काठमाडौं । उद्योगीहरुले सिमेन्टको भाउ प्रति बोरा १ सय १५ रुपैयाँ बढाएका छन् । उद्योगीहरुले सिमेन्टको भाउ नबढाएको तर लागतअनुसार मूल्य समायोजन मात्र गरेको दावी गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी प्रति बोरा १ सय १५ रुपैयाँ मूल्य भन्दा बढी नलिन भनेका छन् । उद्योगीले सिमेन्टमा मिलेमतो (कार्टेलिङ) नगरेको जिकिर गरेको छ ।
संघका अध्यक्ष रघुनन्दन मारुले उद्योगहरु सिमेन्टको मूल्य समायोजन गरेको तर मूल्य बढाएको र कार्टेलिङ गरेको कुरा झुठो भएको बताए । उनले सुनचाँदी महासंघले सुनचाँदीको मूल्य, बैंकर्स संघले ब्याजदरलगायत समयअनुसार वस्तुको भाउको मूल्य तय गरेको जस्तै सिमेन्टको मूल्य निर्धारण हुने गरेको जिकिर गरेका छन् ।
उनले उद्योगमा अझै दैनिक १० देखि १२ घण्टा लामो लोडसेडिङका कारण लागत बढ्न गएको जिकिर गरेका छन् । जेनेरेटर चलाउँदा लागत अत्यधिक बढेको उनको भनाई छ । संघ सिमेन्टको भाउ साउनको बिक्री मूल्यमा अधिकतम १ सय १५ रुपैयाँभन्दा बढी नलिन सहमत भएको अध्यक्ष मारुले जानकारी दिए । साउनको बिक्री मूल्यमा प्रति बोरा बढीमा १ सय १५ रुपैयाँभन्दा बढी नलिन सबै उद्योगीहरु सहमत भएको सो अवसरमा जानकारी दिए ।
यस्तै सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले दैनिक १२ घण्टासम्म लामो लोडसेडिङले गर्दा जेनेरेटर चलाउँदा लागत बढेको बताए । उनले लोडसेडिङका कारण उद्योग सञ्चालनका लागि जेनेरेटर चलाउनु पर्दा प्रतियुनिट लागत दोब्बर बढेर १८ रुपैयाँसम्म पुगेको बताए । यस्तै कोइलाको भाउ किलोमा ३ रुपैयाँ बढेर १७ रुपैयाँ पुगेको, चुनढुंगा ढुवानी भाडा २० प्रतिशत बढेको बताए ।
अध्यक्ष न्यौपानेले साढे ४ सयको सिमेन्ट मूल्य बढाएर ८ सय रुपैयाँ पुगेको समाचार गलत भएको दाबी गरे ।
नेपाल निर्माण व्यवसायी महासंघले उद्योगीले सिमेन्टको भाउ साउनमा प्रति बोरा ४०० रुपैयाँ रहेकामा कार्टेलिङ गरेर अहिले ८०० रुपैयाँभन्दा माथि पुर्याएको भन्दै संसदको सार्वजनिक लेखा समितिमा उजुरी दिएको थियो । लेखा समितिले बुधबार सिमेन्टको मूल्य घटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।
अहिले ६५ वटा सिमेन्ट उद्योगहरुमध्ये २२ वटा बन्द भएको संघका उपाध्यक्ष ताराप्रसाद पोखरेलले बताए । विषम परिस्थितिका कारण सिमेन्ट उद्योगहरुले नोक्सानीमा थप अवधि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएकोले ऋणको ब्याज र किस्ता तिर्न न्यूनतम उत्पादन लागतसम्म धान्न सक्ने गरी केही महिनायता आफ्नो उत्पादनको बिक्री मूल्यमा केही वृद्धि गरेको उनले बताए ।
अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले ठूला लगानीमा स्थापना भएका उद्योगका अवस्था नाजुक भएको बताए । एउटा सिमेन्ट उद्योग खोल्न ८ देखि १० अर्ब रुपैयाँ लाग्ने र मासिक १० करोड रुपैयाँ प्रशासनिक लगायत अन्य काममा खर्च हुने गरेको सुनाए । उनले पछिल्लो समय सिमेन्ट उद्योग समस्यामा परेको बताए । बोरामा १ सय १५ रुपैयाँ थप भए पनि नपुग्ने उनको भनाई छ ।
यस्तो छ संघको भनाई :
नेपालमा विगत वर्षहरुदेखि नै निर्माण कार्यमा आएको शिथिलता, आर्थिक मन्दी, पूँजीगत बजेटको न्यून विनियोजन र सो विनियोजित रकम पनि खर्च हुन नसक्नु, उद्योगहरुको नियमित र स्थिर खर्चहरु सालवसाली अभिवृद्धि हुँदै जानु, मागमा आएको कमीले गर्दा सरदर ३० प्रतिशत क्षमतामा उद्योग सञ्चालन गर्न बाध्य हुनु लगायत कारणहरुले गर्दा ठूलो लगानी रहेका प्राय सबै नेपाली सिमेन्ट उद्योगहरुले अत्यन्त ठूलो घाटा व्यहोरीरहेका छन् ।
ठूलो नोक्सानीका कारण बैंकहरुबाट लिइएको कर्जा रकमको व्याज र किस्ता भुक्तानी, कच्चा पदार्थहरुको खरिद, आयात, उद्योगहरुमा पछिल्ला केही महिनादेखि नेपाल विद्युत प्राधिकरणबाट १२ घण्टासम्म दैनिक विद्युत कटौती भईरहेको अवस्थामा जेनेरेटरबाट बैकल्पिक उर्जाको व्यवस्था गरी उद्योग सञ्चालन गर्दा उत्पादन लागतमा भएको वृद्धि हुनुका साथै ढुवानी भाडामा भएको वृद्धि लगायतका कारण उद्योग सञ्चालन नै गर्न नसक्ने अवस्था आएको तथ्य सर्वविदितै छ ।
उद्योगहरुले श्रमिक कर्मचारीहरुको तलब भत्ता भुक्तानी, विद्युत महसुल रकम भुक्तानी, वैकल्पिक उर्जाको लागि इन्धन खरिद, कच्चा पदार्थको भुक्तानी, बैंक किस्ता र ब्याज भुक्तानी जस्ता नियमित खर्चहरु धान्न उत्पादन लागतभन्दा निकै कम मूल्यमा सिमेन्ट बिक्री गरी तरलता व्यवस्थापन गर्नुपर्ने बाध्यताको कारण विगतमा सिमेन्टको मूल्यमा अस्वभाविक गिरावट आएको कुरा समेत सबैमा विदितै छ ।
ठूलो नोक्सानी व्यहोरेर लामो समयसम्म उद्योग व्यवसाय सञ्चालन गर्न सम्भव नरहेको यथार्थ पनि सबैलाई जानकारी नै रहेको विषय हो । अर्बौं रुपैयाँ लगानी गरी स्थापना भएका उद्योगहरुले नाफा गर्न नसकी ठूलो नोक्सानी भई नेपालमा सञ्चालित कुल ६५ वटा सिमेन्ट उद्योगहरुमध्ये २२ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु यस अवधिसम्म पूर्णतः बन्द भइसकेका छन् ।
थप नोक्सानी व्यहोरी उद्योग सञ्चालन गर्दा अरु केहि उद्योगहरुसमेत आर्थिक संकटका कारण बन्द उन्मुख रहेको कुरासमेत जानकारी गराउन चाहन्छौं । यस विषम परिस्थितीका कारण सिमेन्ट उद्योगहरुले नोक्सानीमा थप अवधि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएकोले उद्योगले लिएको ऋणको ब्याज र किस्ता तिर्न नाफा नभए पनि न्यूनतम उत्पादन लागतसम्म धान्न सक्ने गरी केहि महिना यता आफ्नो उत्पादनको विक्री मूल्यमा केही वृद्धि गरेको तथ्य पनि सबैमा जानकारी नै छ ।
तथापी यस सम्बन्धमा सबै सरोकारवालाहरुले उठाएको चासो, गुनासो प्रति यस संघको पनि गम्भिर ध्यानाकषर्ण भएको छ ।
तसर्थ यस विषयमा आम उपभोक्ता लगायत सबै सरोकारवालाहरुको हित र विकास निर्माणका कार्यहरु द्रुत गतिमा अगाडी बढाई देशको औद्योगिक उत्पादन र आर्थिक विकासमा टेवा पुगोस भन्ने असल मनसायका साथ सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग भएको छलफल तथा राय सुझाव तथा आम उपभोक्ताहरुको हितलाईसमेत ध्यान दिई हालको सिमेन्टको बिक्री मूल्य परिमार्जन गर्न २०८१ साउन महिनाको उद्योगहरुको बिक्री मूल्यमा भौगोलिक र व्यापारिक अवस्था समेतलाई हेरी विचार गरी हाललाई औसतमा प्रति बोरा ५० केजीको अधिकतम ११५ (मुअकर बाहेक) भन्दा थप नहुने गरि बिक्री मूल्य निर्धारण गर्नु हुन सम्बन्धित सबै सदस्य उद्योगहरुलाई पत्राचार गरी अनुरोध गरिसकिएको छ ।
साथै सिमेन्ट उद्योगहरुमा निर्वाध र निरन्तर रुपमा विना लोडसेडिङ विद्युत आपूर्तिको प्रबन्ध मिलाई दिनु हुनसमेत सरकारका सम्बद्ध र सरोकारवाला अधिकारीहरु समक्ष सादर निवेदन गर्दछौं ।
हालको अवस्था र झन्झटिला कानूनी र अन्य जटिलताहरुले गर्दा उद्योग सञ्चालन गर्न अत्यन्तै कठिन परिस्थिति भएको अवस्थाले मूल्य वृद्धिमा समेत प्रभाव पर्न जाने व्यहोरा समेत सबैमा जानकारी गराँउदै यस्ता अवस्थाको सिघ्र निकास र समाधान खोज्न पनि सरकार लगायत सम्बद्ध सबै पक्षसँग जोडदार अपिलसमेत गर्दछौं ।
कुनै पनि उद्योगले उत्पादित वस्तुको मूल्य आफ्नो लागत आदिको आधारमा आफैं निर्धारण गर्ने कानूनी व्यवस्था र अधिकार भएता पनि हालको यस अवस्थालाई हृदयंगम गरी आफ्नो सिमेन्टको मूल्यमा यस संघले गरेको पत्राचारअनुसार बिक्री वितरण गर्ने व्यवस्था २०८१/१०/१२ बाटै मिलाउनु भई सिमेन्टको हालको बिक्री मूल्य समायोजन गरी सदस्य उद्योगहरुको तर्फबाट आवश्यक सहयोग गरिदिनु हुनेछ भन्ने आशा एवं विश्वास लिएका छौं ।