काठमाडौं । भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ बिहीबार नेपाल आइपुगेको छ । सरकारले दुईसाता भित्रै खोप लगाउने तयारी गरेको बताएको छ । यद्यपी खोपको साइड इफेक्ट बारे आएको चर्चाले आम जनमानसमा खोप लगाउन केही दुविधा उत्पन्न गर्ने देखिन्छ ।
कोभिसिल्ड वा कोभ्याक्सिन लगाएको केही भारतीयहरुमा पनि साइड इफेक्ट देखिएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ । नेपालमा पनि सिरम इन्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोभिसल्ड भारत सरकारले अनुदानमा पठाएको हो । तर यस कम्पनीले नै कस्ता-कस्ता व्यक्तिले कोभिसिल्ड लगाउने र नलगाउने भन्ने बताएको छ ।
कोभिसिल्डि उत्पादन गर्दा प्रयोग गरिएको सामाग्रीहरुबाट एलर्जी हुनेहरुले सो खोप नलगाउन भनेको छ । त्यस्तै पहिलो डोज लगाइसकेपछि यदि एलर्जी देखियो भने त्यस्तो व्यक्तिले दोस्रो डोज लागउन नहुने सिरम कम्पनीले बताएको छ ।
त्यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएको, ज्वरो आइरहेको, स्तनपान गराइरहेका महिलाहरुलाई पनि कोभिसिल्ड नलगाउन कम्पनीले आग्रह गरेको छ । गर्भवती महिला, रगत पातलो बनाउने औषधि खाइरहेका बिरामी र अनियमित रक्तस्राव हुने महिलाले पनि सो खोप लगाउन नहुने उल्लेख छ ।
सिरम इन्टिच्युट अफ इण्डियाले खोप लगाउन अगाडि स्वास्थ्य सम्बन्धी सबै जानकारी लिन र दिन आग्रह गरेको छ ।