logo

२०८१ माघ १० बिहिबार

logo
  • बिहिबार, १० माघ २०८१
  • सञ्चालनमा आयो अमेरिकी ब्रान्डको ‘बेस्ट वेस्टर्न प्लस’ होटल, डेढ अर्ब लगानी

    सञ्चालनमा आयो अमेरिकी ब्रान्डको ‘बेस्ट वेस्टर्न प्लस’ होटल, डेढ अर्ब लगानी

    812
    Shares
    सञ्चालनमा आयो अमेरिकी ब्रान्डको ‘बेस्ट वेस्टर्न प्लस’ होटल, डेढ अर्ब लगानी

    काठमाडौं । चर्चित अमेरिकी ब्रान्डको विश्वप्रसिद्ध होटल ‘बेस्ट वेस्टर्न प्लस’ काठमाडौँमा औपचारिक रुपमा बुधबारदेखि सञ्चालनमा आएको छ।

    एक भब्य समारोहकाबीच पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले होटलको उद्घाटन गर्दै शुभारम्भ गरे । शिक्षा क्षेत्रको अग्रणी केएमसी ग्रुपले बेस्ट वेस्टर्न प्लस मार्फत होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको हो ।

    केएमसी ग्रुपका संस्थापकहरूकै लगानीमा स्थापित रायन होटल लिमिटेडले विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी बेस्ट वेस्टर्न प्लस काठमाडौँको पिंगलास्थानमा सञ्चालनमा ल्याएको हो ।

    होटलको उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहेका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा आउने यस्ता विदेश ब्राण्डका होटलहरुले पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने बताए। मन्त्री पाण्डेले होटल पूर्वाधारमा एकपछि अर्को लगानी बढिरहेको बताए । उनले नेपालको अथाह पर्यटकीय सम्भावनालाई उजागर गर्दै विदेशी पर्यटकलाई आकर्षण गर्न सरकार र निजी क्षेत्रको दरिलो साझेदारिता आवश्यक रहेको कुरा औँल्याए ।

    नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले अमेरिकी ब्रान्डको बेस्ट वेस्टर्न प्लस काठमाडौँमा ल्याउन सफल भएकोमा केएमसी ग्रुपलाई धन्यवाद दिए। थम्प्सनले नेपालको प्रर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा अमेरिकी सरकारले समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । नेपालको मनमोहक प्राकृतिक सौन्दर्यको भ्रमणका लागि उल्लेख्य सङ्ख्यामा अमेरिकी नागरिकहरु आइरहेको भन्दै लामो इतिहास बोकेको अमेरिकी चेन होटल वेष्ट वेस्टर्न प्लसको सञ्जालमार्फत नेपालमा आतिथ्यता उद्योगको विकासमा सहयोग पुग्ने बताए ।

    उद्घाटन कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपालमा अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी सेवाको सुरुआतले नेपालको पर्यटन प्रवद्र्धनका साथै सम्पर्क सञ्जाल विस्तार गर्न मद्दत पुग्ने बताए । बेस्ट वेस्टर्न प्लस काठमाडौँका अध्यक्ष रामेश्वर अर्यालले होटल उद्योगलाई केवल एक व्यावसायिक प्रयासको रुपमा मात्र नभई नेपालको पर्यटन र आतिथ्यता क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने प्रतिविम्बका रुपमा बेष्ट वेस्टर्नलाई लिइएको बताए ।

    अर्यालले पर्यटन क्षेत्रमा यो आफ्नो प्रवेश मात्र रहेको र अझै पाँचतारे होटल निर्माण र सञ्चालन गर्नका लागि पनि तयार रहेको बताए। उनले भने- ‘शिक्षामा हामी देशकै ठूलो र अगुवा शैक्षिक सञ्जाल निर्माण गर्न सफल भएकै थियौँ। विभिन्न १० वटा अब्बल शैक्षिक संस्थाहरूबाट १४ हजार विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिइरहेका छौँ। आजका दिनबाट हामी शिक्षासँगै अतिथि सत्कार व्यवसायमा पनि फड्को मारेका छौँ। यसबाट अब हाम्रा होटल व्यवस्थापनका विद्यार्थीले प्रशिक्षार्थीका रूपमा काम गर्न बाहिर जानुपर्ने छैन। साथै पर्यटन क्षेत्रबाट देशलाई समृद्धिको उचाइमा लैजान हाम्रो पनि महत्त्वपूर्ण योगदान रहनेछ।’

    काठमाडौँको पिंगलास्थानमा अवस्थित यो चार तारे होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ । पशुपतिनाथ मन्दिरबाट पनि यो पैदल दूरीमा पर्छ।

    पश्चिमा फ्लेभरको विश्वस्तरीय सुविधा र नेपाली संस्कृतिको मिश्रण रहेको यस होटेलले नेपाली अतिथि सत्कार उद्योगमा नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको व्यवस्थापनले जनाएको छ।

    होटलमा कुल ८७ वटा कोठा छन्। जसमध्ये ४ वटा सुइट रुम, ७ वटा प्रिमियम रूम, १२ वटा सुपर डिलक्स र ६१ वटा डिलक्स रूम सञ्चालनमा छन्। होटलमा दुईवटा क्याफे, रूफटप बार, हेल्थ क्लब, स्पा, स्टिम, सौना र स्विमिङको पनि मज्जा लिन सकिने छ । प्राइभेट डाइनिङ रूम र बोर्ड मिटिङ रूमको पनि व्यवस्था छ। २ वटा बहुद्देश्यीय हलहरू छन्, जसमा क्रमशः ६०० र ६५० जना सहभागी क्षमता रहेको छ।

    साढे ७ रोपनी क्षेत्रफलको जग्गामा १ अर्ब ५० करोड रूपैयाँभन्दा बढीको लागतमा होटलका संरचनाहरू निर्माण गरिएका छन्। होटल पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता रहेको छ भने चाँडै नै सर्वसाधारणले पनि लगानी गर्न पाउने गरी आईपीओ सेयर जारी गर्ने तयारी गरेको छ ।

    बेस्ट वेस्टर्नका १९ किसिमका ब्रान्डहरुले एक सयभन्दा बढी देशमा चार हजार आठ सयभन्दा बढी होटल तथा रिसोर्टहरुले आतिथ्य सेवा प्रदान गरिरहेका छन् ।

    यो पनि : 

    केएमसी ग्रुपको लगानीमा ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ सञ्चालनमा आउँदै, आज ग्राण्ड ओपनिङ


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend