काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा आज पनि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चल्ने छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा चलिरहेको हो ।
शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । अन्य बाँकी कानुन व्यवसायीहरूले आज बहस गर्ने छन् ।
शुक्रबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । आज बहस सकिने र मुद्दाको थुनछेक आदेश आउने बताइएको छ ।
सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो ।
सहकारी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका रवि काठमाडौं र कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् ।