logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • भरतपुरको सिटीहल र छ लेन सडकको शिलान्यास प्रधानमन्त्रीले गर्ने

    भरतपुरको सिटीहल र छ लेन सडकको शिलान्यास प्रधानमन्त्रीले गर्ने

    3K
    Shares

    चितवन । भरतपुरमा दुई वटा विकास आयोजनाको शिलान्यास र जनसभालाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । माघ १७ गते हुन सो कार्यक्रमका लागि प्रधामन्त्री अ‍ोली त्यसतर्फ जानेछन् । 
     
    नेकपा चितवनले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी दिएको जानकारी अनुसार भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास र पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक–गोन्द्राङ छ लेन सडक विस्तारको शुभारम्भ प्रधानमन्त्रीले गर्ने भएका हुन् । यी दुई कार्यक्रम सम्बन्धित मन्त्रालयको समन्वयमा हुन लागेका हुन् ।
     
     नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावलका अनुसार उक्त कार्यक्रमपछि भरतपुरमा जनसभाको आयोजना गरिएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न १२ः१५ बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
     
    भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडकसँगै चार बिघा चार कट्ठा जमिनमा सिटीहल निर्माणको काम शुरु भएको छ । सङ्घीय सरकारको बजेटबाट सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले बोलपत्र आह्वान गरी आयोजना अघि बढाएको हो ।
     
    बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकोमा रु ७७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो । सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए। दुईवटा भर्याङ र दुइवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक छ हजार ५०० वर्गमिटरमा हुने उनको भनाइ छ । जुन क्षेत्रफल एक बिघाको हुनेछ ।
     
    यस्तै नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्मको छ लेन सडक दुई वर्ष चार महिनाभित्र बनिसक्ने गरी रु एक अर्ब १२ करोडमा ठेक्का लगाइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त सडक खण्ड भरतपुरको मुख्य शहरी क्षेत्रमा पर्दछ । यी दुवै आयोजनाको काम शुरु भइसकेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend