काठमाडौं । भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको रकम आन्तरिक राजस्व विभागको सिस्टममा १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ देखायो । राजस्वको दायरामा पर्ने रकम ८ अर्ब देखाउँदै करको रकम १३ करोड बढी देखाएपछि भाटभटेनी गढबढी भएको शंकामा विभाग पुग्यो ।
जबकी भाटभटेनीको राजस्वको दायराभित्र पर्ने रकम २ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपैयाँ र कर ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँ थियो। सो भन्दा धेरै रकम तिर्नुपर्ने सिस्टममा देखिएपछि भाटभटेनीले गडबढीको आशंका गर्दै विभागमा खबर गर्यो ।
भाटभटेनीले भनेपछि विभागले आफ्नो प्रणालीमा सबै जाँच गर्दा ‘एकीकृत कर प्रणाली’मा गडबडी गरिएको भेटायो । त्यसपछि भाटभटेनी नेपाल प्रहरीको साइबर ब्युरो पुग्यो। अनधिकृत इन्ट्री गरेर गडबडी गरेको विषयलाई विभागले पनि गम्भीररुपमा लिइ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा जाहेरी दियो।
भाटभटेनी सुपरमार्केटको पासर्वड परिवर्तन गरेर कर दोब्बर बनाइदिएको आरोपमा प्रहरीले माघ ५ गते २ जनालाई पक्राउ गरेर ७ दिन म्याद लिएर अनुसन्धान गरीरहेको छ । सुपरमार्केटले आन्तरिक राजस्व विभागमा कर तिर्नका लागि प्रयोग गर्ने ‘युजर नेम’ र ‘पासवर्ड’ दुरुपयोग गरी पर्वतको बिहादी–३ का पराजुली र गोरखाको भीमसेन थापा–४ का पाण्डेले ६ करोडको करलाई १३ करोड पुर्याइदिएको आरोपमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको हो ।
पक्राउ परेका उनीहरु विरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको छ ।
विभागले सो घटनापछि विज्ञप्ति जारी गर्दै आफ्नो एकीकृत कर प्रणाली पूर्णरूपमा सुरक्षित रहेको बताएको छ। जारी विज्ञप्तीमा भनिएको छ ‘करदाता आफैंले वा कर अधिकृतमार्फत युजर नेम र पासवर्ड तयार गर्ने व्यवस्था रहेको छ र त्यसको सुरक्षाको जिम्मेवारी पनि निज करदाताकै हुने व्यवस्था छ,’
विभागको प्रणालीभित्र छिरेर नभई अनधिकृत व्यक्तिले करदाताको ‘युजर नेम’ र ‘पासवर्ड’ प्रयोग गरेर एक करदाताको मूल्य अभिवृद्धिकरतर्फको विवरण गलत प्रविष्ट गरिएको दाबी छ ।
विभागले सबै करदाताका तथ्यांक तथा अभिलेख सुरक्षित रहेको बताउँदै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
साइबर सुरक्षा विज्ञहरु घटनाको गम्भीर अनुसन्धान गर्नुपर्ने बताउँछन् । विभागको कर प्रणाली पोर्टलमा करदाताले विवरण हाल्दा आफ्ना विवरण भर्न सक्ने तर भ्याट रकम फेर्न नसक्ने जिकिर गर्छन् ।
घटनाबारे विभागले गहिरो अनुसन्धान गर्नुपर्ने र सिस्टममा अरू कमजोरी छन् कि भनेर पुनरावलोकन गर्नुपर्ने सुझाव विज्ञहरुको हो ।