्रणालीलाई कुबाटोमा लैजान नदिन राजनीतिक लडाईं लडिरहेका छौँ’, उनले भने।
उनले समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य पहिल्याएर अगाडि बढेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनीविरुद्ध कालो झण्डा देखाएर हिँड्नेहरुप्रति व्यङ्ग्य गरेका छन् । ‘हामी पेरिसडाँडामा बसेर कालो झण्डा उडाउनेहरु मध्ये होइनौं । हामी सडकमा कालो झण्डा देखाउनेहरु होइनौँ,’ उनले भने, ‘हामी रातो झण्डा फहराउने हौँ ।’
उनले प्रचण्ड-माधव नेपाल समूहले जनतालाई सिनेमा देखाइरहेको आरोप समेत लगाए ।
‘केही मान्छे फिलिम देखाउन आउँछन् । सिनेमामा के हुन्छ ? हिरो हुन्छ । हिरोइन हुन्छ लभ पर्या छ । हिरोइन घाइते हुन्छे । हिरो व्याकुल पर्छ । तर केही पनि होइन,’ उनले भने, ‘केही मान्छेहरु सिनेमा देखाउन आउँछन् । नाटक गर्या हुन् । केही पनि होइन । जनतालाई झुक्याउँछन् । हामीले सचेत गराउनुपर्छ ।’