२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

बन्ने भयो दोधारा–चाँदनी सुक्खा बन्दरगाह, निमार्ण गर्न भारतले गर्यो बोलपत्र आह्वान

बिहिवार , माघ १०, २०८१

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निमार्णका लागि भारतले बोलपत्र आह्वान गरेको छ । बन्दरगाह निर्माणस्थलमा भएका रुख कटानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच सम्झौता भएपछि भारतीय पक्षले बोलपत्र आह्वान गरेको हो ।

बन्दरगाह निमार्णका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँ लागतमा भारतीय पक्षले बोलपत्र आह्वान गरेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाह निमार्णका लागि भारतीय पक्षले बोलपत्र खोलेको जानकारी दिँदै छिट्टै बन्दरगाह निमार्णको काम सुरु हुने बताए ।

“भारतीय पक्षले बोलपत्र आह्वान खोलिसकेको छ, हाम्रोतर्फ पनि रुख कटानका लागि अन्तिम पटक रुख गणना गर्ने काम भइरहेको छ”, उनले भने, “आइतबारसम्म अन्तिम रिर्पोट आउँछ त्यसपछि रुख कटानका लागि बोलपत्र आह्वान गछौं।”

उनले ‘साइट क्लियरेन्स’को कार्य सम्पन्न भएपछि भारतीय पक्षबाट एकीकृत जाँच चौकी निर्माणको कार्य सुरु हुने बताए । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

एकीकृत जाँच चौकीका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनल लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य जङ्गबहादुर मल्लले बताए ।

उनले भारतको राजधानी नयाँ दिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने अपेक्षा गरिएको बताए । “रूद्रपुर भारतकै ठूलो औद्योगिक क्षेत्र हो, नेपालको गड्डाचौकी नाकादेखि भारतको औद्योगिक क्षेत्र पुग्न दुई घण्टा लाग्छ, तर यति छोटो दूरीमा रहेको औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमले अहिलेसम्म व्यापारिक कारोबार गर्न पाएको छैन”, मल्लले भने, “सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आएपछि यस क्षेत्रको व्यापार विस्तारको ढोका खुल्छ ।” उहाँले बन्दरगाहसँगै दैजी–छेला औद्योगिक क्षेत्र निर्माणलाई पनि अघि बढाउन सके सुदूरपश्चिमको समृद्धिको ढोका खुल्ने बताए ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको स्थापनापछि छिमेकीमूलुक भारतमा रहेका उद्योगका शाखासमेत नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीको भनाइ छ ।

“बन्दरगाहको काम सुरु भइसकेको छ, अब हामीले त्यहाँबाट आयात मात्रै गर्ने की निर्यात पनि गर्ने यसको पूर्व तयारीमा लाग्न जरुरी छ”, उनले भने, “यो नाका सञ्चालन भए नेपाल भारतको सहज आवागमन हुन्छ, लामो दूरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ ।” उनले यो नाकाबाट आयात मात्रै नभएर निर्यात गर्ने उद्देश्य अनुरुप सरकारले काम गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

‘दोस्रो कार्यकालमा दोधारा चाँदनीको संकल्प लिएको छु, त्यो अवश्य पूरा गर्छु’

दोधारा चाँदनी सुक्खा बन्दरहगाह बनाउन बाटो खुल्यो, ५ अर्ब ७५ करोड लाग्ने

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट