काठमाडौं । निर्माणाधीन सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको मुख्य खण्डमा सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको भर्चुअल प्रविधिबाट ब्रेक थ्रु गरेका हुन् ।
ब्रेक थ्रुसँग बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।
शुक्रबार सिद्धबाबा सुरुङमार्ग योजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सिंहदरबारबाट भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको शिघ्र विकासका लागि सरकारले काम गरिरहेको बताए ।
उनले पछौटेपनहरुलाई चिर्दै जाने र उपलब्धिहरुलाई जोड्दै लगेर समृद्ध देश बनाउने काममा अहिलेको सरकार लागेको बताए । उनले अहिलेको सरकार विकास,स्थायित्व र स्थिरताका लागि बनेको बताए । अघिल्लो कार्यकालमा शुरु भएका कामहरु अहिले पुनः शुरु गरिएको बताए ।
उनले सबै एकजुट हुनसके देश बन्न समय नलाग्ने बताए । देशको शिघ्र विकास र सुशासनका लागि अहिलेको सरकार अघि बढेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘स्थानीय जनता, जसले यस सुरुङ मार्गको निर्माणका लागि सरकारलाई झक्झकाउने काम, हामी सबैलाई झक्झकाउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुुभएको छ, म उहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छुु । यो हामी सबैको सफलता हो ।
यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ । यस्तै उपलब्धिहरुलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ । यस्तै पछौटेपनहरुलाई चिर्दै जाने घटनाहरुबाट, उपलब्धिहरुबाट जोडिंदै गएर पछौटेपन समाप्त पारिएको देश हुनेछ । हामी आशावादी बन्न सक्नुुपर्दछ । अहिलेको सरकार विकासका लागि बनेको छ ।
यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तिब्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक शुुरु भएका कामहरु अगाडि बढेका छन् । अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शिघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ ।
यी कुराहरुमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ । तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौं हाम्रो देश, अरुले बनाउने होइन, हामीले आफैँ बनाउँछौं, हामी अरुको पनि सहयोग लिन सक्छौं, अरुको लगानी आमन्त्रण गर्न सक्छौं, अरुको अनुकुलता, हाम्रो अनुकूलता र आवश्यकता, प्राथमिकतामा अरुका लोनहरु पनि आवश्यकता अनुसार स्वीकार गर्न सक्छौं ।
जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ । यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ । यो देशसँग अहिले पनि युुवा जनशक्ति छ, स्रोत साधन छन्, हाम्रा प्रयासहरु र हाम्रा मित्रहरुका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्ने छौं ।’
प्रधानमन्त्री ओलीले देशलाई फाइदा हुने, देशको शिघ्र विकास गर्नेगरी सरकारले काम गरिरहेको बताए ।
याे पनि :
निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ आज, दुवै मोहोडामा ‘रक सेट र स्लोप प्रोटेक्सन’