काठमाडौं । भारतको सबैभन्दा ठूलो सौर्य कम्पनी प्रोजिल ग्रिन इनर्जीले नेपालमा नवीकरणीय ऊर्जामा काम गर्ने भएको छ ।
बुधबार काठमाडौंमा आयोजित प्रोजल ग्रिन इनर्जी शिखर सम्मेलन गर्दै औपचारिक रूपमा शुरु गरिएको हो ।
नेपालमा प्रोजिल ग्रिन इनर्जी र गोल्यान पावरले संयुक्त रुपमा प्रोजिल ग्रिन इनर्जी नेपालले कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी २४ महिनामा नेपालका विभिन्न स्थानहरूमा ५०० मेगावाट भन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको छ ।
देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी काम गर्ने प्रोजिल ग्रिन इनर्जी नेपालले जनाएको छ । प्रोजिल ग्रिन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा व्यापक विशेषज्ञतालाई प्रयोगमा ल्याउँदै (इन्जिनियरिङ, खरिद र निर्माण) विकास कम्पनीको रूपमा काम गर्ने गोल्यान ग्रुपका अध्यक्ष अक्षय गोल्यानले बताए ।
उनले नेपाल विद्युत प्राधिकरणले ९६० मेगावटको सोलार उत्पादमा पीपीए गर्ने सम्झौता बमोजिम प्रोजिल ग्रिन इनर्जी प्राविधक पान्टनरका रुपमा काम गर्ने बताए ।
उनले प्रोजिल ग्रिन इनर्जीले उद्योगहरुमा सौर्य ऊर्जा परियोजनाहरू निर्माण गरी दिने लक्ष्य राखेको बताए । उनले गोल्यान पावरसँग मिलेर ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू निर्माण गर्ने लक्ष्यअनुसार २ सय मेगावाट बनाउने सम्झौता भइसकेको बताए ।
उनले रिलायन्स स्पिनिङ मिल्सको खपतको लागि पनि उद्योगको छतमा ९ मेगावाटको सौर्य ऊर्जा उत्पादनको लागि तयारी भइसकेको बताए ।
प्रोजिल ग्रिन इनर्जी नेपालका सञ्चालक प्रविण अर्यालले प्रोजिल ग्रिन इनर्जीसँगको साझेदारीले नेपालमा नविकरणीय ऊर्जा र दिगोपन प्रतिको प्रतिवद्धतालाई प्रतिविम्वित गर्ने बताए ।
उनले प्रोजिल ग्रिन इनर्जीसँग सहकार्य गरी नेपालको बढ्दो ऊर्जा माग पूरा गर्ने र आर्थिक वृद्धिलाई सहज बनाउने उदेश्यले सहकार्य शुरु गरिएको बताए । उनले विश्वस्तरीय ऊर्जा सम्बन्धी सोलुसनहरू उपलब्ध गराएको बताए ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले निजी क्षेत्रलाई सहज वातावरण बनाउँदा वर्षमा एक हजार मेगावाट ऊर्जा उत्पादन गर्नसक्ने बताए । उनले विद्युत उत्पादनमा वृद्धि गर्नसके मुलुकले अर्को वर्षदेखि बिजुली किन्नै नपर्ने वा न्युन मात्रै किन्नुपर्ने अवस्था आउने बताए ।
उनले अहिले ८ सय मेगावाटको टेण्डर भएपनि जानकारीमा नभएको बताए । उनले सोलार ऊर्जालाई अगाडि बढाउने विषयमा अझै प्रष्ट नीति नभएको बताए । उनले सरकारले ल्याउन लागेको विद्युत विधेयकमा सौर्य ऊर्जाको विषय नसमेटिएको बताए ।
उनले विधेयक बनाउँदै गर्दा पहिले लाइसेन्स ५० वर्षको हुने र त्यसपछि हस्तान्तरण गरिने स्पष्ट व्यवस्था भएपनि अहिले ३५ वर्षको कुरा आउनु उचित नभएको बताए ।
प्रोजिल ग्रिन इनर्जी नेपालले नेपालमा सौर्य ऊर्जाको प्रयोगलाई तिब्र पार्न र राष्ट्रको नवीकरणीय ऊर्जा क्षमतामा उल्लेखनीय योगदान पुर्याउने प्रयासमा रुफटप सोलार र जमिनमा माउण्ट गरिएको फोटोभोल्टेइक सौर्य प्लान्टहरू दुवै विकास गर्ने लक्ष्य राखेको छ ।