
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सवलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्न निर्देशन दिएका छन् ।
उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएपनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायका कार्यक्रम र समस्यालाई प्राथमिकीकरण गरी काम गर्न जरुरी रहेको बताएका हुन् ।
राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, कम्पनी रजिष्ट्रारको कार्यालयका पदाधिकारी तथा प्रतिनिधिहरूसहितको बैठकमा अर्थमन्त्रीले प्राथमिकता निर्धारण गरी काम गर्दा परिणाम निकाल्न पनि सहज हुने बताए ।
बैठकमा अर्थतन्त्र, बैंक, सहकारी, तरलता, कर्जा, बिमा, अनुदान, पूँजी बजार लगायतका विषयमा छलफल भएको थियो ।
त्यसअवसरमा अर्थतन्त्रका मुद्दाहरूमा थप छलफल गर्दै जाने, अर्थतन्त्रको एउटा क्षेत्रमा असर देखिँदा त्यसको अर्को क्षेत्रमा पनि प्रभाव पर्ने हुँदा एक अर्को निकायबीच समन्वय बढाउनेबारे पनि छलफल भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend