२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

आठौँ चेम्बर एक्स्पो माघ १७ देखि भृकुटीमण्डपमा हुने

सोमवार , माघ १४, २०८१

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा आठौँ संस्करणको चेम्बर एक्स्पो, २०२५ यही माघ १७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरका सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) परियोजनासहित एक्स्पो आयोजना हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्थानीय उत्पादनको प्रबर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको हो ।

एक्स्पोमार्फत नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिँदै व्यावसायीक क्षेत्रलाई एकीकृत गर्ने उद्देश्य लिइएको उनको भनाइ छ ।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको ‘ब्याकअप’का रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न एक्स्पो सहयोगी हुने एक्स्पो समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए ।

चेम्बर अफ कमर्शका सूचना प्रविधि समति सभापति विज्ञान श्रेष्ठले एक्स्पोमा यसपटक आईटी उत्पादनहरुलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ताकपडाका सामान, अटोमोबाइल, विद्युतीय सामग्री, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रशाधन, खाद्यान्न तथा दुग्ध उत्पादन प्रदर्शनीका लागि राखिनेछन् ।

एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका देशमा उत्पादित वस्तुहरुको समेत प्रदर्शनी हुनेछ । कूल एक सय २५ भन्दा बढी स्टल रहने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट